काठमाडौं ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको हो ।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो । लगातार दुई हारसँगै नेपाल दबाबमा परेको छ।
नेपालले दिएको १ सय ५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले अविजित अर्धशतक प्रहार गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । उनले ८९ बलमा २ चौका र १ छक्कासहित ६१ रन बनाए। त्यस्तै नोआ क्रोएसले अविजित ३४ रन बनाए भने सेड्रिक डी लान्गे र जाच लियोन–काचेटले समान २१ रन जोडे।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान एक–एक विकेट लिए।
यसअघि स्पोर्टपार्क मार्स्चलकेर्वेर्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १ सय ५७ रनमै अलआउट भएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । उनले ९० बलमा ४ चौका प्रहार गरे।
गुलसन झाले ४२ बलमा २ छक्का र १ चौकासहित २९ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले २१, आसिफ शेखले १४, करण केसीले अविजित १३ र सोमपाल कामीले १० रन बनाए। अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
नेदरल्यान्ड्सका बलर एलेक्स रोए र रोएलोफ भान डेर मेर्वेले समान ३–३ विकेट लिए । लोगान भान बिकले २ तथा केल क्लेइनले १ विकेट हात पारे।
जितसँगै नेदरल्यान्ड्स २९ खेलबाट ३४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा कायम छ । नेपाल भने ३० खेलबाट २४ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ।