जनकपुर। धनुषाको मिथिला नगरपालिका ६ मा रहेको बसहीखोलानजिकै बाट दुई भारतीय पक्राउ परेका छन्।
प्रहरीले शुक्रबार हवाई फायर गरी दुई भारतीयलाई पक्राउ गरेको जनाएको छ।
भारतबाट नेपाल आएर लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले एक राउन्ड हवाई फायर गरेर भारतको हर्लाखी थाना वडा ५ का २६ वर्षीय सन्तोषकुमार महतो र भारतको बासोपट्टी थाना वडा २ का ४५ वर्षीय मिथिलेशकुमार साहुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार प्रहरी टोलीलाई देखेपछि भाग्न खोज्दा प्रहरीले हवाई फायर गरेर दुवै जनालाई नियन्त्रण लिएको हो।
पक्राउ परेका महतोको पाइन्टको गोजीबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने गिलो पदार्थ १०३.२२० ग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। दुवै जनामाथि थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।