९ श्रावण २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

वीरेन्द्रनगर। मुगुको कार्मारोङमा गाउँपालिका ५‚ पुलु बजारमा ढुंगासहितको पहिरोमा च्यापिएर एक बालकको मृत्यु भएको छ।

रारा छायानाथ नगरपालिका १३‚ तिर्प घर भई पुलु बजारस्थित पेमा लामाको घरमा होटेल व्यवसाय गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालका ३ वर्षीय छोरा रमेशको मृत्यु भएको जिल्ला प्रहरी मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

उनका अनुसार शनिबार बिहान गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी नायब निरीक्षक वीरबहादुर चन्द नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएकामा बालकको उपचारका क्रममा मृत्यु भएको उनले बताए।

पहिरोबाट जगनाथ र उनकी पत्नी सिर्जनालाई सामान्य चोट लागेको छ। लामाको घर पूर्ण रूपले क्षति भएको छ। अन्य आठवटा घर पहिरोको जोखिममा रहेका जनाउँदै प्रहरी नायब उपरीक्षक थपलियाले ती घरका परिवारलाई आफन्तकोमा र बाँकी आठ जनालाई पुलु स्वास्थ्य चौकीमा राखिएको बताए।

घटनाको थप अनुसन्धान तथा उद्धारका लागि मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा पाँच र प्रहरी चौकी छायलबाट प्रहरी हवल्दार गोपाल सार्कीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ पठाइएको छ। पुलु पुग्न मुगु सदरमुकामबाट सात घण्टा पैदल हिँड्नुपर्छ। -रासस