काठमाडौँ। सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथिको उँचाइमा ड्रोन प्रविधिबाट पर्वतारोहण सुरक्षाको सुदृढीकरण गरिएको छ। यसका लागि हिमालय क्षेत्रमा ड्रोनको परीक्षणसमेत गरिएको छ।
यसका लागि अमेरिकाको व्यावसायिक ड्रोन प्रविधि र नेपालको पर्वतीय विज्ञताले विश्वकै सर्वाधिक कठिनमध्येका भूभागमा पनि केही गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ।
कोकाकोला फाउन्डेसनसँगको साझेदारीमा नेपालस्थित अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सले अमेरिकामा उत्पादित फ्रिफ्लाई अल्टा एक्स जेन-२ ड्रोनको प्रदर्शन गरिएको छ। नेपालका ड्रोन अपरेटरहरूले गत जुनमा अमा-दब्लम हिमालमा ४,६०० मिटरको उँचाइमा रहेको आधार शिविर र करिब ५,०५० मिटरको उँचाइमा रहेको याक क्याम्पबिच उडानहरू गरेका हुन्। जुन कार्यका लागि अक्सिजन सिलिन्डर तथा उपकरणहरू बोकेर नै ठाडो हिमाली क्षेत्रमा १.६ किलोमिटरको दूरी तय गरिएको थियो।
तीव्र बतास र अस्थिर पर्वतीय मौसमका परीक्षा पार गर्दै उक्त ड्रोनले प्रत्येक उडान सफलतापूर्वक पूरा गर्यो। यस प्रदर्शनले कहिल्यै विफल नभई एकनास रूपमा काम गर्नुपर्ने अवस्थामा पनि अमेरिकी प्रविधिको विश्वसनीयता, परिशुद्धता र कार्यकुशलतामाथि जोड दिएको छ। ड्रोनले पर्वतीय अभियानमा शेर्पाहरूमाथिको भौतिक बोझ कम गर्न, पर्वतारोहीहरूको सुरक्षा बढाउन र आवश्यक उपकरणहरूलाई अझ बढी रफ्तार र दक्षताका साथ ढुवानी गर्न सक्छ।
“अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वर्ष मनाउँदै गर्दाको यो सहकार्यले अमेरिकाको सुरुवाती दिनहरूदेखि नै यस देशलाई आकार दिँदै आएको अन्वेषण र उद्यमको भावनालाई अघि बढाएको छ,” नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भने।
पर्वतारोहणको बन्दोबस्त र हिमाली सरसफाइदेखि खोज तथा उद्धार, विपद् प्रतिकार्य र दुर्गम क्षेत्रहरूमा आकस्मिक ढुवानीलगायतमा ड्रोन प्रविधिको प्रयोगका सम्भावना नेपालभर छन्। अमेरिकी नवप्रवर्तनलाई नेपालको विश्वस्तरीय पर्वतीय तथा उड्डयन विज्ञतासँग जोडेर यो साझेदारीले अमेरिकामा विकसित पद्धतिहरूले नेपालभर उच्च भूभाग र दुर्गम क्षेत्रमा सञ्चालन गरिने कार्यहरूलाई अझ बढी सुरक्षित, छिटो र प्रभावकारी बनाउन कसरी मद्दत गर्न सक्छन् भन्ने उजागर गरेको छ।