काठमाडौँ। सुनसरीको देवानगन्ज गाउँपालिका ३, कप्तानगन्जमा भएको घटनाप्रति नेपाली कांग्रेसले निष्पक्ष छानबिनका लागि सरकारसँग आग्रह गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले सोमबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
उनले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेका छन्। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि उनले सरकारसँग माग गरेका छन्। “परिस्थितिलाई समयमै आकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दु:खद छ। अत: यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गरियोस्‚” सभापति थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ “घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै ढिलाइ नगरियोस्।”
सभापति थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? भन्दै सरकारसँग प्रश्न गरेका छन्। “सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो‚” विज्ञप्तिमा भनिएको छ।
अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
“यस कठिन घडीमा संयमता र सदभाव महत्त्वपूर्ण रहन्छ। अत: कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकूल हुन नदिन तथा सामाजिक सद्भाव कायम राख्नको लागि योगदान गर्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सबैमा हार्दिक अपिल गर्दछु‚” कांग्रेस सभापति थापाले भनेका छन्।
उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको जनाएका छन्। साथै साथै उनले घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
यो पनि…