काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार जारी विज्ञप्तिमार्फत थापाले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । संवेदनशील परिस्थितिमा राज्य संयमित, सतर्क र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै उनले समयमै आवश्यक समन्वय र सुरक्षा सतर्कता अपनाउन नसक्नु सरकारको गम्भीर कमजोरी भएको उल्लेख गरेका छन् ।
उनले सुरक्षा निकायका प्रमुख परिवर्तन गरेर मात्र समस्या समाधान नहुने बताएका छन् । घटनाको वास्तविकता सार्वजनिक गर्न निष्पक्ष छानबिन आवश्यक रहेको र यसको नैतिक तथा राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ ।
थापाले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न, घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी संवेदनशीलताका साथ अवस्था व्यवस्थापन गर्न पनि उनले सरकारलाई अनुरोध गरेका छन् ।
यसैबीच, कांग्रेस सभापति थापाले सबै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन् । उनले अफवाह र उत्तेजनाबाट टाढा रहँदै सामाजिक सद्भाव कायम राख्न स्थानीयवासी, नागरिक समाज, सामुदायिक संस्था तथा राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।