काठमाडौँ। लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ११ जनालाई पक्राउ गरेको हो।
अवैध लागुऔषध कारोबारमा संलग्न रहेका भन्ने सूचनाका आधारमा लतिलपुर, झापा, सुनसरी, कैलाली, दाङ र नवलपरासी पश्चिमबाट आइतबार र सोमबार गरी ११ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
ललितपुरको गोदावरी नगरपालिका ३‚ टौखेलबाट लागुऔषध पोलेन करिब पाँच ग्राम र स्पास्पेन २० ट्याब्लेटसहित सोही ठाउँ बस्ने कास्की घर भएका २० वर्षीय आरएन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो।
झापाको भद्रपुर नगरपालिका २‚ चारआली चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद पाँच हजार ६०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पृथ्वीनगरले जनाएको छ।
पक्राउ पर्नेमा भद्रपुर २ का २६ वर्षीय अमन राई र सोही ठाउँका २६ वर्षीय निकेश राई छन्। प्रहरीले उनीहरूले प्रयोग गरेको मे.९प १६०३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।
झापाको हल्दीबारी गाउँपालिका ३‚ बाङ्गे चोकस्थित सन्ध्या होटेलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १२० मिलिग्रामसहित सोही गाउँपालिका २ का २२ वर्षीय विकास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका ७ बाट नाइट्राजेपाम ८३ ट्याब्लेट र नगद १९ हजार ४८५ रुपैयाँसहित धरान ७‚ पानमारा बस्ने १९ वर्षीय सोएल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका ७‚ देवरियाबाट सोही ठाउँ बस्ने २५ वर्षीय पवन चौधरी, बर्दगोरिया गाउँपालिका ३‚ खैरेनीबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका १‚ शान्तिनगर बस्ने २३ वर्षीय कुँवेर पार्की पक्राउ परेका छन्।
त्यस्तै दाङको शान्तिनगर गाउँपालिका ७‚ खैरेनीबाट नाइट्राजेपाम ६७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २२ वर्षीय गणेश विष्ट र घोराही उपमहानगरपालिका १४‚ स्वर्गद्वारी टोल डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका ५ घर भएका ३४ वर्षीय सन्तोष बाठालाई अवैध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १ बस्ने ३४ वर्षीय गणेश गुप्तालाई नियन्त्रित डाइजेपाम ३९६ एम्पुल, फेनारगन ४४६ एम्पुल र बुप्रेनोर्फिन ४४६ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।