काठमाडौँ। ३२औँ विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ।
वर्ल्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा ३० जुलाईदेखि ७ अगस्तसम्म हुने फेयरमा अभिनय श्रेष्ठ, संकल्प पौडेल, यूएल रोक्का, भूमिका खड्का र खुशी श्रेष्ठले सहभागिता जनाउनेछन्। प्रशिक्षकमा विपिन वज्राचार्य छन्। फेयरमा नेपालसहित १४ राष्ट्रको सहभागिता रहनेछ।
फेयरका दौरान सहभागीले क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेमको अवलोकन गर्ने अवसर पनि पाउनेछन्। खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसँग मिलेर मैत्रीपूर्ण प्रतियोगिता पनि खेल्नेछन्।
नेपाल बेसबल तथा सफ्ट संघका अध्यक्ष दीपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउन्डेसनले प्रायोजन गरेको बताए। उनका अनुसार सहभागी सबैलाई जनही करिब एक लाख रुपैयाँबराबरको खेल सामाग्री र पोसाक उपलब्ध गराइनेछ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद् परिषद्का सदस्य-सचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।