काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। बचत फिर्ताको माग गर्दै सहकारीपीडितले काठमाडौँमा पुन: प्रदर्शन गरेका छन्।

भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा काठमाडौँमा सोमबार र्‍यालीसाहितको प्रदर्शन गरिएको हो।

माइतीघरबाट सुरु भएको र्‍याली बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुग्यो। त्यहाँबाट उनीहरू पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरण पुग्ने तयारी गरेका छन्। उनीहरूले यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेर प्रदर्शन गरिरहेका छन्।

उनीहरूले ‘सहकारीपीडित सदस्य बचतकर्तालाई न्याय देऊ’, ‘ ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’, ‘निक्षेपको सावाँ र ब्याज फिर्ता देऊ’, ‘हाम्रो बचत फिर्ता गर्’, ‘लाइसेन्सवाला ठगी बन्द गर्’लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

वर्तमान सरकारले बचत फिर्ताको नाममा साना-ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ।

उनीहरूले आफूहरूको आन्दोलन विशुद्ध पीडितहरूको साझा मञ्च भएकाले कुनै राजनीतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र पीडितकै नेतृत्वमा आन्दोलन अघि बढाउने जनाएका छन्। सरकारले आफ्ना माग तत्काल कार्यान्वयन नगरे दुई दिनको ध्यानाकर्षण र्‍यालीपछि थप सशक्त रूपमा आन्दोलनमा उत्रिने प्रदर्शनकारीहरूले चेतावनीसमेत दिएका छन्।