काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

समाज

सरकारले बस्ती भत्काएपछि दुई महिनादेखि भग्नावशेषमै बसेर मालिकलाई कुरिरहेको कुकुर

११ श्रावण २०८३
जुनु र टमी। तस्बिर : विष्णु पोखरेल
अ+
अ-

काठमाडौँ महानगरपालिका-४, चण्डोलस्थित टुँडालदेवी मन्दिरमुनि भग्नावशेषमा परिणत सुन्दरबस्तीको पर्खालमाथि एउटा सेतो कुकुर टोलाइरहेको हुन्छ। कहिले भत्किएका घरटहरा चियाउँछ, कहिले यताउता डुल्छ। उसको नाम टमी हो।

बस्तीका परिवार अन्यत्र सरिसके, टमी भने त्यहीँ छ। ऊ हरेक बिहान र बेलुका आफूलाई सानैदेखि हुर्काएकी ७० वर्षीया जुनु थापालाई पर्खन्छ।

सरकारले काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा १६ वैशाखमा टुकुचा नदी आसपासको सुन्दरबस्तीका घरटहरामा पनि डोजर चलाएको थियो। त्यहाँ बस्दै आएका १० परिवार त्यसपछि बस्ती छाड्न बाध्य भए।

चण्डोलमा खाली गरिएको सुकुम्बासी बस्ती र इन्सेटमा बस्ती कुरेर बसको टमी। तस्बिर : विद्या राई

कतिपय परिवार सरकारले व्यवस्था गरेको अस्थायी शिविरमा छन्। बालबालिकालाई विद्यालय जान अपायक परेको भन्दै केही परिवार डेरा लिएर बसेका छन्।

जुनु पनि बस्ती छाडेर डेरामा सरेकी छन्। तर, सात वर्षदेखि सँगै बसेको टमीलाई लैजान सकिनन्।

जुनु २०४३ सालदेखि सुन्दरबस्तीमा बस्दै आएकी थिइन्। चण्डोलकै एउटा घरमा घरायसी काम गर्ने उनले टमीलाई सानो छँदै ल्याएर हुर्काएकी हुन्। “मसँगै सुत्थ्यो। यसले मलाई आमा जस्तै मान्छ। मैले नाति जस्तै गरेर पालेकी थिएँ,” उनी भावुक हुँदै भन्छिन्।

बस्ती छाड्नुपरेको दिन आफू रोइरहेको देखेर टमीले च्याप्प समातेको क्षण जुनु अझै सम्झन्छिन्। “मैले ‘हामीलाई यहाँ बस्न दिँदैनन्, तिमी चाहिँ यहीँ बस है’ भन्दा यसले मलाई च्याप्प समातेर छाड्नै मानेको थिएन,” उनी भन्छिन्।

जुनुले टमीलाई आफूसँगै लैजाने प्रयास नगरेकी होइनन्। तर, उनले डेरा लिएको घरका घरधनीले कुकुर राख्न दिएनन्। आफूले काम गर्ने घरमा पहिलेदेखि नै कुकुर भएकाले त्यहाँ पनि टमीलाई लैजान सम्भव भएन।

चण्डोलस्थित खाली गरिएको सुकुम्बासी बस्ती। तस्बिर : विद्या राई

त्यसयता उनी हरेक बिहान र बेलुका खाना बोकेर टमीलाई भेट्न भग्नावशेषमा पुग्छिन्। टमीलाई दालभात, मासु र बिस्कुट मन पर्छ। “पानी परे पनि बिहान-बेलुका सधैँ आउँछु,” जुनु भन्छिन्। जुनु नियमित रूपमा खाना बोकेर बस्ती पुगिरहेको देख्दा अचम्म मान्छिन् चण्डोलकी रश्मी खातुन। उनी भन्छिन्, “उहाँ जहिले पनि कुकुरलाई खाना खुवाउन धाएर आउनुहुन्छ।”

दुई महिनादेखिको यो दैनिकी जुनुका लागि सहज भने छैन। आफू बिरामी परेर आउन नसकेको दिन टमीको अवस्था के होला भन्ने चिन्ताले उनलाई सताइरहन्छ। “यसको साह्रै बिजोग भयो,” उनी भन्छिन्, “मैले बिहान-बेलुका खाना ल्याएर दिन्छु। तर, म बिरामी भएर उठ्न नसक्ने भएँ भने यसलाई कसले खाना दिने? बस्तीमा यसको बास पनि छैन।”

राति बस्न सजिलो होस् भनेर जुनुले भत्किएको टहरोको एउटा कुनामा टमीका लागि सानो ठाउँ बनाइदिएकी छन्। तर, त्यो सुरक्षित छैन। त्यहाँ आउने केही व्यक्तिले टमीलाई लखेट्ने र दुःख दिने गरेको उनी बताउँछिन्।

चण्डोलको खाली गरिएको सुकुम्बासी बस्ती। तस्बिर : विद्या राई

छिमेकीहरूले पनि कहिलेकाहीँ खाना दिए पनि टमीको नियमित रेखदेख गर्ने र सुरक्षित राख्ने कोही छैन।

जुनुले वडा कार्यालय र सामुदायिक प्रहरीलाई समेत टमीको उद्धार गरिदिन अनुरोध गरेको बताउँछिन्। चिनेजानेका र भेटे जति सबैसँग उनी सहयोग मागिरहेकी छन्।

सानैदेखि स्याहारेर हुर्काएको टमीलाई उनले नियमित खोप पनि लगाउँदै आएकी छिन्, खोपकार्ड पनि सुरक्षित राखेकी छिन्। अब उनी टमीलाई पाल्न सक्ने परिवार, पशु उद्धार संस्था वा सुरक्षित आश्रयस्थलको खोजीमा छन्। “कसैले पाल्न सक्नुहुन्छ भने लैजानुहोस्,” उनी भन्छिन्, “यसको उद्धार हुन्छ, रेखदेख पाउँछ।”