काठमाडौं । अध्ययन बिदा तथा अन्य स्वीकृत बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई तलबभत्ता लिइरहेका सरकारी कर्मचारीमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ ।
बिदा सकिएपछि लामो समयसम्म सम्पर्कविहीन रहेका कर्मचारीलाई जवाफदेही बनाउने उद्देश्यले विभिन्न सरकारी निकायले स्पष्टीकरण सोध्न थालेका छन् ।
मंगलबार मात्रै तीनवटा सरकारी निकायले यस्ता कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएका छन् । पूर्वाधार विकास मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशित गर्दै ८ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ भने उद्योग मन्त्रालयले एक जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।
त्यस्तै, महालेखा परीक्षकको कार्यालयले पनि बिदा समाप्त भएपछि कार्यालयमा उपस्थित नभएका एक जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।
सरकारले स्पष्टीकरण चित्तबुझ्दो नभए सम्बन्धित कर्मचारीलाई सेवाबाट हटाउनेसम्मको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । बिदाको दुरुपयोग गर्दै कार्यालयमा अनुपस्थित हुने कर्मचारीमाथि निगरानी बढाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।