काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्। उनले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन समयमा नेपाली कांग्रेसका नेता श्रेष्ठले पुर्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले श्रेष्ठलाई सरल स्वभावका र लोकतन्त्रप्रति समर्पित व्यक्तिका रूपमा आफूले चिनेको बताएका छन्। उनको निधनले नेपालको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको महसुस गरेको उनले उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकहरूप्रति समवेदना व्यक्त गरेका छन्।