काठमाडौं। भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणका लागि औपचारिक निम्तो पठाएको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइएको जानकारी दिएका हुन्।
पत्रकारहरूको प्रश्नको जवाफ दिँदै जैसवालले भने, “हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निम्तो पठाइएको छ।”
नेपाल सरकारले भने यसबारे औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन। यद्यपि, सरकारी अधिकारीहरूले उपयुक्त समयमा भ्रमण हुने बताउँदै आएका छन्।
प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भएको करिब पाँच महिना पुग्न लाग्दासम्म उनले कुनै पनि देशको औपचारिक भ्रमण गरेका छैनन्। भारत भ्रमणको चर्चा भने तीन महिनाअघि परराष्ट्रमन्त्री शिशिर खनाल मौरिसस भ्रमणमा रहँदा चुलिएको थियो। सो क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको भेटवार्तामा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइएको विषय उठेको बताइएको थियो।
निम्तो आएको करिब सय दिन बितिसक्दा पनि भ्रमणको मिति भने तय हुन सकेको छैन।
यता, प्रधानमन्त्री शाहको भारत भ्रमण हुन बाँकी रहे पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने गत जेठ १८ गतेदेखि पाँचदिने भारत भ्रमण सम्पन्न गरिसकेका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। विशेषगरी अमित शाहसँगको भेटलाई यसअघिका भ्रमणभन्दा फरक र महत्त्वपूर्ण रूपमा हेरिएको थियो।