काठमाडौं। दलका भ्रातृ संगठनहरूले संयुक्त विज्ञप्ति निकाल्दै वर्तमान राजनीतिक परिस्थितिको निकास संविधानभित्रैबाट खोज्न माग गरेका छन्। बिहीबार नेपाल तरुण दल‚ राष्ट्रिय युवा संघ नेपाल‚ वाईसीएल नेपाल‚ युवा संघ नेपाल तथा अखिल नेपाल युवक संघ नेपालका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा सम्पूर्ण युवाहरूलाई संयमित र सजग आग्रह गरेका छन्।
उनीहरूले नेपालको लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न पनि अनुरोध गरेका छन्।
‘आगामी राजनीतिक यात्रा यसअघिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र तय गरिनुपर्छ भन्नेमा प्रस्ट छौं’, विज्ञप्तिमा उल्लेख छ‚ ‘जेन-जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौं।’
उनीहरूले लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्ने माग पनि गरेका छन्।