काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

२०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ शून्य र समानुपातिकमा ७२ हजार मतमा सीमित रास्वपालाई अहिले प्रत्यक्षमा ३० र समानुपातिकमा ५७ प्रतिशत मत।

१ चैत्र २०८२
बालेन शाह
अ+
अ-

२१ फागुनमा भएको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ स्थान प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकमा ५७ सिट सुरक्षित गर्दै यो दल दुई तिहाइबाट दुई सिट मात्र टाढा रह्यो। २०७२ सालमा संविधान जारी भएपछिका दुई वटा निर्वाचनमा कुनै पनि दलले यस्तो जनउभार ल्याउन सकेका थिएनन्।

रास्वपाको यो अभूतपूर्व जितमा सबैभन्दा निर्णायक प्रदेश बन्यो- मधेस। मधेसका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये ३० स्थानमा जित हासिल गरेको रास्वपा समानुपातिकतर्फ पनि ५७.३३ प्रतिशत मत ल्याउन सफल भयो। प्रत्यक्षका दुई सिटमा रौतहट २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम र धनुषा १ मा नेकपाका मातृका यादव विजयी भएका छन्।

समानुपातिकतर्फ रास्वपाले देशभरबाट कुल ४७.८४ प्रतिशत मत पाएको छ। यदि मधेसमा प्राप्त समानुपातिक मत घटाउने हो भने कुल मत ४५.३३ प्रतिशत मात्रै हुन आउँछ।

देशभर बढी मतदाता रहेका प्रदेशमा बागमतीपछि मधेस प्रदेश आउँछ। बागमतीमा कुल ३६ लाख ८२ हजार ३१० मतदाता छन् भने मधेसमा थोरै मात्र कम ३६ लाख ३६ हजार ४१४ जना मतदाता छन्।

मधेसमा रास्वपाले समानुपातिकतर्फ सबैभन्दा बढी ६१.६६ प्रतिशत मत महोत्तरीबाट प्राप्त गरेको छ। महोत्तरी रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएका वरिष्ठ नेता बालेन्द्र शाहको पुर्ख्यौली जिल्ला हो। त्यसपछि सर्लाही र धनुषाबाट रास्वपालाई समानुपातिक मत ओइरिएको देखिन्छ।

२०७९ सालको निर्वाचनमा रास्वपाको मधेसमा सबैभन्दा कमजोर प्रदर्शन रहेको थियो। प्रत्यक्षतर्फ शून्य रास्वपाले समानुपातिकतर्फ ७२ हजार ९३५ मत (३.४३ प्रतिशत) मात्र प्राप्त गरेको थियो। निर्वाचनमा प्रत्यक्षतर्फ देशभरबाट सात स्थान जितेको उसले समानुपातिकतर्फ खसेको कुल एक करोड पाँच लाख ६० हजार ६२ मतमध्ये १०.७ प्रतिशत अर्थात् ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको थियो। समानुपातिकको यही मतका आधारमा रास्वपा २० सांसदसहित प्रतिनिधिसभामा चौथो ठूलो शक्ति बनेको थियो।

मधेसमा रास्वपाबाहेकका सबै राजनीतिक दलहरूले ठूलो संख्यामा मत गुमाएका छन्। रास्वपातर्फ मत सोहोरेर लैजाँदा मधेसकेन्द्रित दलहरू राष्ट्रिय दलसमेत बन्न सकेनन्।

मधेस प्रदेशमा मात्र होइन, पूरै तराई क्षेत्रमै रास्वपाले जनमत उल्टाएको छ। तराई-मधेसका २१ जिल्लाका ७३ निर्वाचन क्षेत्रमध्ये ६८ वटामा विजय हासिल गरेको छ। समानुपातिकमा पनि आधाभन्दा बढी ५४ प्रतिशत मत आफ्नो पक्षमा पारेको छ।

तराई-मधेसमा कोसी प्रदेशका झापा, मोरङ र सुनसरी, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर पर्दछन्।