काठमाडौं। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले तीनजना मन्त्री नियुक्त गरेर सोमबार मन्त्रिपरिषद् विस्तार गरेकी छन्। रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्रिपरिषद्को सदस्य नियुक्त भएका छन्।
सोमबार उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन्। पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। अन्तरिम सरकारमा दोस्रो वरीयताको जिम्मेवारी पाएका खनाल देशको अर्थतन्त्रको र अर्थप्रशासनका सम्बन्धमा गहिरो जानकारी भएका व्यक्ति हुन्।
अघिल्लो सरकार रहेको बेला उनले उच्चस्तरीय आर्थिक सुझाव आयोगको अध्यक्ष भएर सरकारलाई देशको अर्थतन्त्र सुधारमा सम्बन्धमा सुझावसहित प्रतिवेदन बुझाएका थिए।
त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। अघिल्लो सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
त्यसैगरी, संवैधानिक कानुनका जानकार एवम् कानुन व्यवसायी ओमप्रकाश अर्यालले गृह मन्त्रालयका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। केपी शर्मा ओली सरकारले संवैधानिक आयोगहरूमा ५२ जना पदाधिकारी नियुक्त गर्दा उनैले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।
त्यसैगरी, तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध उनले रिट दर्ता गरेपछि कार्कीको पद गएको थियो।