पुस्तक समीक्षा

धर्म, प्रेम, विवाह, जात, लिंग या नारी स्वतन्त्रताबारे बनेका नियम साँच्चै सही छन्?

५ बैशाख २०८३
अ+
अ-

एकातिर परम्पराको साङ्लो, अर्कातिर स्वतन्त्रताको पखेटा। एकातिर समाजको डर, अर्कातिर सत्यको अडान। यस्ता द्विविधाको बाधामा बारम्बार फसिरहने समाजमा भारतीय लेखक शरतचन्द्र चट्टोपाध्यायका कृति सान्दर्भिक बनिरहन्छन्। उनको अन्तिम कृति शेष प्रश्न त्यसैको उदाहरण हो।

बंगाली मूलका चट्टोपाध्याय आफ्ना उपन्यासमा सशक्त नारी चरित्र निर्माणका लागि परिचित छन्। जातीय र वर्गीय चेतनासहित मानवीय सम्बन्ध र संवेदनाका विविध आयाम खोतल्नु उनको विशिष्टता हो।

उनका देवदास, परिणीता, चरित्रहीन, श्रीकान्तलगायत आख्यान विभिन्न भाषामा अनूदित छन्। उनका कृतिमा आधारित सिनेमासमेत लोकप्रिय छन्। देवदास, परिणीता, मझली दिदी, अपने पराय, स्वामी आदि तिनैमध्येका केही नाम हुन्।

शेष प्रश्न उनको मृत्युपश्चात् प्रकाशित उपन्यास हो। बंगाली संगीतलाई नजिकबाट चिनेका संगीतकार आभासले यसलाई नेपालीमा अनुवाद गरेका छन्।

उपन्यासकारले कथामा चरित्र र वातावरणको सुन्दर सम्मिलन गराउँछन्। बंगला सजावट, ढाँचाकाँचा र नयाँ समाजमा घुलमिल हुन आशुबाबुले गरेको प्रयत्नको प्रस्तुति जीवन्त र प्रभावकारी छ।

पाको उमेरका बंगाली साहेब आशुबाबु आफ्नी सुन्दर र शिक्षित छोरी मनोरमासहित आगरा बसाइँ सरेर आएको प्रसंगबाट उपन्यासको कथा सुरु हुन्छ।

उपन्यासकारले कथामा चरित्र र वातावरणको सुन्दर सम्मिलन गराउँछन्। बंगला सजावट, ढाँचाकाँचा र नयाँ समाजमा घुलमिल हुन आशुबाबुले गरेको प्रयत्नको प्रस्तुति जीवन्त र प्रभावकारी छ।

त्यसै क्रममा आशुबाबुको निमन्त्रणा पाएर बंगला पुगेका दुई पात्र शिवनाथ र कमलले उपन्यासलाई नयाँ मोड दिन्छन्। शिवनाथले कमललाई आफ्नी बिरामी पत्नी छोडेर दोस्रो पत्नीका रूपमा भित्र्याएका हुन्छन्। कमल वञ्चित जातकी, पढ्ने अवसर नपाएकी तर प्रचलित मानकमा लावण्ययुक्त हुन्छिन्, शिवनाथ भने स्त्रीलम्पट र जँड्याहा चरित्रको।

यी पात्रहरूको अप्ठेरो सम्मिलनसँगै कथाले त्यतिबेला नयाँ मोड लिन्छ, जतिबेला विवाहको आकांक्षा बोकेर बेलायतबाट आगरा आइपुगेको अजित नामको पात्रलाई जिल्ल पार्दै मनोरमा शिवनाथको प्रेममा पर्छिन्। शिवनाथ पनि आफ्नो भर परेर दोस्रो पत्नीका रूपमा आगरा पुगेकी कमललाई अलपत्र छोडिदिन्छन्।

त्यसपछि कमलको संघर्ष र प्रेमले निर्धारण गरेको बाटोले उपन्यासलाई अर्थको मूल गोरेटोमा ल्याइपुर्‍याउँछ। उनको सहयोगी चरित्र, आघातबाट उठ्न सक्ने ऊर्जा, दृढता र सामाजिक परम्पराको लक्ष्मणरेखा नाघ्दै गरेको शालीन विद्रोहले समकालीन समाजमा भूकम्प ल्याइदिन्छ।

२९ खण्डमा विभाजित उपन्यासको पाँचौँ भागमा पुगेर मात्र उपन्यासकी मुख्य पात्र कमल चिनिन्छिन्। उनको शैली जति तर्कशील र बौद्धिक लाग्छ, शब्दहरू त्यति नै कठोर प्रतीत हुन्छन्। ‘सत्य तीतो हुन्छ’ भन्ने उखानको अर्थ यहाँ खुल्छ। उनी करेला जस्तै तीतो तर हितकारी लाग्छिन्।

कथा जति अघि बढ्दै जान्छ, त्यति नै हामी किन कमल जस्तो बन्न सकेनौँ भन्ने पाठकलाई पनि लाग्न थाल्छ।

सुरुमा मुखाले जस्तो लागे पनि कमललाई पाठकले हृदयदेखि स्विकार्न थालिसकेको पत्तै हुँदैन।

साधारण देखिने उनमा असाधारण व्यक्तित्व भेटिन्छ। स्पष्ट वक्ता, विद्रोही, प्रगतिशील र माया-ममताले भरिपूर्ण स्वाभिमानी नारीको चित्र पाठकको मनमा कोरिइसक्छ।

कथा जति अघि बढ्दै जान्छ, त्यति नै हामी किन कमल जस्तो बन्न सकेनौँ भन्ने पाठकलाई पनि लाग्न थाल्छ।

यस उपन्यासले पाठकलाई कथासँगै सलल बगाउन सक्ने क्षमता राख्छ। नेपालीमा आइपुग्दा पनि आभासले भाषाशैलीको सरलता र मिठास कायम राखेका छन्। बंगाली परिवेश, रीतिरिवाज र सांगीतिक माहोलले किताबमै ‘क्लासिक बंगाली सिनेमा’ को स्वाद पाठकले पाउँछन्।

परम्परागत भारतीय समाज, सहरी कुलीन उच्च वर्ग, जातपात र उचनीचको विभेद, स्त्री र पुरुषबीचको असमानता, सामाजिक बन्धन र स्वतन्त्रताको खोजीसम्मका विषय उपन्यासमा अटाएको छ। दार्शनिक संवाद र बहसले उपन्यासको परिवेशलाई विचार र चेतनामय बनाएको छ।

उपन्यासका प्रत्येक पात्रको भूमिका अर्थपूर्ण लाग्छ। प्रत्येक पात्रको संवाद पढ्दा ‘आहा’ भन्न मन लाग्छ।

शेषप्रश्नका मुल लेखक शरतचन्द्र चट्टोपाध्याय।

आफ्नो पहिलो पत्नीलाई छोडेको सफाइमा शिवनाथ भन्छन्, ‘कुनै अपराधबिनै म पनि त किन दुःख भोगिरहूँ? एउटा व्यक्तिको दुःख अर्को व्यक्तिको थाप्लोमा थोपर्नु न्यायिक हो भन्नेमा मेरो विश्वास छैन।’

कमलसँगको कुराकानीमा आशुतोष बाबु नामका पात्र बोल्छन्, ‘प्रेमले के मात्रै गर्न सक्दैन! रूप, यौवन, सम्पत्ति, सम्मान यी सबै केही होइनन् कमल, क्षमा नै प्रेमको वास्तविक आत्मा हो। जहाँ क्षमा हुँदैन, त्यहाँ प्रेम एउटा विडम्बना मात्र हो।’

उपन्यासमा पुरातनवादी सोचले ग्रस्त एक पात्र छिन् नीलिमा। उनको संवादसमेत ओजिलो छ। आफ्नो मनको बह कमललाई पोख्ने क्रममा भन्छिन्, ‘यस देशमा महिला भएर जन्म लिएपछि भाग्यलाई दोष दिएर बस्न थाल्यो भने कहीँकतैको टुंगोमा पुगिन्न।’

गम्भीर र जिम्मेवार भए तापनि परम्परावादी सोच राख्ने पात्र हरेन भन्छन्, ‘समाजमा प्रचलित मान्यता उल्लंघन गरेपछि जुन दुःखको सामना गर्नुपर्छ, तिनलाई चरित्र र बुद्धि-विवेकको बलमा मात्र सहन सकिन्छ भन्ने कुरा समाजका मान्छेले बुझेकै हुँदैनन्।’

हामी आफ्नो बहुमूल्य जीवन अरूले के सोच्छ भन्ने तुच्छ प्रश्नमै बर्बाद पारिदिन्छौँ। अरूको चित्त दुख्छ कि भनेर ‘नाइँ’ भन्न सक्दैनौँ। अरूको खुसीका निम्ति आफू पलपल मरिदिन्छौँ।

यस्ता मुटु छुने संवाद किताबभरि प्रशस्तै छन्, जसमा स्त्रीको स्वतन्त्रता, आत्मस्वतन्त्रता, प्रेमको अर्थ र जीवनका गहिरा भावनाहरू अभिव्यक्त छन्।

सशक्त नारीवादी दृष्टिकोण बोकेको शेष प्रश्नलाई मानवीय संवेदनाले भरिएको उपन्यास मान्न सकिन्छ। यसमा पहिला मानव बनेपछि मात्रै नारी र पुरुषको भूमिका आउँछ भन्ने धारणालाई बलियो बनाइएको छ। तर, समाजमा विद्यमान पुरातन सोचले मान्छेलाई बन्दी बनाइरहेको कुरालाई छर्लंग पार्न उपन्यासले छोडेको छैन।

यिनै विशिष्टताको बलमा सन् १९३१ मा प्रकाशित यस उपन्यासले झन्डै सय वर्षपछि पनि भारतीय र नेपाली समाजमा सान्दर्भिकता प्रमाणित गरेको छ। अझै पनि निलिमा, मनोरमा र शिवनाथ जस्ता संकुचित पात्रकै वर्चस्व छ। कमलहरू दृश्यमा आउन सकेका छैनन्। आफ्नो पंख फिँजाइ स्वतन्त्र रूपमा उड्न सकेका छैनन्।

जब हामी आफैँलाई चिन्छौँ; माया गर्न थाल्छौँ; सत्यतालाई स्विकार्छौं, तब जीवन बिताउन सजिलो हुन्छ। दुःखमा पनि हाँस्न सक्छौँ। आफ्नो जीवन आफ्ना लागि बोझ हुन्न।

यस किताबले मनमा कमल लुकाएर हिम्मत नजुटाएकालाई हिम्मतिलो बन्न उत्प्रेरित गर्छ। बाहिरी संसारलाई भन्दा पहिले आफूले आफैँलाई नियाल्न र झकझकाउन प्रेरणा दिन्छ।

हामी आफ्नो बहुमूल्य जीवन अरूले के सोच्छ भन्ने तुच्छ प्रश्नमै बर्बाद पारिदिन्छौँ। अरूको चित्त दुख्छ कि भनेर ‘नाइँ’ भन्न सक्दैनौँ। अरूको खुसीका निम्ति आफू पलपल मरिदिन्छौँ। समाजले बनाएको रेखा नाघ्न डराउँछौँ। आफूलाई ‘कन्फर्ट जोन’ मा खुच्याउँछौँ। तर, कमलबाट यसको ठिक विपरीत छिन्।

कमल आफ्नो यथार्थ स्विकार्छिन्। आफ्नै मनलाई दरिलो बनाई स्वाभिमानी पाइला चाल्छिन्। वास्तविक जीवनमा यसो गर्न निकै गाह्रो छ। तर, असम्भव छैन।

कमलले समाज परिवर्तन भन्दा पनि आफूलाई परिर्वतन गर्ने क्षमताको भरपुर उपयोग गरेकी छन्। यही कारण कमललाई पहिला संकोचको दृष्टिले हेर्ने आशुबाबुको मन परिवर्तन हुन्छ र उनलाई छोरीका रूपमा स्वीकार गर्छन्।

यस किताबले मनमा कमल लुकाएर हिम्मत नजुटाएकालाई हिम्मतिलो बन्न उत्प्रेरित गर्छ। बाहिरी संसारलाई भन्दा पहिले आफूले आफैँलाई नियाल्न र झकझकाउन प्रेरणा दिन्छ।

धर्म, प्रेम, विवाह, आत्मस्वतन्त्रता, जात, लिंग, नारी स्वतन्त्रतामाथि बनाएका नियमहरू साँच्चै सही छन् त? शेष प्रश्नले प्रश्नैप्रश्न खडा गर्छ। अनि, उत्तरको खोजीमा उत्प्रेरित गर्छ। यसरी हेर्दा यो उपन्यास मानवीय सोचको दार्शनिक यात्रा विवरण हो।