काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१ भाद्र २०८२
अ+
अ-

काठमाडौं । चर्चित उपन्यास तोदा, कथा सङ्ग्रह सयौं पुतली लगायत आधा दर्जन पुस्तककी लेखक उमा सुवेदीद्वारा लिखित आख्यान परिधि शनिबार काठमाडौंमा एक समारोहका बीच लोकार्पण गरिएको छ। लेखक कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रूपमा परिधिको लोकार्पण गरेका हुन्। सुवेदीको यो तेस्रो आख्यानलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो।

कार्यक्रममा बोल्दै लेखक कुमारी लामाले परिधिमा स्वैरकल्पनाको प्रचुरतासँगै यथार्थताको धरातललाई पनि सँगै लिएर गएको एक विशिष्ट आख्यान भएको बताइन्। लेखकले मूलधारको लेखनभन्दा भिन्न शैली अपनाएर परिधिको आयाम फराकिलो पारेको उनले टिप्पणी गरिन्। त्यस्तै अर्का लेखक केशव दाहालले परिधि संरचनाका हिसाबले नयाँ तर बेजोड कृति भएको बताए। उनले यस आख्यानमा बिम्बको प्रयोग सुन्दर तरिकाले गरिएको बताउँदै लेखकको निखारिएको शिल्पले पाठकलाई शुरूदेखि अन्त्यसम्मै बाँधेर राख्ने उल्लेख गरे।

कलाकार गौरी मल्लले परिधि जस्तो नवीन र सशक्त शैलीको नेपाली आख्यान आफूले अहिलेसम्म नपढेको बताउँदै यस पुस्तकका पात्रहरूले आफूलाई पनि कहीँ कतै प्रतिविम्बित गरेको सुनाए। कार्यक्रममा कविता वाचन समेत गर्दै उनले यस आख्यानका पात्रले आफूभित्र उचित-अनुचित, असल-खराब, ठीक-बेठीक जस्ता कुरा बारे पुनः सोच्न बाध्य बनाएको बताइन्। परिधिको अलौकिक संसारले सबै पाठकलाई सम्मोहित गर्ने उनको धारणा थियो।

लेखक उमा सुवेदीले आफूले भन्न चाहेको कथाका लागि सामान्यभन्दा विशिष्ट शैली आवश्यक भएकाले आफूले कथा भन्ने शैलीमा प्रयोग गरेको बताइन्। सुवेदीका यसअघि तप्किएर अञ्जुलीमा (गजलसङ्ग्रह), तिर्सनाका छालहरू (गीतसङ्ग्रह), तोदा (उपन्यास), इति (उपन्यास) र सयौं पुतली (कथासङ्ग्रह) प्रकाशित छन्।