विराट गोल्डकप
झापाको जितमा राजेश दाहाल र दिवस उराउको एक-एक गोल
विराटनगर। घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई स्तब्ध पार्दै झापा-११ ले ३८औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
विराटनगरस्थित सहिद रंगशालामा आइतबार राति सम्पन्न फाइनलमा २-१ गोलअन्तरको जित निकाल्दै झापा-११ दोस्रोपटक च्याम्पियन बनेको हो।

विजेता झापा-११ का खेलाडी ट्रफी उचाल्दै।
यसअघि २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई पराजित गर्दै झापाले पहिलोपटक उपाधि चुमेको थियो। १० वर्षपछि पुनः उपाधि दोहोर्याउने क्रममा झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो। उपविजेता बनेको सम्राट स्पोर्टिङले पाँच लाख रुपैयाँमा चित्त बुझायो।
झापाको जितमा राजेश दाहाल र दिवस उराउले एक-एक गोल गरे। सम्राटका तर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए।

विजेता झापा-११ का खेलाडी ट्रफीका साथ।
प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले केही सुन्दर अवसर सिर्जना गरे पनि गोल गर्न सकेका थिएनन्। खेलको ८१औँ मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए। गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई राजेशले आकर्षक ढंगले गोलमा परिणत गरेका थिए।
झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवसले गोल थपेपछि टोलीको जित सुनिश्चित भएको थियो। उनले फागुराम थारूको पासलाई सदुपयोग गरेका थिए। खेलको थप गरिएको (इन्जुरी) समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै गोलअन्तर घटाए पनि टोलीको हार टार्न त्यो पर्याप्त भएन।

सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) फागुराम थारू।
खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक खेल पस्किएका थिए। १६औँ मिनेटमा सम्राटका सुरज तामाङले पेनाल्टी क्षेत्र (डि-बक्स) भित्रबाट गरेको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरेका थिए। लगत्तै झापाका सुलमान किङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। दोस्रो हाफमा थप आक्रामक बनेको झापाका लागि ४७औँ मिनेटमा राजेश दाहाल र ५५औँ मिनेटमा मौसम सुब्बाका कडा प्रहारहरू थोरैले बाहिरिएका थिए।

उत्कृष्ट गोलरक्षक विशाल सुनारलाई पुरस्कार दिइँदै।
फाइनलका गोलकर्ता राजेश दाहाल ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताभर तीन गोल गरेका झापाका फागुराम थारू सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) बने। विधागततर्फ झापाकै विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक चुनिए। उनीहरूले जनही १५ हजार रुपैयाँ प्राप्त गरे।

उत्कृष्ट प्रशिक्षक सन्तोष बस्नेत।
उपविजेता टोलीका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनले ५१ हजार रुपैयाँ नगद पुरस्कार हात पारे।
विजेता तथा उपविजेतालाई कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोसीका वन, पर्यटन तथा वातवरणमन्त्री भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए। २८ चैतदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित आठ टिमको सहभागिता थियो।

पुरस्कार लिँदै प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ अशोक खवास।