लक्ष्यको ८७.६८ प्रतिशत राजस्व सङ्कलन
पर्सा। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ। वीरगन्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि यति राजस्व सङ्कलन भएको हो।
गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन्। कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७.६८ प्रतिशत राजस्व सङ्कलन भएको छ।
भन्सार विभागले कार्यालयलाई साउन महिनामा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले गत आवको साउन महिनामा भने रु १५ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको वीरगन्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए। विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ।