हिरासतमा मृत्यु प्रकरण
छानबिन समितिले पनि पाएन हिरासत कक्षको सीसीटीभी फुटेज
सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७ वैशाखमा मृत्यु भएका श्रीकृष्ण विकको शव परीक्षणमा मृत्युको कारण पत्ता नलागेपछि थप परीक्षण गरिने भएको छ। त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गरिएको पोस्टमार्टमको रिपोर्टमा मृत्युको कारण पत्ता नलागेपछि विस्तृत अनुसन्धानका लागि ‘भिसेरा टेस्ट’ गरिने भएको छ।
सिन्धुलीको सुनकोसी गाउँपालिका-३ का २३ वर्षीय विकलाई जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका लागि खुर्कोट प्रहरीको हिरासतमा राखिएको थियो। प्रहरीका अनुसार ७ वैशाखको साँझमा हिरासतको शौचालयभित्र सर्टको पासोमा झुन्डिएको अवस्थामा भेटिएर अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। खोटाङकी १६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा ४ वैशाखमा ललितपुरको सातदोबाटोबाट पक्राउ परेका उनलाई प्रहरीले सिन्धुली पठाएको थियो।
अन्तरजातीय विवाह गर्दा बलात्कारको मुद्दा लगाइएको तथा हिरासतमा कुटपिट र यातनाबाट मृत्यु भएको विकको परिवारको आरोप छ।
मृत्युको घटना सम्बन्धमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्य संयोजक रहेको छानबिन समितिले अनुसन्धान गरिरहेको छ। समितिले हिरासत कक्षको अध्ययन गर्नुका साथै मृतक विकका परिवारजन, आफन्त, नाबालिका पक्ष, सिन्धुलीका मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिलगायतसँग कुराकानी गरेको छ। बिहीबार (१७ वैशाख) मात्रै समितिले मृतक विककी आमा विन्दमायासँग कुराकानी गरेको छ। विन्दमाया भन्छिन्, “प्रहरीको छानबिन टोलीले मलाई सोधपुछ गरेको छ। आफूलाई थाहा भएको सबै जानकारी मैले दिएको छु। समितिले सत्यतथ्य प्रतिवेदन बाहिर ल्याउने आशा छ।”
११ वैशाखमा गठित छानबिन समितिलाई सात दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएअनुसार भोलि (१८ वैशाख) म्याद सकिँदै छ। अनुसन्धान जारी रहेको तथा पोस्टमार्टमको विस्तृत रिपोर्ट र भिसेरा टेस्ट हुन बाँकी रहेकाले छानबिन समितिको म्याद केही दिन थप्न माग गर्न लागिएको समितिका एक सदस्य बताउँछन्।
समितिले पाएन सीसीटीभी फुटेज
छानबिन समितिले अहिलेसम्म हिरासत कक्षको सीसीटीभी फुटेज पाएको छैन। समितिले घटना भएको दिनको सीसीटीभी फुटेज उपलब्ध गराउन भने पनि इलाका प्रहरी कार्यालय, खुर्कोटबाट प्राप्त नभएको समितिका एक सदस्यले बताए।
हिरासतमा विकको मृत्युको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने, सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्नेलगायत माग गर्दै मृतकका आफन्तजन, दलित अधिकारकर्मीले विरोध जनाउँदै आएका छन्। प्रहरी-प्रशासनले न्याय दिनुपर्ने माग गर्दै १० वैशाखमा अधिकारकर्मी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलगायतले जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा धर्ना दिएका थिए। उनीहरू त्यस दिन रातभर धर्नामा बसेका थिए।
यसपछि ११ वैशाखमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जका डीआईजी आचार्यको नेतृत्वमा पाँचसदस्यीय समिति गठन गरेका थिए।
पीडितको जाहेरी लिन अस्वीकार
हिरासतमा विकको मृत्युको घटनामा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा किटानी जाहेरी दिँदा दर्ता गर्न नमानेको पीडित परिवारको गुनासो छ। यस्तै, जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीले पनि जाहेरी नलिएको पीडित पक्ष बताउँछ। १५ वैशाखमा एड्भोकेसी फोरमका तर्फबाट कानुन व्यवसायीहरूको साथमा विकको परिवार जाहेरी दिन प्रहरीमा पुगेको थियो। जाहेरी नलिएपछि विककी आमा विन्दमायाले हुलाकमार्फत जाहेरी पठाएकी छिन्।
अन्तरजातीय विवाहका कारण धेरै दलित युवाले मुद्दामामिला भोग्ने र प्रहरी नियन्त्रणमा बस्ने अवस्था भोग्दै आएका छन्। हिरासतमा रहेर बलात्कार मुद्दाको अनुसन्धान चलिरहेकै अवस्थामा श्रीकृष्ण विकको ज्यान जाँदा पीडित परिवार निष्पक्ष छानबिनबाट न्याय पाउने पर्खाइमा बसेको छ।