काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल निर्देशक राज महर्जनले राजीनामा दिएका छन्। एएफसी फुटसल कप २०२६ को छनोट प्रतियोगितामा नेपाल सहभागी नहुँदा एसियाली फुटबल महासंघ (एएफसी) ले गरेको कारबाहीको दोष एन्फा सचिवालयलाई लगाउँदै उनले बिहीबार राजीनामा बुझाएका हुन्।
उनले भनेका छन्, ‘फुटसल विभाग प्रमुखको हैसियतमा प्रतियोगितासम्बन्धी सबै कामकारबाही समयमा नै सचिवालयमा बुझाएको हुँ। तर, कुनै बजेट नदिएको कारण नेपाललाई सहभागी गराउन सकिएन। यो लापरबाहीकै कारण नेपाललाई १० हजार अमेरिकी डलर जरिवाना गरिएको छ र अर्को पटकको छनोटमा भाग लिन नपाउने गरी कारवाही गरिएको छ।’
एएफसीको अनुशासन तथा आचारसंहिता समितिको गत अगस्ट २१ बसेको बैठकले इन्डोनेसियामा सन् २०२६ हुने प्रतियोगिताको छनोटबाट नाम फिर्ता लिएको भन्दै एन्फालाई कारबाही गरेको थियो। एएफसीका अनुसार नाम फिर्ता खेल सुरु हुनुभन्दा १०६ दिनअघि मात्र पाइन्छ। तर, एन्फाले यो नियम मिचेपछि कारबाहीमा परेको हो। योसँगै नेपाललाई अर्को संस्करणको एएफसी फुटसल एसियन कप छनोटमा भाग लिनबाट समेत वञ्चित गइएको छ।
सचिवालयको गैरजिम्मेवार व्यवहारका कारण राजीनामा दिएको उनले बताएका छन्। महर्जनले भनेका छन्, ‘यस्तो परिस्थितिमा आजकै मितिबाट लागू हुने गरी पदबाट राजीनामा दिएको छु।’
फुटसल एसियन कपको छनोट २० सेप्टेम्बरदेखि सुरु हुँदैछ। छनोटमा ३१ देशले विभिन्न आठ समूहमा प्रतिस्पर्धा गर्दैछन्।