लेखन कला
आख्यान आफैँमा पात्र या चरित्रको भोगाइ या अनुभूतिमार्फत गरिने समय र समाजको चित्रण हो। आख्यानको उत्कृष्टता मूलतः त्यसका पात्रहरूको जीवन्ततामा निर्भर गर्छ। पात्रहरू नै कथालाई गति दिने र पाठकलाई संवेदनाले बाँध्ने बलियो आधार हुन्। पात्रका इच्छा, द्वन्द्व र निर्णयले प्लटलाई अगाडि बढाउँछन् भने उनीहरूको माध्यमबाट नै लेखकका दार्शनिक विचार र सामाजिक यथार्थहरू विश्वसनीय ढंगले सम्प्रेषित हुन्छन्।
म कथा, अनुभूति र चरित्र यी तीनवटै कुरालाई आख्यानमा बुन्ने प्रयत्न गर्छु। आख्यानमा कथानक, पात्र र अनुभूतिको सन्तुलित संयोजन अनिवार्य सर्त हो। कथानकविना पात्रको गतिविधि र लेखकको निजी अनुभूति मात्रले आख्यानलाई पूर्णता दिन सक्दैन। एउटा सबल बुनोटले नै पाठकमा उत्सुकता जगाउँछ भने पात्रले त्यसलाई गतिशीलता र जीवन्तता प्रदान गर्छन्। जब लेखकले आफ्ना अनुभव र अनुभूतिहरूलाई पात्र र घटनाक्रमको जगमा उभिएर कलात्मक ढंगले प्रस्तुत गर्छ तब मात्र आख्यानले गहिराइ प्राप्त गर्छ।
चरित्र निर्माणको प्रक्रियामा म दुई वटा पद्धति अपनाउँछु। पहिलो जब समाज वा परिवेशका कुनै पात्र र तिनका भोगाइले मलाई झकझक्याउँछन्, तब म ती पात्रकै सामाजिक र मनोवैज्ञानिक पृष्ठभूमिलाई आधार बनाएर कथानकको तानाबाना बुन्ने गर्छु। यस अवस्थामा पात्र स्वयंले कथाको मार्गचित्र तय गर्छन्।
दोस्रो, यदि पहिले कथानक वा विचार जन्मिएको छ भने म त्यो प्लटलाई जीवन्त बनाउन सक्ने सुहाउँदा पात्रहरूको कल्पना गरी तिनको बाह्य स्वरूप, आन्तरिक स्वभाव र मनोवैज्ञानिक गहिराइ तयार पार्छु। जुनसुकै अवस्थामा पनि पात्रलाई केवल काल्पनिक आकृतिमा सीमित नराखी तिनको विगत, कमजोरी र रूपान्तरणको मार्ग पहिले नै निश्चित गर्ने हुनाले लेखनको चरणमा पुग्दा ती पात्रका आफ्नै स्वभाव र सामाजिक परिवेशले कथालाई स्वाभाविक गति प्रदान गर्छन्।
आख्यानमा कल्पनाको हिस्सा महत्त्वपूर्ण र शक्तिशाली हुन्छ। अवलोकन र भोगाइले बीउ दिन्छन् भने कल्पनाले तिनलाई बिरुवा बनाउँछ।
यथार्थको जगमा कल्पनाको रङ भर्नु नै वास्तविक आख्यानीकरण हो। म चिनेका र देखेका पात्रहरूलाई आख्यानमा ल्याउँदा तिनलाई यथार्थमा जस्ताको तस्तै होइन, आख्यानीकरण गर्छु। एक व्यक्तिको एउटा विशेषता वा स्वभावलाई बीउ बनाएर अरू दुईतीन जनासँग मिसाउँछु पनि। नाम, अनुहार, पेसा, उमेर, परिवेश र समय बदल्नुपरे बदलिदिन्छु। त्यसपछि चरित्रलाई कथाको आवश्यकताअनुसार विकसित गर्छु र वास्तविक व्यक्तिको होइन, उसलाई मेरो कथाको सत्य बोल्न दिन्छु। राम्रा चरित्रहरू वास्तविकताबाट जन्मिन्छन्, तर कल्पनाद्वारा हुर्किन्छन्। लेखकले आख्यान लेख्दा समाजमा आफूले चिनेकोलाई राम्रोसँग बिर्सन सक्नुपर्छ र आख्यानमा चरित्रलाई आफैँ बाँच्न दिनुपर्छ।
म पात्रहरूलाई उनीहरूको परिवेशअनुसार फरक बनाउँछु। सहरको परिवेश र गाउँको परिवेश फरक पर्छ। एउटा धनी घरको परिवेशले बनाएको चरित्र र एउटा गरिब बस्तीको परिवेशले बनाएको चरित्रको दृष्टिकोण, भाषा र मूल्यहरू नै अलग हुन्छन्। जब पात्रहरूले आफ्नै परिवेश र तर्कअनुसार निर्णय लिन थाल्छन् र लेखकको नियन्त्रणबाट बाहिर निस्किन्छन्, तब मात्र तिनीहरू साँच्चै फरक र जीवन्त चरित्र बन्छन्।
हुन त मेरा सबै पात्रहरू मलाई अत्यन्त प्रिय छन्। हरेक पात्रको निर्माणमा धेरै मिहिनेत गरेकी छु। तर, गहिरो छाप पार्ने केही पात्र मात्र छान्नुपर्दा म तोदाकी पार्वती, रोशनी, इतिका वर्षा, जगते र परिधिकी आर्याको नाम अगाडि लिन्छु।
लेखकले आख्यान लेख्दा समाजमा आफूले चिनेकोलाई राम्रोसँग बिर्सन सक्नुपर्छ र आख्यानमा चरित्रलाई आफैँ बाँच्न दिनुपर्छ।
स्वतन्त्र भएर बाँच्न चाहने रोशनी पात्रको निर्माण गर्दा धेरै महिलाको दबिएको चाहना र विद्रोहको आवाजलाई एकै ठाउँमा जम्मा गरेकी थिएँ। ऊ यथार्थबाट जन्मिएकी होइन, तर यथार्थको विद्रोहबाट जन्मिएकी हो। इति उपन्यासकी वर्षा त मेरो बाल्यकालको प्रतिविम्ब जस्तै हो। उसको चुलबुले स्वभाव, निष्कपट जिज्ञासा र संसारलाई अँगालो हाल्ने तरिका मेरो आफ्नै बाल्यकालसँग जोडिएको छ। उसलाई लेख्दा म आफैँलाई फर्केर हेर्दै थिएँ। इति उपन्यासकै जगते मेरो सबैभन्दा प्रिय पात्रमध्ये एक हो। ग्रामीण, अपठित तर असीम परिश्रमी, इमानदार र साहसी यस भुइँमान्छेले नेपाली समाजको तल्लो तहको जीवन्त कथा बोकेको छ। जगते पात्रको निर्माण गर्दा गाउँका धेरै जगतेहरूको मिहिनेत, पीडा र सपनालाई एकै ठाउँमा राखेकी छु। परिधिकी अस्मिता मलाई निकै मन पर्छ। उनलाई निर्माण गर्दा मैले लैंगिक भूमिका, समाजले तोकेको ‘स्त्रीत्व’ र व्यक्तिगत मनोविज्ञानबीचको टकरावलाई खोतल्ने प्रयत्न गरेकी छु।
यी सबै पात्रलाई यथार्थको बीउबाट कल्पनाको माटोमा हुर्काएकी हुँ। तिनमा मेरो आफ्नै अनुभव, देखेका-भेटेका मानिस र समाजको यथार्थ मिसिएको छ। यी पात्र मलाई प्रिय लाग्नुको कारण हो— उनीहरूले मलाई बोल्न दिए, रोए, विद्रोह गरे र बाँचे।
यस्ता केही पात्र लेखकको टाउकामा लामो समय घर बनाएर बस्छन्। कहिलेकाहीँ बर्सौंसम्म। उनीहरूको मनोविज्ञान, अन्तर्विरोध, साना साना बानीहरू लेखकको चेतनाको तहसम्म पुग्छ। त्यसले गर्दा त्यस्तो पात्र लेखकद्वारा बनाइएको होइन, ‘बाँचेको’ जस्तो लाग्छ। उनीहरूले लेखकलाई अप्रत्याशित मोड दिन सक्छन्, कथालाई आफैँ डोर्याउन सक्छन् र पाठकको मनमा पनि लामो समय बस्न सक्छन्।
कहिलेकाहीँ यस्ता पात्रले लेखकको कल्पनालाई ‘हाइज्याक’ पनि गर्न सक्छन्। लेखक भावनात्मक रूपमा यति जोडिन्छ कि कथाको अन्त्य गर्न गाह्रो हुन्छ। निष्पक्ष रूपमा पात्रको कमजोरी देखाउन सकिँदैन। कहिलेकाहीँ लेखकको आफ्नै जीवनसँग यति धेरै मिसिन्छ कि पात्र कलात्मक होइन, आत्मकथात्मक बन्न थाल्छ।
एउटी नारीले अनुभव गर्ने संसार र पुरुषले भोग्ने संसारका भोगाइ फरक हुन्छन्। त्यसैले पुरुष पात्रका संवाद, निर्णय गर्ने शैली वा भावनात्मक अभिव्यक्ति कतै ‘नारी सुलभ’ वा सतही त भएनन् भनेर म निकै सचेत रहन्छु।
मेरो लेखनमा भोगाइ, अवलोकन र कल्पनाको मिश्रण छ, तर यिनको मात्रा कृतिअनुसार फरक पर्छ। नेपाली समाजको तल्लो तह, गाउँबस्तीका भुइँमान्छेहरूको जीवन, महिलाहरूको आन्तरिक द्वन्द्व, लैंगिक भूमिका, प्रेमको जटिलता यी सबै मैले लामो समयसम्म देखेँ, सुनेँ र महसुस गरेका कुरा हुन्। जस्तै– तोदाकी पार्वती, रोशनी, ‘सयौँ पुतली’ कथाकी सेती अर्थात् कर्किनी आमै, परिधिको बिम्ब र अभय सुन्दर आदि। आख्यानमा कल्पनाको हिस्सा महत्त्वपूर्ण र शक्तिशाली हुन्छ। अवलोकन र भोगाइले बीउ दिन्छन् भने कल्पनाले तिनलाई बिरुवा बनाउँछ। परिधिका पात्रहरू आर्या, अस्मिता, माया र योगमाया आदि निर्माणमा कल्पनाको मात्रा बढी छ। भोगाइ, कल्पना र अवलोकन यी तीनको सन्तुलनले नै राम्रो आख्यान बन्दछ भन्ने लाग्छ।
मैले स्वैरकल्पना शिल्प प्रयोग गरेर लेखेको भए पनि परिधि उपन्यास मूलतः समाजभित्रकै पात्र र परिवेशको कथा हो। उपन्यासमा घटनाक्रमहरू अकल्पनीय किसिमले या अपत्यारिलो किसिमले घटित भए जस्तो देखिए पनि हाम्रा वरिपरिका पात्रहरूकै भोगाइ र अनुभूति हो। परिधिमा मैले मानिसको मनभित्रको जटिलतालाई उजागर गर्ने प्रयास गरेकी छु। यो उपन्यासका पात्र तपाईं हामीले भोगिरहेको दुनियाँभन्दा पृथक् संसारमा बाँचिरहेको हुनाले मैले हरेक समय तिनीहरूको दुनियाँमा प्रवेश गरिरहनु जरुरी थियो।आफ्नै दुनियाँ र पात्रहरूको दुनियाँमा आउजाउ गरिरहँदा कहिलेकाहीँ आफू कहाँ छु भन्नेमा अलमल पर्थें। यो सिंगै उपन्यास ‘ह्यांगओभर’ कै उपज हो। तपाईंले यसकी प्रमुख पात्र आर्यालाई राम्ररी बुझ्ने प्रयास गर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ, म कुन हदसम्म ह्यांगओभरमा रहेँ भन्ने।
आख्यानमा लैंगिक आधिकारिकताको प्रश्न बहसको केन्द्रमै रहिआएको छ। मेरा लागि महिला र पुरुष चरित्र निर्माण गर्दा आधारभूत मानवीय संवेगहरू (डर, प्रेम, ईर्ष्या) उस्तै लागे पनि सामाजिक संरचनाले निर्माण गरेको उनीहरूको प्रतिक्रिया र व्यवहारमा भने ठूलो भिन्नता महसुस हुन्छ। पुरुष पात्रबारे लेख्दा उनीहरूको आन्तरिक मनोविज्ञान, संकोच र सामाजिक अपेक्षाको बोझ बुझ्न पक्कै पनि अतिरिक्त सोधखोज र अवलोकन आवश्यक पर्छ, किनकि एउटी नारीले अनुभव गर्ने संसार र पुरुषले भोग्ने संसारका भोगाइ फरक हुन्छन्। त्यसैले पुरुष पात्रका संवाद, निर्णय गर्ने शैली वा भावनात्मक अभिव्यक्ति कतै ‘नारी सुलभ’ वा सतही त भएनन् भनेर म निकै सचेत रहन्छु।
तोदादेखि परिधिसम्मको मेरो साहित्यिक यात्रामा पात्र निर्माणको शिल्प र बुझाइमा निकै परिवर्तन आएको छ। सुरुआती चरणमा तोदा लेख्दै गर्दा मेरा पात्रहरू प्रायः बाह्य सामाजिक यथार्थ र सतहमा देखिने द्वन्द्वबाट बढी निर्देशित थिए। तर, निरन्तरको लेखनले हालको परिधिसम्म आइपुग्दा मलाई लाग्छ– पात्रहरू अब कथा अगाडि बढाउने माध्यम मात्र होइनन्, ती लेखकका चेतना र कल्पनाका विशिष्ट उत्खनन हुन्। विशेषगरी, परिधिमा स्वैरकल्पनामार्फत पात्रहरूलाई भौतिक सीमाबाट मुक्त गरी उनीहरूको आन्तरिक मनोविज्ञान र मस्तिष्कले निर्माण गर्ने काल्पनिक संसारको गहिराइमा पुर्याउने प्रयास गरेकी छु।