अपराध
प्रहरी भन्छ– अपहरण र हत्यामा अनुसन्धान गर्न पुगेन प्रमाण
अपहरणपछि हत्या गरिएको भनिएकी बाँकेकी निर्मला कुर्मीको मृत्यु प्रकरण फेरि चर्चामा आएको छ। साढे पाँच वर्षदेखि रहस्यमा रहेको मृत्यु प्रकरणको मुद्दा अदालतमा लगेर निरूपण गर्न माग गर्दै अधिकारकर्मी रुबी खानले आमरण अनशन सुरु गरेपछि यो विषयले चर्चा पाएको हो।
खान १५ वैशाखदेखि आमरण अनशनमा छिन्। सुरुमा जिल्ला प्रशासन कार्यालय, बाँकेको प्रवेशद्वारछेउमा अनशन बसेकी खानको स्वास्थ्य बिग्रिएपछि नेपालगञ्जको सञ्जीवनी मेडिकल कलेज लगिएको छ। अस्पतालमा पनि उनको अनशन जारी छ।
२५ माघ २०७५ मा बेपत्ता भएकी निर्मलाको १४ पुस २०७७ मा मृत्यु भएको पुष्टि भएको थियो। निर्मलाको अपहरणपछि हत्या भएको र यसमा उनको सम्पत्ति हिनामिना जोडिएको भन्दै छानबिनको माग गरी खानलगायत अधिकारकर्मीले पटक पटक आन्दोलन गर्दै आएका छन्। उनीहरूले यस मुद्दालाई अदालती प्रक्रियामा लैजान प्रहरी-प्रशासनसँग माग गरिरहेका छन्। तर, मुद्दा अगाडि बढाउने कानुनी आधार र ठोस प्रमाण जुटाउन नसकेको प्रहरीको भनाइ छ।
२० चैत २०७७ मा महिला अधिकार मञ्च, बाँकेले निर्मलाको अपहरणपछि हत्या गरिएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको थियो। उक्त जाहेरी अझै विचाराधीन छ। जाहेरीमा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीसहित कृष्णमुरारि सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी, धीरेन्द्र सिंह, रमेश थापा र पार्वती विष्टको नाम छ। तर, प्रहरीले उनीहरूविरुद्धको कसुरमा प्रमाण नभएको भन्दै अनुसन्धान अगाडि बढाएको छैन।
निर्मलाको मृत्यु प्रकरणमा विगतमा भएका अनुसन्धान प्रतिवेदन पल्टाएर हेर्नेबाहेक प्रहरीले अर्को उपाय देखेको छैन। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी भन्छन्, “जाहेरीमा उल्लेख भएअनुसार अपहरण र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न प्रमाण पुग्दैन, मुद्दा स्थापित गर्न सकिँदैन।”

रुबी खान। तस्बिर सौजन्य : रुबी खान
जिसीका अनुसार निर्मला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँके र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले विगतमा अनुसन्धान गरेका थिए। सीआईबीको टोलीले समेत अपहरण र हत्यामा अनुसन्धान गर्न सक्ने कानुनी आधार नभेटेको उनी बताउँछन्। यद्यपि, ठगी र आपराधिक लाभको कसुरमा अनुसन्धान गर्न सकिने राय भने सीआईबीले दिएको थियो। उक्त कसुरमा मुद्दा चल्न सक्ने हद म्याद (एक वर्ष) नाघिसकेकाले आफू कानुनी परामर्शमा रहेको जिसी बताउँछन्। “हद म्याद नाघिसकेको ठगी तथा आपराधिक विश्वासघातको कसुरको अनुसन्धान कसरी गर्ने भनेर सरकारी वकिलसँग परामर्श भइरहेको छ,” उनी भन्छन्।
के हो निर्मला कुर्मी मृत्यु प्रकरण?
लामो समयदेखि रहस्यमा रहेको निर्मला मृत्यु प्रकरण बेलाबखत राष्ट्रिय बहस र चर्चाको केन्द्रमा आउने गर्छ। अधिकारकर्मी खानले आन्दोलन र अनशन सुरु गरेयता यस प्रकरण बहसको विषय बनिरहेको छ।
निर्मलाको न्यायका लागि धर्ना बस्दा खानलाई जरुरी पक्राउ पुर्जी दिएर समातिएको थियो। तर, प्रहरीले यसलाई अस्वीकार गरिरहेको छ। “सुरुमा रुबी शिक्षकमाथि कुटपिटको विषयमा शान्ति सुव्यवस्था खलल पार्न खोजेको कसुरमा १५ वैशाखमा पक्राउ पर्नुभएको हो, १७ वैशाखमा उहाँ प्रहरी हिरासतबाट मुक्त भएसँगै निर्मलाको न्यायका लागि भन्दै अनशन बस्नुभएको छ,” प्रहरी उपरीक्षक जिसी भन्छन्, “घटना जे-जसरी उठान भए पनि निर्मलाको मृत्यु प्रकरणको फाइल हामीले बन्द गरिसकेका छैनौँ। यस्ता घटनाको गुत्थी लामो समयपछि पत्ता लागेका उदाहरण पनि छन्।”
निर्मला नेपालगन्ज उपमहानगरपालिका-१७ की एकल महिला हुन्। २०६२ सालमा श्रीमान् महालु कुर्मीको मृत्यु भएको थियो। भारतमा जन्मेकी उनले महालुसँग विवाहपछि नेपालमा अंगीकृत नागरिकता लिएको देखिन्छ।
प्रहरीका अनुसार निर्मलाका दुई जना छोरा थिए। बुबा बितेको चार वर्षपछि कात्तिक २०६६ मा दुवै छोराको मृत्यु भएको थियो। १० दिनको फरकमा छोरा रामसागर र सुरेशको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। तर, कुनै रोग वा बिरामविनै दुवै जना १० दिनकै फरकमा लगालग बिते? त्यसबारे अनुसन्धान भएको छैन। उनीहरूको मृत्यु कुनै सरकारी अभिलेखमा नभेटिएको प्रहरीको दाबी छ।
श्रीमान् र दुवै छोराको मृत्युपछि विक्षिप्त निर्मला दुई वर्षसम्म बाँकेमै थिइन्। २०६८ सालमा भारत जगन्नाथपुरका अर्जुन कुर्मीसँग उनले दोस्रो विवाह गरेकी थिइन्। जग्गाजमिन नेपालमा रहेकाले उनी नेपाल-भारत आउजाउ गरिरहन्थिन्।
२५ माघ २०७५ को राति भने उनी एकाएक बेपत्ता भइन्। उनको मृत्युको पुष्टि १४ पुस २०७७ जगन्नाथपुरमै भएको जानकारी प्रहरीले अनुसन्धानका क्रममा पाएको हो। तर, मृत्युको कारण यकिन नगरी शव भारतमै अन्त्येष्टि गरिएको प्रहरीको भनाइ छ। “शवको पोस्टमार्टम नगरी अन्त्येष्टि गरिएको छ,” जिसी भन्छन्, “भारतमा मृत्यु भएको प्रकरणमा अपहरणपछि हत्या भएको भनी नेपालमा जाहेरी परेको देखिन्छ।”
भारतमा भएको घटनामा नेपाली व्यक्ति संलग्न रहेको किटानी जाहेरी आउँदा प्रहरीले दर्ता गरेन। सरकारी वकिलमा पीडित पक्ष पुगेपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो। जगन्नाथपुर आसपास रहेका भारत सरकारका कुनै निकायले पोस्टमार्टम गरेको कागजात दिन सकेन। बाँके प्रहरी अलमलमा पर्यो। यता, २०७८ सालमा असोज तेस्रो साता अधिकारकर्मी खानको नेतृत्वमा महिलाहरूको टोली नेपालगन्जबाट खाली खुट्टै हिँडेर काठमाडौँ आयो, माइतीघर मण्डलमा अनशन बस्यो। लामो समय अनशन बसेपछि २० पुस २०७८ मा गृह मन्त्रालयसँग वार्ता भयो। मन्त्रालयको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली फागुनमा बाँके पुग्यो।
अनुसन्धानमा भेटिएन प्रमाण
निर्मला कुर्मीको रहस्यमय मृत्युबारे अनुसन्धान गर्न सीआईबीका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) कमल थापाको नेतृत्वमा चारसदस्यीय टोली नेपालगन्ज गएको थियो। अनुसन्धान टोली भारतको जगन्नाथपुरसम्म पुग्यो। सीआईबी टोलीले समेत निर्मलाको अपहरणपछि हत्याको जाहेरीमा अनुसन्धान गर्ने कानुनी आधार भेटेन। निर्मलाको सम्पत्तिसँग जोडिएका विषयमा ‘षड्यन्त्र’ भएको हुन सक्नेबारे अनुसन्धान गर्न सकिने प्रतिवेदन जिल्ला प्रहरी कार्यालय, बाँकेमै बुझायो।
निर्मलासँग विवाह गर्ने अर्जुन भारतमा ज्याला-मजदुरी गर्छन्। प्रहरी अर्जुनलाई खोज्दै भारत पुगेको थियो। तर, उनीबाट कुनै ‘क्लु’ पाउन नसकेपछि फर्कियो।
विवाह गरेको एक वर्षभित्रै निर्मला २०६९ सालमा नेपाल आएको सीआईबीको अनुसन्धानले बताउँछ। त्यहीबेला उनका श्रीमान्को नाममा रहेको जग्गा-जमिन अर्कैको नाममा पास भएको देखिन्छ। सम्पत्तिसँग जोडिएको परिस्थिति र नामसारी भएका कागजातहरूका आधारमा अनुसन्धान टोली निर्मलाको मृत्यु आर्थिक कारणबाट भएको हो भन्नेमा विश्वस्त देखिन्छ। तर, यसलाई पुष्टि गर्ने बलियो प्रमाण प्रहरीले भेट्न सकेको छैन।
श्रीमान् बितेपछि निर्मलासँग पाँच बिघा जग्गा थियो। त्यसमध्ये दुई कट्ठा छिमेकी निजामुद्दिन दर्जी (इद्रिस)की श्रीमती जुबेदा दर्जी (इद्रिस)को नाममा पास भएको देखिन्छ। बाँकी चार बिघा आठ कट्ठा जग्गा व्यवसायी रमेश थापाकी श्रीमती रत्ना थापाको नाममा पास भएको देखिन्छ। “निर्मलाको नाममा आउने जग्गाको लोभमा उनलाई अपहरण गरेर हत्या गरियो भन्ने दाबी जाहेरीमा छ, तर कसुर स्थापित गर्न सक्ने आधार र प्रमाण छैन,” जिसी भन्छन्।
सीआईबी टोलीको प्रतिवेदन पाएपछि बाँके प्रहरीले निर्मलाको मृत्युको कागजात माग गरेको थियो। प्रहरी प्रधान कार्यालयले दूतावास हुँदै भारतलाई पत्राचार गरेको थियो। “तर, भारतबाट कुनै कागजात आएको छैन,” जिसी भन्छन्।
यो पनि पढ्नुहोस्