काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

रंगमञ्च

बाटैबाटो नाटक मात्रै थिएन, देशको अनुहार चिन्ने माध्यम थियो।

९ जेष्ठ २०८३
‘बाटैबाटो’ नाटकका कलाकारसँग निर्देशक सुदाम सीके। तस्बिर : कथा घेरा
अ+
अ-

बसपार्क? सडकछेउ कतै? पुलिस स्टेसन? चौतारो? कि अलि ठूलो आँगन भएको घरअगाडि? स्टेज कहाँ बनाउँदा ठिक हुन्छ?

बिजुलीको तार कता जोड्न मिल्छ? हजार जना दर्शक आए भने कता बस्छन्? बाटोलाई कत्तिको असर गर्छ? घाम चर्क्यो भने छाया पर्छ कि पर्दैन? पानी पर्‍यो भने के गर्ने?

माइकिङ गर्‍यो, स्टेज सफा गर्‍यो, अडियन्सलाई बस्ने व्यवस्था मिलायो, सारंगीको धुन कसरी अलि चर्को बनाउने? उपाय लगायो। ‘प्रप्स’ कता कता राख्ने? संगीतकारहरू कता कता बस्ने?

सबै तय भयो। दर्शक आए, अनि बाटैबाटो नाटक सुरु भयो–

तारा रारा रा रा रा, तारा रारा रा रा रा…

गत महिना कथा घेराले कर्णाली र सुदूरपश्चिमका ११ ठाउँमा यही नाटक देखायो। नाटकको रिहर्सलदेखि नै सामाजिक सञ्जालमा मान्छेहरूको चासो बढाइरहेको बाटैबाटोले सडकमा उत्रिएपछि हजारौँको ध्यान तान्न सफल भयो। यसमा प्रयोग भएका गीतहरू टिकटक, इन्स्टा र फेसबुकमा भाइरल भए। कथा घेराको फलोअर संख्या ह्वात्तै बढ्यो। महिला सशक्तीकरणको विषयमा बनाइएको यस नाटकले सामाजिक सञ्जालमा तहल्कै मच्चायो।

कथा घेराको नाटक।

बाटैबाटोको नाट्य यात्राका मुख्य सारथि थिए, निर्देशक तथा कलाकार सुदाम सीके। स्कुल पढ्ने बेला पोलियो थोपासम्बन्धी नाटकमा अभिनय गरेर गाविस डुलेका उनले साथीहरूदेखि शिक्षकशिक्षिकासम्मको मन जितेका थिए। महिला हिंसासम्बन्धी सडक नाटकमा कलाकारकै रूपमा पूर्व-पश्चिमका विभिन्न ठाउँ पुगेका थिए। निर्देशकका रूपमा बाटैबाटो उनको पहिलो सडक नाटक हो।

हामीले काठमाडौँमा हेर्ने सबैजसो नाटक ‘ब्ल्याक बक्स’ थिएटरमा हुन्छ। जहाँ एउटा ठूलो कोठा जस्तो ठाउँमा ठूला ठूला काला पर्दा झुन्ड्याएर, लाइट झुन्ड्याएर स्टेज बनाइएको हुन्छ। सँगै जोडिएर बसेका दर्शकहरूको ठाउँबाट नाटक हेरिन्छ। जहाँबाट स्टेज त देखिन्छ, तर ‘ब्याकस्टेज’ देखिँदैन। न त कलाकारले नै दर्शकलाई राम्रोसँग देख्न सक्छन्। दर्जनौँ नाटकमा अभिनय गर्नुका साथै उबुर उबुर टिक्की, लाइक लेट्स अभिनय गरौँ, ऐया माया, पाँच जस्ता नाटक निर्देशन गरिसकेका सुदामले रेड मनसुन, टलकजंग भर्सेस टुल्के, होस्टेल रिटर्न्स  जस्ता फिल्ममा अभिनय गरेका छन्। पछिल्लो समय फिल्ममा कास्टिङ डिरेक्टरका रूपमा समेत सक्रिय छन्। उनी कास्टिङ डिरेक्टर रहेको अविनाश विक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग’ले भर्खरै कान फिल्म महोत्सवमा ‘अन सर्टेन रिगार्ड’ तर्फ जुरी प्राइज अवार्ड जितेर इतिहास रचेको छ।

सडकमा कलाकारले अभिनय गरिरहेका बेला दर्शकदीर्घाबाट ठूलो आवाजमा यो त नाटक हो भन्दिन सक्छ। पात्र रिस उठ्दो छ भने कुनै दर्शकले कलाकारलाई नाटक गर्दागर्दै गाली गर्न पनि सक्छ। सडकमा एउटा कलाकारले मलाई ‘डिस्ट्र्याक्सन’ भयो भनेर गुनासो गर्ने ठाउँ पनि रहँदैन।

‘सडकमा कलाकार उठेर मञ्चमा आएको पनि दर्शकले देख्छ, पछाडि गएर बसेको पनि देख्छ,’ सडक नाटक दर्शकको नियन्त्रणमा हुने बताउँदै सुदाम आफ्नो पछिल्लो यात्राको अनुभव सुनाउँछन्, ‘हामीले बाटैबाटो नाटक थ्री साइड अडियन्स हुने गरी डिजाइन गरेका थियौँ। अछामको मंगलसेनमा हामीले दरबार परिसरमा डोरी बाँधेर स्टेज बनायौँ। नाटक सुरु भएपछि दर्शक बढेर संगीतकार बसेको साइडभन्दा पछाडि पनि भरिए, फोर साइड अडियन्स जस्तो भयो।’

ब्ल्याक बक्स वा ‘प्रोसिनियम थिएटर’ मा हामी प्रदर्शन भइरहेको नाटकमा तोकिएको शुल्क तिरेर, टिकट काटेर, तोकिएको समयमा हलभित्र छिर्छौं। मोबाइल अफ वा साइलेन्ट गर्न भनिएको हुन्छ, डेढ/दुई घण्टा हिँड्न, बोल्न रोक लगाइएको हुन्छ। स्टेज नाटकमा नाटकको डिजाइनअनुसार नियन्त्रण गर्न सकिने उनी बताउँछन्। सुदाम भन्छन्, ‘सडक नाटकमा अडियन्स जतिबेला आउन पनि सक्छ, जतिबेला जान पनि सक्छ। गाडी त्यहीँबाट कुदिरहेको हुन्छ, अर्को मान्छे त्यहीँ कराइरहेको हुन्छ, कोही फोनमा बोलिरहेको हुन्छ, कसैले भिडियो खिचिरहेको हुन्छ। सबैभन्दा अगाडि बसेर हेरिरहेको मान्छे बीचैमा उठेर गइदिन पनि सक्छ, तपाईं नजानुस् नाटक सक्केकै छैन भन्न मिल्दैन।’

सडकमा कलाकारले अभिनय गरिरहेका बेला दर्शकदीर्घाबाट ठूलो आवाजमा यो त नाटक हो भन्दिन सक्छ। पात्र रिस उठ्दो छ भने कुनै दर्शकले कलाकारलाई नाटक गर्दागर्दै गाली गर्न पनि सक्छ। सडकमा एउटा कलाकारले मलाई ‘डिस्ट्र्याक्सन’ भयो भनेर गुनासो गर्ने ठाउँ पनि नरहने उनी बताउँछन्।

‘स्टेज नाटक हाम्रो आफ्नो ठाउँ। जुन ठाउँसँग राम्रो चिनजान छ। लाइटले गर्दा, टाइमले गर्दा, धेरै कुरा हाम्रो नियन्त्रणमा हुन्छ। एउटा एक्टर एक्टर मात्रै भएर बस्न पाउँछ,’ सुदाम भन्छन्, ‘तर, बाहिर नाटक गर्दा अनाउन्स गर्नका लागि पनि रेडी हुनुपर्‍यो, धेरै हल्ला भयो भने हल्ला नगरिदिनुस् भन्न पनि तयार हुनुपर्‍यो। अडियन्सबाट तत्काल केही प्रतिक्रिया आयो भने त्यसलाई समेटेर नाटक अघि बढाउन पनि रेडी हुनुपर्‍यो। मान्छे कति छन्, कसरी बसेका छन् हेरेर सबैले सुन्ने गरी बोल्नुपर्‍यो। घाम लागिरहेको छ, पसिना आइरहेको छ, त्यो सबै कुरालाई इग्नोर गर्नुपर्‍यो।’

सडक नाटकमा कलाकारको मुड ‘पर्फर्मेटिभ’ हुनुपर्छ। एकदमै यथार्थपरक अभिनय गर्ने सोच भएको कलाकारका लागि सडक नाटक उपयुक्त ‘फर्म’ नहुन सक्छ। तर, सडक नाटकले ‘प्याटर्न ब्रेक’ गर्न, आत्मविश्वास ल्याउन भने सहयोग गर्ने उनको धारणा छ।

स्टेज प्लेमा कसले गरिरहेको हो? कस्तो नाटक हो? केको विषयमा हो भन्ने बारे दर्शकको जिज्ञासा हुन्छ। तर, सडकमा अधिकांश दर्शकलाई को हुन्? कहाँबाट आए? कता गए? त्यसको मतलब हुँदैन।

यथार्थवादी पात्रहरू राखेर पनि नहुने होइन, तर देखाउने, सुनाउने कुरा मुख्य भएकाले ‘लाउड’ हुनुपर्छ। त्यसले गर्दा यथार्थको मर्म मर्छ। उनले गरेको नयाँ अनुभव हो यो।

स्टेज नाटकमा कलाकारले अडियन्सलाई राम्रोसँग नदेखे पनि कतापट्टि हेरिरहेका छन् भनेर प्रस्ट थाहा पाउन सकिन्छ, तर सडकमा कहाँ कहाँबाट ककसले हेरिरहेको छ थाहा हुँदैन। कोही रुखमा चढेर हेरिरहेको छ, कोही पर बसको छतबाट, कोही बार्दलीबाट हेरिरहेका हुन्छन्।

स्टेजमा नाटक गर्दा एउटै ठाउँमा एउटै समयमा नियमित मञ्चन भइरहेको हुन्छ। विज्ञापन पनि त्यहीअनुसारले गरिन्छ। पोस्टर, दर्शक प्रतिक्रिया, पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जालमा आएका सामग्रीहरू हेरेर, साथी सर्कलको सिफारिसमा दर्शकले रोजेर नाटक हेरिरहेका हुन्छन्।

कथा घेरा समूहको सडक नाटक ‘बाटैबाटो’ प्रदर्शनका क्रममा।

सडक नाटक पनि दर्शकले नै छनोट गरेर हेर्न आउने हो, तर धेरै मान्छे के रहेछ हेर्दिम् न त, बस्दिम् न त भन्ने हिसाबले आइरहेका हुन्छन्। स्टेज नाटक सुरु भएको १० मिनेटपछि पुगेर नाटक हेर्छु भन्नुभयो भने पाउनुहुन्न। तर, सडक नाटकमा त्यो सुविधा छ। अन्तिमको सिन मात्रै भेट्नुभयो भने पनि हेर्न पाउनुहुन्छ। हेरिरहँदा मन नलागे छोडेर हिँड्न सकिन्छ। सुदाम भन्छन्, ‘स्टेज प्लेमा कसले गरिरहेको हो? कस्तो नाटक हो? केको विषयमा हो भन्ने बारे दर्शकको जिज्ञासा हुन्छ। तर, सडकमा अधिकांश दर्शकलाई को हुन्? कहाँबाट आए? कता गए? त्यसको मतलब हुँदैन।’

दर्शकलाई के देखाइरहेको छ, सन्देश के हो भन्नेसँग मात्रै मतलब हुँदैन। धेरै दर्शक मनोरञ्जनका लागि मात्र आउँछन्। हजार जना नाटक हेरिरहेका छन् भने कम्तीमा ५० जनाले नाटकको विषयवस्तु गम्भीर रूपमा सुने, मनन गरे भनेर आस गर्न सकिन्छ।

पछिल्लो यात्रामा धेरै बुढाबुढी, केटाकेटीले बाटैबाटो नाटक रमाइले मानेर हेरेको, तर उनीहरूलाई नाटकले उठाइरहेको मुद्दामा खासै चासो नभएको बताउँदै सुदाम भन्छन्, ‘हामी नाटक देखाउन गए पनि अर्को मान्छेलाई अर्कै कुराले उत्प्रेरित गरिरहेको हुन सक्छ। एक ठाउँमा नाटक सकिइसकेपछि केही दर्शक संगीतकार साथीहरूसँग कुरा गर्न आइरहेका थिए। कसैलाई संगीतकार बन्न मन हुन सक्छ। हाम्रै नाटकका कलाकार जेम्सलाई पनि धरानमा सडक नाटक देखेर मलाई पनि यस्तै अभिनय गर्नु छ भन्ने लागेको रहेछ। त्यस्तै, कति बच्चाहरूले यो नाटक हेरेर अभिनेता बन्ने सपना पनि देखेका हुन सक्छन्।’

दैलेख दुल्लुको मञ्चन सम्झिँदै सुदाम भन्छन्, ‘एक महिला स्टेजनजिकै बसेर नाटक हेरिरहनुभएको थियो। तर, लुकेर हेरे जस्तो, अप्ठ्यारो लागे जस्तो गरेर। कोही बच्चालाई दूध खुवाउँदै हेरिरहनुभएको थियो। भर्खरका युवतीहरू पनि थिए जो अलिकति खुल्न खोजिरहे जस्तो देखिन्थ्यो।’

सुदाम सीके। तस्बिर : सीकेको फेसबुक

नाटकमा महिला सशक्तीकरणको कुरा छ। उनीहरूले ती पात्रमा आफूलाई जोडेर हेरिरहेका थिए। महिला पात्र सफल भएको देख्दा उनीहरूको अनुहारमा खुसी झल्किन्थ्यो।

यी दृश्यले सुदामलाई रमाइलो लाग्यो र दुःखी पनि बनायो। नाटकमा सफलताको कथा छ, उत्सव छ। मान्छेहरूको यथार्थ अर्को छ। जुन उनले बनाएको नाटकभन्दा ठूलो छ। त्यसैले उनलाई सिकाउन जाने म को हुँ भन्ने प्रश्नले पनि पछाइरह्यो।

नाटक हेरेर दर्शक खुसी भइरहँदा उनीहरूले दैनिक जीवनमा झेलिरहेका समस्याबाट उठाउन आफूले केही गर्न नसक्ने वास्तविकताले यात्राभरि सताएको सुदाम बताउँछन्।

‘मान्छेहरू सपना देखिरहेका छन्, तर जीवन त्यसरी नै गइरहेको छ, जसरी जान्थ्यो। चाहना गर्दैमा परिवर्तन हुँदैन। कुनै कुनै ठाउँमा आफूलाई सानो अनुभव भयो। म यो के गरिरहेछु जस्तो पनि लाग्यो,’ उनी भन्छन्, ‘फेरि कुनै ठाउँमा ठिक छ, मैले गरिरहेको कामको महत्त्व छ, ६ महिनापछि कसैले त्यस नाटकमा यस्तो भन्याथ्यो भनेर कुरा गर्न सक्छ, कतिले साँच्चिकै आफ्नो सपना पछ्याउने बाटो भेट्न सक्छन्, हामीले गरेको कामले अलिकति भए पनि प्रभाव पार्न सक्छ भन्ने पनि लाग्यो। यात्राभरि म दुवै अनुभवबाट गुज्रिरहेँ।’

कथा घेराको बाटैबाटो प्रत्यक्ष र इन्टरनेटबाट लाखौँ दर्शकले हेरे। ती मानिसको दिमागमा नाटकको कस्तो चित्र बसेको छ, त्यसको प्रभाव कस्तो रहन्छ, त्यो हेर्न बाँकी छ।

एउटा नियमित चक्र बनाएर घुमिरहेको समाजलाई थोरै मात्र पनि दिशामा फेरबदल गर्न गाह्रो हुन्छ। महिला सशक्तीकरणका लागि राज्यले पनि विभिन्न अभियान तथा कार्यक्रम चलाइरहेको हुन्छ। जसले कहीँ काम गर्न सक्छ, कतै नगर्न पनि सक्छ। हेर्दा ठूलो परिवर्तन जस्तो लाग्ने कुरा एउटा सडक नाटकले सजिलै गर्न पनि सक्छ।

सुदाम भन्छन्, ‘मान्छेहरूले विकासे काम भन्छन्, हामीले निश्चय पनि पैसाकै लागि गरेको हो। तर आफूले गर्न खोजेकै काम पनि हो। यसलाई धेरै अर्थपूर्ण, अझ उद्देश्यपूर्ण, अझ गर्वलाग्दो कसरी बनाउने भन्नेमा मेरो ठूलो संघर्ष थियो।’

मैले बनाउन खोजेको नाटक हो त यो? गीत भाइरल भयो, तर नाटकले त्यस्तो प्रभाव पार्न सक्यो कि सकेन? अझै उत्तम बनाउन सकिन्थ्यो कि, म चुकेँ कि भन्ने प्रश्न सुदामले यात्रामा पनि आफूलाई सोधिरहे।

कथा घेराको बाटैबाटो प्रत्यक्ष र इन्टरनेटबाट लाखौँ दर्शकले हेरे। ती मानिसको दिमागमा नाटकको कस्तो चित्र बसेको छ, त्यसको प्रभाव कस्तो रहन्छ, त्यो हेर्न बाँकी छ। सुदामले पनि यो यात्राबाट केही दृश्य बोकेर आएका छन्।

वीरेन्द्रनगरमा लगभग २५ सय मान्छेको अगाडि नाटक मञ्चन भएको थियो। स्टेज अगाडि बस्ने, त्यो पछाडि उभिने, अझै पछाडि चौतारीबाट पनि उभिएर हेर्ने गरेर तीन तहमा दर्शक थिए। त्योबाहेक घरको छत छतबाट हेर्ने त सबै ठाउँमा हुन्थे। वीरेन्द्रनगरमा धेरै हल्ला भएर नाटक नै केहीबेर रोक्नुपरेको थियो।

महेन्द्रनगरमा नाटक सुरु गर्न लाग्दा ठूलो हावाहुरी आएको, छुन्छेमा बाटोमा नाटक देखाएको, भेरीको हावा, उत्खननको क्रममा रहेको ग्यासले त्यहाँका मान्छेमा ल्याएको उत्साह, कल्पनै गर्न नसकिने ठाउँमा बसिरहेका, बाँचिरहेका मान्छे, घरै बनाएर बसौँ जस्तो सल्यानको सल्लीबजार वारिपारिका उजाड डाँडाका दृश्य उनको दिमागमा बसिरहेका छन्।

सुदाम भन्छन्, ‘ती सबै दृश्यमा मेरो देशको भूगोल, मेरो समाजका मान्छे र उनीहरूका हर्षविस्मात अटाएका छन्। बाटैबाटो  म र कथाघेरा समूहका लागि नाटक मात्रै थिएन, आफ्नै देशको अनुहार चिन्ने माध्यम थियो।’

यो पनि पढ्नुहोस्…

रंगकर्मको माध्यमबाट नारीका मुद्दा उजागर गरेर समाजमा तारिफ र आलोचना दुवै खेपिरहेको कथा घेरा समूह

‘देवीभन्दा पहिला, मान्छे हुन् महिला’