अपराध
भिजिट भिसामा नेपाल आएर अवैध यौनधन्दामा विदेशी महिला संलग्न हुने गरेको प्रहरीको खुलासा
काठमाडौँको ठमेल क्षेत्रबाट ७ जेठमा प्रहरीले नौ विदेशी महिलालाई पक्राउ गर्यो। पर्यटकलाई रातको समयमा यौन क्रियाकलापका लागि जोड गरेको आरोपमा प्रहरी वृत्त, लैनचौरको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। २२ देखि ४२ वर्षका ती महिला भियतनाम, बाङ्लादेश र युगान्डाका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उनीहरू ‘भिजिट भिसा’ मा नेपाल आएका थिए। ९० दिनको भिसामा नेपाल आएका उनीहरू ठमेलमा ‘ग्याङ’ बनाएर बस्थे। रात परेपछि कोठाबाहिर निस्किन्थे।
अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालयले १० हजार रुपैयाँ जरिवाना तिराएपछि प्रहरीले उनीहरूलाई अध्यागमन विभाग पठायो। अध्यागमनले एक वर्षसम्म नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गर्यो।
भट्टराईका अनुसार प्रहरीले ‘निरीक्षण’ का क्रममा ती महिला पक्राउलाई गरेको थियो। “बाटो छेकीछेकी विदेशी र स्वदेशी पर्यटकसँग मोलमोलाइ गर्दै यौन क्रियाकलापका लागि जोड गरेको पाइएपछि पक्राउ गरेका हौँ,” भट्टराई भन्छन्, “ठमेल क्षेत्रमा यस्तो गतिविधि गर्ने स्वदेशी-विदेशी दुवै नागरिकलाई निगरानी गरिरहेका छौँ।”
ठमेल रात्रिकालीन जीवन, होटल, रेस्टुराँ, ट्राभल एजेन्सी, ट्रेकिङ व्यवसाय, क्लब, डान्सबार र हस्तकला पाइने पसलका कारण विदेशी र आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। ठमेल क्षेत्र चौबीसै घन्टा खुला हुने भएकाले रातको समयमा रेस्टुराँ, क्लब तथा डान्सबारमा मनोरञ्जन गर्ने, मदिरा पिउने र रमाइलो गर्न चाहनेहरूको पनि गन्तव्य बनेको छ। काठमाडौँ महानगरपालिकाका सुरक्षाकर्मीसमेतले रातको समयमा पहरा दिने ठमेलमा पछिल्लो समय विदेशी नागरिकको संलग्नतामा हुने अवैध गतिविधि देखिएपछि प्रहरीले निगरानी गरिरहेको छ।

त्यसै क्रममा प्रहरी र महानगरको संयुक्त टोलीले रेस्टुराँ, क्लब, डान्सबार र रातभर खुला रहने क्षेत्रमा अनुगमन गर्दा यौन क्रियाकलापकै लागि विदेशी महिला नेपाल आउने गरेको घटना सार्वजनिक भएको हो।
विदेशी महिला पक्राउ परेको यो पहिलो घटना होइन। १० चैत २०८२ को राति पनि प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको थियो। उनीहरू सबै युगान्डाका थिए। “निरीक्षण गर्दा ठमेल क्षेत्रमा विदेशी महिलाको संगठित टोली नै यौन व्यवसायमा संलग्न रहेको देखियो,” एसपी भट्टराई भन्छन्।
एक वर्षमा ३६ विदेशी पक्राउ, २४ जना डिपोर्ट
तीन महिनाअघि युगान्डाबाट भिजिट भिसामा आएकी एक महिलाले प्रहरीमा फोन गरेकी थिइन्। उनले प्रहरीसँग आफूलाई दुर्व्यवहार भएको गुनासो गरिन्। प्रहरीले महिलाको गुनासोबारे अनुसन्धान थाल्यो। यौनजन्य गतिविधिको प्रस्तावका क्रममा ती महिलाको पर्यटकसँग भनाभन परेको रहेछ।
आर्थिक संकट टार्न युगान्डाका महिला भिजिट भिजामा आएर ठमेलमा गैरकानुनी गतिविधि गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीको सम्पर्कमा आएकी तिनै महिलाले युगान्डाबाट अन्य महिलालाई काठमाडौँ बोलाएको प्रहरीको भनाइ छ। “डिपोर्ट गरिएका आठ जनालाई तिनै महिलाले नेपालमा सुरक्षित यौन क्रियाकलाप गरी अर्थोपार्जन गर्न सकिने रहेछ भनी लोभ्याएको पाइयो,” भट्टराई भन्छन्, “ठमेलमा उनीहरू प्राय: एउटै कोठामा बस्ने, रातिको समयमा यौन क्रियाकलापमा संलग्न हुने र त्यसबापत आर्थिक लाभ उठाउने गरेका रहेछन्।”
प्रहरीका अनुसार यस्तो क्रियाकलापमा संलग्न महिला अलग अलग देशका छन्। उनीहरूले आफ्नो छुट्टै समूह बनाएका छन्। चालु आर्थिक वर्षमा ३६ जना विदेशी महिला देहव्यापार गरेको आरोपमा पक्राउ परेका छन्। तीमध्ये सबैभन्दा धेरै युगान्डाका भेटिए। प्रहरीले युगान्डाबाट आएका २८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये २० जनालाई अध्यागमनले डिपोर्ट गरेको छ।
यस वर्ष प्रहरीले चार भियतनामी महिलालाई पक्राउ गरेको थियो। उनीहरूलाई पनि डिपोर्ट गरिएको छ। प्रहरीको विशेष निगरानी अभियानअन्तर्गत ठमेल क्षेत्रबाट दुई थाई र दुई बंगलादेशी महिला पनि पक्राउ परेका छन्।
नेपालमा मानव बेचबिखन, महिला शोषण, लागुऔषध कारोबार, हिंसा र संगठित अपराध हुने जोखिम मध्यनजर गरेर खुला यौन बजार ‘रेडलाइट एरिया’ तोकिएको छैन। त्यसैले व्यावसायिक रूपमा यौनजन्य गतिविधि सञ्चालन गर्ने वा त्यस्तो व्यवसायमा संलग्न गराउनेलाई मानव बेचबिखन कसुरअनुसार प्रहरीले पक्राउ गर्ने गरेको छ। ठमेल, दरबारमार्ग, केही डान्सबार केन्द्रित इलाका वा सीमावर्ती बजारमा बेलाबेला यौन व्यवसाय, मानव तस्करी तथा विदेशी नागरिक संलग्न अवैध गतिविधिका घटना सार्वजनिक हुने गरेका छन्।
प्रहरीको निगरानीमा स्पा र मसाज सेन्टर
सन् १९७० को दशकपछि नेपाल आउने पर्यटकहरूको केन्द्रका रूपमा विकसित ठमेलमा पर्यटन व्यवसाय जारी छ। जहाँ विश्वका विभिन्न मुलुकका पर्यटक चौबीसै घन्टा देखिन्छन्। साँघुरा गल्ली, रंगीन बत्ती, संगीतले भरिएका क्लब, क्याफे र बहुभाषिक साइनबोर्डहरूले ठमेललाई अन्य क्षेत्रभन्दा फरक पहिचान दिएका छन्। ठमेल मनोरञ्जनको केन्द्रका साथै पर्यटनमार्फत अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र बनेको छ। ट्रेकिङ कम्पनी, मुद्रा सटही, ट्राभल एजेन्सी, पर्वतारोहण सामग्री पसल, होटल र यातायात सेवामार्फत हजारौँ मानिसको रोजगारी यस क्षेत्रसँग गाँसिएको छ। अन्नपूर्ण, एभरेस्ट र लाङटाङ क्षेत्रमा जाने विदेशी पर्यटकहरूको ‘बेस हब’ ठमेल मानिन्छ।
तर, रात्रिकालीन गतिविधि र खुला वातावरणका कारण आपराधिक गतिविधिसँग जोडिएर ठमेल समय समयमा विवादमा आउने गरेको छ। अवैध लागुऔषध कारोबार, अनधिकृत मुद्रा कारोबार, यौन व्यवसाय, विदेशी नागरिकको भिसा दुरुपयोग, ठगी तथा रात्रीकालीन झगडा जस्ता घटना हुने भएकाले ठमेलमा प्रहरीको निगरानी रहने गरेको छ। “यस्ता ठाउँमा सादा पोसाकका प्रहरी खटिएका छन्, यौनजन्य गतिविधि भएको पाइए पक्राउ गरी कारबाही गर्छौं,” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्का भन्छन्।
ठमेलमा विदेशी मात्रै नभएर स्वदेशी महिलाहरूले समेत यौन व्यवसाय सञ्चालन गर्ने गरेको गुनासो बेलाबेला आउने गरेको छ। ग्राहकको खोजीमा महिलाहरू देखिने र मोलमोलाइ मिले ग्राहकलाई होटलमा लैजाने गरेको गुनासो प्रहरीसमक्ष पुग्ने गरेको छ। सहमतिमा बाहेक व्यवसायका रूपमा हुने यस्ता यौन क्रियाकलापलाई निरुत्साहित गर्ने गरेको प्रहरीको दाबी छ।
राजधानीका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा स्पा तथा मसाज सेन्टरमा यौन व्यवसाय हुने गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले २० वैशाखमा छापा मारेको थियो। यसक्रममा २४० महिला र १८ पुरुष गरी २५८ जना पक्राउ परेका थिए। तर, यौन व्यवसाय गरेको स्पष्ट प्रमाण फेला परेन। “मापदण्डअनुसार नभएको, जबरजस्ती मानिसहरूलाई स्पामा छिराउने गरेको भेटिएको थियो,” कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्का भन्छन्, “छरछिमेकमा समेत लाज हुने गरी अशिष्ट शैलीमा व्यवसाय गरेको पाइयो।” तीमध्ये काठमाडौँ र ललितपुरका ३० स्पाका ३० जना सञ्चालकलाई प्रहरीले सार्वजनिक शान्ति व्यवस्थामा खलल पुर्याएको कसुर आकर्षित गरी मुद्दा चलाएको थियो।