काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार, आज परीक्षण गरिएको यो व्यवस्था ६ असोजबाट लागू हुनेछ। तर, भोलि घटस्थापनामा सार्वजनिक बिदा भएको कारण बजार बन्द रहनेछ।
गत चैत ७ गतेदेखि लागु भएको अन्तिम १५ मिनेटको भारित औसत विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले विरोध गरेका थिए। अब सूचकहरू अन्तिम कारोबार मूल्यकै आधारमा गणना हुनेछन्।
यसअघि २:४५ बजेदेखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो। यस क्रममा त्रुटि देखिएको र नेप्सेको प्रविधि पूर्ण अटोमेटेड नहुँदा ब्रोकर र लगानीकर्ताबाट यसको सुधार माग भइरहेको थियो।
