काठमाडौँ। वेस्ट इन्डिजसँगको युनिटी कप टी ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीले अन्तत: संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ। तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म हुने तय छ।
प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार यूएई जाने कार्यक्रम थियो। त्यसैका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार त्रिवि क्रिकेट मैदानमा टोलीको बिदाइसमेत गरेको थियो। तर, यूएईले भिसा दिन अस्वीकार गरेको थियो। लगत्तै क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र यूएई सरकार गुहारेको थियो। योसँगै आइतबार मात्रै भिसा आएको क्यानले जनाएको छ।
टोली सोमबार नै त्यसतर्फ प्रस्थान गर्नेछ। शृंखलाका लागि दुवै टीमले अन्तिम टोली घोषणा गरिसकेका छन्।