व्यक्ति

हिजो सरकारी विद्यालयको कक्षाकोठामा ‘अंग्रेजी’ शब्दले झस्काउने तिनै अस्मिता क्षेत्री (गोदार) आज चितवन राष्ट्रिय निकुञ्जको घना जंगलमा विदेशी पर्यटकलाई ‘लिड’ गर्छिन्।

२३ जेष्ठ २०८३
पर्यटकसँग अस्मिता क्षेत्री। फोटोहरू : अस्मिता क्षेत्री
अ+
अ-

राप्ती नदीको शान्त बहाव, किनारमै घाम ताप्दै गरेका घडियाल र मगर गोहीहरू। नदी किनारमा सुस्ताइरहेको एकसिंगे गैँडा, चराहरूको चिरबिर र विभिन्न वन्यजन्तुको पदचाप। चितवन राष्ट्रिय निकुञ्ज जंगल र आसपास यी र यस्तै प्रकृतिको रहस्यमय सुगन्धमा हुर्किएकी सानी केटीले कहिल्यै सोचेकी थिइनन् कि एकदिन त्यही जंगल उसको पहिचान बन्नेछ। हिजो सरकारी विद्यालयको कक्षाकोठामा ‘अंग्रेजी’ शब्दले झस्काउने तिनै अस्मिता क्षेत्री (गोदार) आज चितवन राष्ट्रिय निकुञ्जको घना जंगलमा विदेशी पर्यटकलाई ‘लिड’ गर्छिन्।

उनलाई अहिले धेरैले अस्मिता भनेर चिन्दैनन्, उनी त पर्यटकहरूले प्रेमले दिएको नाम ‘जंगल क्विन’ बाट परिचित छिन्। एकदिन राप्ती किनारकै छेउ बद्रेनीमा उनै जंगल क्विनलाई मैले सुनिरहेँ। कुरैकुराको बीचमा उनी हातमा रहेको दूरबिन निकालेर एक निमेष यिनै वन्यजन्तु नियाल्थिन्। अनि तिनैका पदचापहरूलाई केलाउँदै रहनसहन र आहारविहारबारे वर्णन गर्न थाल्थिन्। यस्तो लाग्थ्यो– उनको भावभंगी प्रकृतिमै मिसिएको छ, प्रकृति उनीमै मिसिएको छ।

डरलाई चिरेर पलाएको आत्मविश्वास

अस्मिताको बाल्यकाल सौराहाकै माटोमा बित्यो। घरनजिकै रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती चढ्न र वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको ताँती लाग्थ्यो। नजिकैबाट हरेक दिनजसो यस्ता दृश्य नियालिरहन्थिन् उनी। उनको मनमा पनि कता कता पर्यटकहरू घुमाउने नेचर गाइड बन्ने सपना अंकुराउन थालेको थियो। तर, पर्यटकसँग गाइडले फरर अंग्रेजी बोलेको देख्दा उनलाई लाग्थ्यो– यो काम मेरा लागि होइन। “सरकारी स्कुलमा पढेकी मलाई ५ कक्षामा पुगेपछि मात्र माई नेम इज अस्मिता भन्न आएको हो,” विगत सम्झिँदै  उनी भन्छिन्, “गाइड बन्न त एकदमै ट्यालेन्ट हुनुपर्छ, इङ्लिस त कति धेरै जान्नुपर्छ होला भन्ने डरले मलाई सधैँ सताउँथ्यो।”

१२ कक्षाको पढाइ सकिएपछि एउटा यस्तो अवसर आयो जसले उनको सपना पछ्याउन सहयोग पुर्‍यायो। नेदरल्यान्ड्सको एउटा समूहले महिलाहरूलाई नेचर गाइडको तालिम दिने भयो। मनमा दोधार थियो— केटीमान्छे भएर जंगल जान सकिएला र?  तर, उनले आँट गरिन्। सुरुसुरुमा विदेशी गेस्टको उच्चारण नबुझेर टाउको मात्र हल्लाउने अस्मिताले बिस्तारै बुझिन् कि भाषा त केवल माध्यम रहेछ। “जब शब्दले काम गर्दैन, हार्ट कनेक्सन सुरु हुन्छ,” उनी भन्छिन्, “सुरुसुरुमा मैले इसाराले बुझाउँदा पनि गेस्टहरूले प्रकृतिलाई महसुस गर्थे, त्यसैले नै मलाई सिकायो– डरलाई फेस गरेपछि मात्रै सफलता पाइँदो रहेछ। ”

नेचर गाइडको पेसा जति लोभलाग्दो देखिन्छ, उत्तिकै जोखिमपूर्ण पनि छ। अस्मिताले थुप्रै पटक जंगलमा विभिन्न डरलाग्दा वन्यजन्तुसँग जम्काभेट गरेकी छिन्। दुई वर्षअघि निकुञ्जकै शंखरघाटनजिकै भएको घटना उनको मानसपटलमा ताजै छ।

दुई विदेशी पर्यटकलाई लिएर उनी ‘जंगल वाक’ मा थिइन्। साँझको ६ बज्न लागेको थियो। अचानक अगाडि एउटा पाटे बाघ देखियो। आफूसँगै भएका पर्यटकका अनुहारको भय उनले पढ्न भ्याइसकेकी थिइन्। उनी भने नआत्तिई परिस्थिति सम्हालिन्। “त्यो बेला हामी डराएर भागेको भए बाघले पक्कै आक्रमण गर्थ्यो,” उनी भयमिश्रित क्षण सम्झिन्छिन्, “हामीले बाघको आँखामा आँखा जुधायौँ र शान्त बस्यौँ। बाघ बिरालो जसरी चार वटा खुट्टा खुम्च्याएर बस्यो र केही बेरपछि आफैँ बाटो लाग्यो।” यस्ता अनगिन्ती अनुभवले उनलाई उनलाई प्रकृतिसँग अझ नजिक बनायो। जंगलमा जनावरको चाल र व्यवहार बुझ्नु नै सबैभन्दा ठूलो सुरक्षा रहेको उनको ठम्याइ छ।

जंगल क्विनको परिचय

जंगल क्विन भने उनी आफैँले राखेको नाम होइन। यो त उनले कमाएको सम्मान हो। “तन्दुरुस्त र हट्टाकट्टा विदेशी पर्यटकहरूलाई पछाडि लगाएर म जंगलको अगाडि हिँड्दा उनीहरू मेरो साहस देखेर छक्क पर्थे,” उनी मुस्कुराउँदै भन्छिन्, “उनीहरूले नै भन्थे– यु आर द जंगल क्विन!” पछि धेरै पर्यटकको मुखबाट यही शब्द दोहोरिन थालेपछि उनले सामाजिक सञ्जालमा समेत यही नाम राखिन्। अहिले उनलाई धेरैले यही नामले चिन्छन्, कर्मले पाएको नाममा उनी खुसी र सन्तुष्ट दुवै छिन्।

नेपाली समाजमा केटीले जंगलमा के काम गर्न सक्छन् र भन्ने सोच अझै बाँकी छ। कतिपयले त सुरुमा उनीहरूलाई केही दिनको रहर मेटाउन आएका भनेरसमेत होच्याउँथे। तर, अस्मिता र उनी जस्तै सक्रिय महिला गाइडहरूले यो भ्रम चिरेका छन्।

अस्मिता अहिले नेचर गाइडको काममा तल्लीन हुँदै गर्दा जंगलसँगको साक्षात्कारलाई फोटो र भिडिओमा उतार्न पनि उत्तिकै रुचि राख्छिन्। हरेक दिन यिनै फोटो-भिडियोबाट सौराहाको पर्यटन माहोलबारे जानकारी गराइराख्छिन्। प्रायजसो ‘फ्रिलान्स’ का रूपमा काम गर्ने उनलाई सामाजिक सञ्जालले व्यवसाय प्रवर्द्धनमा पनि मद्दत गरेको छ।

यससँगै उनी वन्यजन्तु, चराचुरुंगी र पुतलीहरूको रहनसहन, आहारविहारबारे पनि चाख लिएर अध्ययन गर्छिन्। बर्ड एजुकेसन सोसाइटीको सदस्यका रूपमा उनी प्रकृतिको संरक्षणमा पनि उत्तिकै सक्रिय छिन्। “प्रकृति मेरा लागि सबै थोक हो। यसैले मलाई आत्मविश्वास दियो, मान्छेसँग बोल्न सिकायो र आर्थिक रूपमा सबल बनायो,” उनी भन्छिन्।

अस्मिता आफ्नो यात्रा सौराहाको जंगलमा मात्र सीमित राख्न चाहँदिनन्। नयाँ ठाउँ जर्बजस्त तरिकाले घुम्ने, बाहिरी दुनियाँ ‘एक्स्प्लोर गर्ने उनको सपना छ। उनी भन्छिन्, “मलाई हेरेर अरू महिलाहरू पनि अगाडि बढून्। जिन्दगी एउटा कोठा वा एउटा सीमित घेरामा मात्र बिताउनु छैन। यो त प्रकृति जस्तै फराकिलो र सुन्दर छ। आफ्नो क्षितिजलाई फराकिलो बनाउनुपर्छ।”