काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

बेथिति

आफ्नो स्वामित्वमा रहेको जग्गामा अन्य संस्थाले व्यावसायिक संरचना बनाएर भाडा उठाइरहँदा कोसी अस्पताल चाहिँ पूर्वाधार विस्तारका लागि जग्गा अभाव झेल्दै

५ असार २०८३
कोसी अस्पतालको जग्गामा बनेका विभिन्न संस्थाका भवन, पृष्ठभूमिमा अस्पताल। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत २० जेठमा कोसी अस्पतालसहित संघीय सरकार मातहतका ३१ अस्पताललाई ताकेता पत्र पठायो। पत्रको सार थियो– अस्पतालको स्वामित्वमा रहेको जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तत्काल काम अघि बढाई तीन दिनभित्र प्रतिवेदन पठाउनू।

ताकेतापछि प्रदेशकै ठूलो स्वास्थ्य संस्था कोसी अस्पतालको जग्गा अतिक्रमणबारे फाइल फेरि खुलेको छ। अस्पतालको नाममा विराटनगर-७ (साबिक विराटनगर-१०)मा रहेको कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ मा फैलिएको जग्गाको सडकसँग जोडिएको भाग अहिले विभिन्न संस्था र समितिले उपयोग गरिरहेका छन्।

नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले उक्त जग्गामा संरचना बनाएका छन्। अस्पताल प्रशासनका अनुसार उनीहरूले व्यावसायिक भवन बनाएर अस्पतालबाट करिब १३०.३ मिटर सडक मोहडाका ३० भन्दा सटरबाट भाडा लिइरहेका छन्।

नेपाल रेडक्रस सोसाइटीले बनाएको संरचना।

मन्त्रालयको निर्देशनपछि कोसी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले जग्गा खोजबिनका लागि शाखा अधिकृत त्रिलोचन न्यौपानेको संयोजकत्वमा विशेष समिति गठन गरे। नापी र मालपोतका अमिनसहितको टोलीले अस्पतालको स्रेस्ताअनुसार सिमाना यकिन गरेको छ। अस्पताल प्रशासनले विस्तृत प्रतिवेदन मन्त्रालयमा पठाइसकेको छ।

अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेल भन्छन्, “हामीले दुई दिन लगाएर सीमांकनको काम सकी मन्त्रालयमा प्रतिवेदन बुझाएका छौँ। अब मन्त्रालयको निर्देशन र स्थानीय प्रशासनको समन्वयमा संरचना हटाउने प्रक्रिया अघि बढ्नेछ।”

कसले कति भाडा उठाउँछन्?

अस्पताल प्रशासनले २०८० सालमा गरेको आन्तरिक अध्ययनअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा आठ धुर जग्गा ओगटेको अस्पतालको दाबी छ। त्यहाँ बनेका सटरबाट मासिक दुई लाख रुपैयाँ हाराहारी भाडा उठ्ने गरेको अध्ययनमा उल्लेख छ।

अस्पतालदेखि दक्षिण, हस्पिटल चोकमा रहेको गणेश मन्दिर समितिले दुई कट्ठा जग्गा ओगटेको प्रशासनको भनाइ छ। समितिले मन्दिरसँगै सटर बनाएर मासिक करिब एक लाख ६० हजार रुपैयाँ भाडा उठाउँदै आएको पाइएको छ।

हस्पिटल चोकअगाडि अस्पतालको जग्गामा गणेश मन्दिर समितिले बनाएका व्यापारिक संरचना।

नेपाल रेडक्रस सोसाइटीको पनि दुई कट्ठाभन्दा बढी जग्गामा संरचना छ। उसले राष्ट्रिय वाणिज्य बैंकलाई भवन भाडामा लगाएर मासिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको अस्पतालको अध्ययनले देखाएको छ।

देवकोटा पुस्तकालयले दुई कट्ठा १० धुर जग्गामा संरचना बनाएको छ। पुस्तकालयले पनि व्यापारिक प्रयोजनका लागि सटर भाडामा दिएको अस्पताल प्रशासनको दाबी छ।

कोसी अस्पतालको नाममा रहेको जग्गाधनी प्रमाणपुर्जा।

यी संस्था र समितिले अस्पतालको जग्गाबाट आम्दानी गरिरहेका बेला कोसी अस्पताल भने पूर्वाधार विस्तारका लागि जग्गा अभावको दबाबमा छ। यस क्षेत्रमा संरचना बनाउनेमध्ये नेपाल क्षयरोग निवारण संस्था सबैभन्दा पुरानो हो। उसले २०१६ सालमै भवन बनाएको थियो। तर, समयसँगै सामाजिक सेवाका नाममा बनेका संरचना व्यापारिक प्रयोजनमा प्रयोग हुन थालेपछि अस्पतालको विकासमा बाधा पुगेको अस्पताल प्रशासनको भनाइ छ।

अस्पतालका अनुसार कुल १५६ मिटर सडक मोहडामध्ये बनसखण्डी मन्दिरको १६ मिटर र नर्सिङ क्याम्पसको ९.५ मिटरबाहेक अरू कुनै पनि संस्था वा समितिको नाममा जग्गाको स्रेस्ता छैन।

अस्पतालले जग्गा उपभोग गर्न नपाए पनि वर्षौंदेखि त्यसको राजस्व भने तिरिरहेको छ।

अस्पतालले राजस्व तिरेको रसिद।

जनसम्पर्क अधिकारी लुइँटेलका अनुसार २०७६ सालदेखि २०८३ असारसम्मको १० लाख ५७ हजार ८६० रुपैयाँ राजस्व अस्पतालले सरकारी ढुकुटीमा जम्मा गरिसकेको छ।

अस्पतालका पूर्व मेसु चौधरी स्वामित्व स्पष्ट हुँदाहुँदै शक्ति र पहुँचका आधारमा जग्गा खाली गर्न अटेर गरिएको बताउँछन्। अस्पतालको जग्गामा संरचना बनाएर भाडा उठाउनु कानुनविपरीत भएको उनको भनाइ छ। उनी भन्छन्, “त्यो जग्गा अस्पतालको हो। पटक पटक ताकेता गर्दा विवाद सिर्जना गरियो। तर, यसपटक हामी पछि हट्नेछैनौँ।”

जग्गा खाली गर्न १५ दिने सूचना

विराटनगरस्थित कोसी अस्पतालले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरी बनाएका स्थायी संरचना १५ दिनभित्र हटाई जग्गा खाली गर्न ५ असारमा सूचना जारी गरेको छ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा १५ दिनभित्र अतिक्रमित जग्गा खाली नगरिए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताउँछन्।

अस्पतालले जग्गा खाली गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल क्षयरोग निवारण संस्थाले भने विकल्प नदिएसम्म हट्न नसक्ने बताएको छ। संस्थाका सचिव भविस श्रेष्ठका अनुसार संस्थाले २०१६ सालदेखि त्यही ठाउँबाट क्षयरोगीको सेवा गर्दै आएको छ। “हामी २०१६ सालदेखि यहाँ बसेर बिरामीको सेवा गरिरहेका छौँ,” श्रेष्ठ भन्छन्, “अहिले पनि दैनिक १८ जना क्षयरोगी भर्ना भएर निःशुल्क उपचार पाइरहेका छन्, दैनिक एक सय जना बिरामी ओपीडीमा आउँछन्। सरकारले अन्यत्र जग्गा उपलब्ध नगराएसम्म हामी यो ठाउँ छाड्न सक्ने अवस्थामा छैनौँ।”

अमिन लगाएर अतिक्रमित जग्गाको सिमाना यकिन गराउँदै कोसी अस्पताल प्रशासन।

देवकोटा पुस्तकालयका सभापति सुबोध निरौलाका अनुसार पुस्तकालय पनि २०१६ सालदेखि नै सोही स्थानमा छ। “जुन विशुद्ध अध्ययनका लागि खोलिएको हो,” उनी भन्छन्, “अहिलेसम्म हामीलाई कुनै पनि सरकारी निकायबाट यसबारे हटाउने वा खाली गर्ने पत्राचार भएको छैन। पुस्तकालय रहेको भवन दुई कठ्ठाभन्दा बढी जग्गामा सात वटा सटर छन्, त्यसैको भाडाबाट आउने आम्दानीले पुस्तकालयको खर्च धान्दै आएका छौँ।”

अस्पताललाई जग्गा अभाव

कोसी अस्पताल अहिले रूपान्तरणको चरणमा छ। संघीय सरकारको अर्बौं लगानीमा ५०० शय्याको मेडिकल भवन र ३०० शय्याको बहुविशेषज्ञता सेवा भवन निर्माणाधीन छन्। संरचना सञ्चालन र विस्तारका लागि अस्पताललाई थप जग्गा आवश्यक परेको छ। दैनिक एक हजार ८०० सयसम्म बिरामी पुग्ने अस्पतालमा जग्गा अभावकै कारण कतिपय अत्यावश्यक सेवा विस्तार गर्न नसकिएको प्रशासनको गुनासो छ।

अस्पताल विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकी अन्य संस्थाले उपभोग गरिरहेको जग्गा फिर्ता ल्याउने प्रयास २०७६ सालदेखि नै सुरु भएको बताउँछन्।“मैले त्यतिबेलैदेखि यो अभियान चलाएको थिएँ, तर पहुँचवालाहरूको दबाबका कारण फाइल अघि बढ्न सकेको थिएन,” बुढाथोकी भन्छन्, “अहिले मन्त्रालयकै सक्रियतामा नापजाँचको काम सकिएको छ। अब प्रशासनले खुट्टा कमाउनु हुँदैन।”