खेल

भनिन्छ, रेफ्री भनेकै जस नपाउने पेसा हो। जारी विश्वकपका अहिलेसम्मका खेल हेर्दा लाग्छ- यो भनाइ मात्र होइन, सत्य हो।

१३ असार २०८३
अर्जेन्टिनाका लियोनेल मेस्सी र अल्जेरियाका एइसा मान्डी। तस्बिर : रोयटर्स
अ+
अ-

कम्तीमा अफ्रिकी राष्ट्र घाना विश्वकपको समूह ‘एल’ मा शीर्षस्थानमा रहने पक्का थियो। त्यति मात्र होइन, आइतबार क्रोएसियाविरुद्धको अन्तिम समूह खेलअघि नै उसले नकआउट चरणको टिकट सुरक्षित गरिसकेको हुने थियो।

तर‚ वास्तविकता फरक छ। घाना अहिले पनि समूहको दोस्रो स्थानमै सीमित छ। अझ उसको विश्वकप यात्राको भविष्यसमेत अनिश्चित छ।

अब क्रोएसियासँगको अन्तिम भिडन्तपछि मात्र घाना अन्तिम १६ मा पुग्ने वा समूह चरणबाटै बाहिरिने भन्ने टुंगो लाग्नेछ। घानाको नजरमा यस परिस्थितिको एउटै कारण छ, रेफ्री क्रिस्टिना अनकेलको निर्णय।

बोस्टन स्टेडियममा बुधबार बिहान भएको खेलमा घानाले सन् १९६६ को विश्वविजेता इङ्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्यो। २९ मार्च २०११ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलयता पहिलोपटक आमनेसामने भएको खेलमा इङ्ल्यान्डले बल बढी नियन्त्रणमा राखे पनि घानाले उसलाई गोल गर्ने कुनै अवसर दिएन।

घानाका प्रिन्स क्वाबेना अडु र इंगल्यान्डका एज्री कोन्सा बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर : रोयटर्स

बराबरीको नतिजा घानाका लागि सन्तोषजनक देखिए पनि रेफ्रीको निर्णयप्रति भने असन्तुष्ट छ। घानाको दाबी छ– उसले एक अंक मात्र होइन, दुई थप अंक गुमाएको छ। त्यसको कारण रेफ्री क्रिस्टिना अनकेलको विवादास्पद निर्णयलाई मानिरहेको छ।

खेलपछि पत्रकार सम्मेलनमा घानाका मुख्य प्रशिक्षक कार्लोस क्वेइरोजले आफ्नो असन्तुष्टि लुकाएनन्। “घानाले पाउनुपर्ने स्पष्ट पेनाल्टी दिइएन। इङ्ल्यान्डविरुद्ध त्यो शतप्रतिशत पेनाल्टी थियो, तर रेफ्रीको सिटी बजेन। कहिलेकाहीँ त विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) अझै सञ्चालनमा छ कि छैन भन्ने शंका लाग्छ!” उनले व्यंग्य गरे।

क्वेइरोजको आक्रोशको सुरुआत खेलको ६६औँ मिनेटबाट भएको थियो। उक्त समयमा इङ्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्ड र घानाका फरवार्ड प्रिन्स क्वाबेना अडु एकअर्कासँग ठोक्किएका थिए। त्यस घटनामा पिकफोर्डलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाउनुपर्ने घानाली प्रशिक्षकको जिकिर थियो।

प्रिन्स अडुसँग एज्री कोन्सा बल खोस्दै। तस्बिर : रोयटर्स

त्यस्तै, खेल सकिन १२ मिनेट बाँकी रहँदा अर्को विवादास्पद क्षण देखियो। इङ्ल्यान्डका डिफेन्डर एज्री कोन्साले पेनाल्टी क्षेत्रभित्र अडुलाई ‘ट्याकल’ गर्दै लडाए। क्वेइरोजका अनुसार कोन्साले बलमा स्पष्ट नियन्त्रण जमाउन नसकेकाले त्यो घटना पेनाल्टी मात्र नभई रातो कार्डको पनि हकदार थियो। तर, अनकेलले कुनै निर्णय नै दिइनन्।

“यी विषयमा खुलेर बोल्दा मलाई सजाय हुन सक्छ,” क्वेइरोज भन्छन्, “तर‚ पिकफोर्डलाई मैदानबाट बाहिर पठाइनुपर्थ्यो। त्यसमा कुनै शंका छैन। अनि अडुविरुद्धको फाउल त स्पष्ट पेनाल्टी थियो। त्यस्ता निर्णयले खेलको नतिजा नै बदल्न सक्छन्।”

रेफ्रीको निर्णयले लगातार विवाद सिर्जना गर्दा उनको भनाइ सत्य जस्तो पनि लाग्छ। केहीले भने खेल हारेको निराशा रेफ्रीप्रति पोख्ने गर्छन्। तर, क्वेइरोजले हारेपछि दिएको प्रतिक्रिया थिएन, त्यो गोलरहित बराबरीको नतिजापछि उनले बोलेका थिए।

विश्वकप इतिहासकै जम्बो रेफ्री टोली

विश्वकप २०२६ मा ५२ जना मुख्य र ८८ जना सहायक रेफ्री छन्। यसबाहेक ३० जना भीएआर रेफ्री छन्। यो फिफा विश्वकप इतिहासकै ठूलो अफिसियल टोली हो। छनोट भएका अफिसियल विश्व फुटबलका सबै ६ वटा महादेशीय महासंघ र ५० सदस्य राष्ट्रबाट आएका हुन्।

फिफाका अनुसार यी अफिसियलको छनोट गर्न तीन वर्षभन्दा बढी लागेको थियो। यसमा यति धेरै समय लाग्नु पनि स्वाभाविक नै थियो। फिफाले यसपल्ट च्याम्पियन्स लिग, युरोपा लिग, अन्तर्राष्ट्रिय खेल र घरेलु लिगमा गरेको प्रदर्शनका आधारमा यी अफिसियलको छनोट गरेको दाबी गरेको छ।

घानाका प्रशिक्षक कार्लोस क्विरोज। तस्बिर : रोयटर्स

फिफाका मुख्य अफिसियल तथा समितिका अध्यक्ष पियरलुइजी कोलिना भन्छन्, “छनोट भएका म्याच अफिसियल विश्वकै उत्कृष्टमध्येका हुन्। उनीहरूलाई पछिल्लो तीन वर्षदेखि निगरानी गरिएको थियो। उनीहरूले फिफाका प्रतियोगितामा सहभागिता जनाएका छन् र लगातार प्रशिक्षण तथा मूल्यांकनबाट गुज्रिएका छन्।”

कोलिनाका अनुसार कतार विश्वकप २०२२ को तुलनामा यसपटक ४१ अफिसियल बढी छन्। यस विश्वकपमा ६ जना महिला म्याच अफिसियल पनि छनोट भएका छन्। यस हिसाबले विश्वकप २०२६ मा अफिसियल निर्णयमा प्रविधिको भूमिका अझ महत्त्वपूर्ण हुनुपर्ने हो। फिफाले यसका लागि गोललाइन प्रविधि, उन्नत अर्ध-स्वचालित अफसाइड प्रविधि र कनेक्टेड बल प्रविधिसमेत प्रयोग गरिरहेको छ।

यस विश्वकपमा समर्थकले पहिलो चोटि रेफ्रीको मैदानभित्रको निर्णय पनि हेर्न सक्नेछन्। रेफ्रीको शरीरमा जडान गरिएको क्यामेरा (रेफक्याम)बाट प्राप्त दृश्यलाई एआईमा आधारित स्थिरीकरण प्रविधिले अझ स्पष्ट बनाइरहेको छ। तर, पनि विवाद उत्पन्न हुने क्रम रोकिएको छैन।

रोकिएन विवाद

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपमा रेफ्रीका निर्णयहरू प्रायः बहस र विवादको विषय बन्ने गरेका छन्। त्यसैले २०२६ विश्वकपमा फिफाले निर्णय प्रक्रियालाई अझ पारदर्शी, सटीक र दर्शकमैत्री बनाउन विभिन्न नयाँ प्रविधि प्रयोग गरेको दाबी छ।

रेफ्रीले मैदानमा गरेको निर्णय कसरी र किन गरियो भन्ने विषयमा दर्शक, खेलाडी र प्रशिक्षकलाई स्पष्ट जानकारी दिन फिफाले बडी-क्याम, उन्नत अफसाइड प्रविधि, थ्रीडी ट्र्याकिङ प्रणाली र भीएआर प्रक्रियामा सुधार जस्ता कदम चालेको छ। यी प्रविधि प्रयोगको उद्देश्य मानवीय त्रुटि कम गर्नु, विवादास्पद निर्णयको निष्पक्ष मूल्यांकन गर्नु र खेलप्रतिको विश्वास थप मजबुत बनाउनु हो। तर, विवादको घटना रोकिएको छैन। विशेषगरी स्टार खेलाडीले भरिएका ठूला राष्ट्रलाई रेफ्रीले उनीहरूकै अनकूलमा निर्णय गरिदिएको आरोप लाग्दै आएको छ।

ब्राजिलका रेफ्री विल्टन साम्पायोले दक्षिण अफ्रिकाका थेम्बा ज्वानेलाई (दायाँ) रातो कार्ड देखाउँदै। तस्बिर : एपी फोटो

अर्जेन्टिनाको विश्वकप खेलमा सबैभन्दा धेरै चर्चा भएको रेफ्री विवाद अल्जेरियाविरुद्धको खेलसँग सम्बन्धित थियो। अर्जेन्टिनाले ३-० ले जितेको उक्त खेलपछि अल्जेरियाले फिफासमक्ष औपचारिक उजुरीसमेत दर्ता गरेको छ।

अल्जेरियाको मुख्य गुनासो पहिलो हाफको एउटा घटनाबारे थियो। अर्जेन्टिनाका कप्तान लिओनल मेसीले अल्जेरियाका कप्तान आइसा मन्डीको खुट्टामा टेकेका थिए। अल्जेरियाली पक्षले त्यस घटनामा रातो कार्ड दिइनुपर्ने दाबी गरे पनि रेफ्रीले कुनै चासो देखाएनन्। उता भीएआरले पनि हस्तक्षेप गर्न आवश्यक ठानेन।

त्यसैगरी, अर्को घटनामा अर्जेन्टिनाका एलेक्सिस म्याक अलिस्टरले अल्जेरियाका इब्राहिम माजालाई कुहिनो प्रहार गरेको आरोप पनि लगाइएको छ। त्यस घटनामा पनि कुनै कार्ड नदेखाइएपछि अल्जेरियाले रेफ्री र भीएआर दुवैको निर्णयप्रति असन्तुष्टि जनाएको थियो।

खेलका मुख्य रेफ्री पोल्यान्डका सिमोन मार्सिनियाक थिए। मार्सिनियाक २०२२ को कतार विश्वकप फाइनलका मुख्य रेफ्री हुन्। उक्त खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै दोस्रोपल्ट उपाधि जितेको थियो। म्याक एलिस्टर र माजाबीचको घटनाका बेला उनी निकै नजिक थिए।

अर्जेन्टिना र अल्जेरियाको खेलमा गोल गरेपछि ‍खुसीयाली मनाउँदै लियोनेल मेस्सी। तस्बिर : रोयटर्स

अल्जेरियाको उजुरीमा रेफ्री मार्सिनियाक र भीएआर टोलीको निर्णयबारे प्रश्न उठाइएको छ। भीएआर टोलीको नेतृत्व पनि पोल्यान्डकै थोमस क्वीआत्कोव्स्कीले गरेका थिए। दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रोसले पनि यस घटनाको तुलना आफ्ना मिडफिल्डर थेम्बा ज्वानेको प्रतिबन्धसँग गरेका छन्। ज्वानेले मेक्सिकोविरुद्धको पहिलो खेलमा रातो कार्ड पाएका थिए। योसँगै उनलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ।

“मेसीको घटनालाई हेर्दा मेरो खेलाडीविरुद्ध भएको निर्णयसँग म सहमत हुन सक्दिनँ। मेक्सिकोका खेलाडीले मेरो खेलाडीलाई रोकेका थिए र थेम्बाले माथिबाट हात राखेका मात्र थिए। त्यसका लागि रातो कार्ड र तीन खेलको प्रतिबन्ध भयो। मेसीलाई रातो कार्ड देखाउनुपर्छ भनेर म भन्दिनँ। तर‚ मेसीको घटना र ज्वानेको घटनाबीच फरक के हो?” उनी प्रश्न गर्छन्।

यो घटनापछि सामाजिक सञ्जालमा र फुटबल विश्लेषकहरूबीच ठूलो बहस भयो। केहीले मेसीलाई कम्तीमा पहेँलो कार्ड देखाउनुपर्ने बताएका थिए भने केहीले त्यो घटना अनजान भएको हुन सक्ने भन्दै त्यसको आवश्यक नरहेको तर्क गरेका छन्।

अर्जेन्टिनी समर्थक। तस्बिर : एपी

विश्वकप २०२६ मा अमेरिकासँग २-० ले पराजित भएपछि अस्ट्रेलियाली टोलीले रेफ्री फेलिक्स ज्वायरप्रति पनि प्रश्न उठाएका थिए। अस्ट्रेलियाली खेलाडीले जर्मन रेफ्रीको प्रदर्शन अत्यन्त खराब रहेको भन्दै खेलमा धेरै निर्णय आफ्नो विपक्षमा गएको आरोप लगाएका छन्।

सियाटलमा भएको समूह ‘डी’ को खेलमा अमेरिकाको दोस्रो गोललाई भीएआरको सहयोगमा मान्यता दिइएको थियो। उक्त निर्णय विवादास्पद बन्यो। अस्ट्रेलियाको मुख्य गुनासो भने खेलभरि भएका अन्य निर्णयलाई लिएर थियो। पेनाल्टी क्षेत्रमा कोनर मेटकाफलाई लडाइएको थियो भने अग्रपंक्तिका खेलाडी नेस्टोरी इरानकुन्डालाई अमेरिकाका डिफेन्डर क्रिस रिचर्डस्‌ले बल बाहिर हुँदा पनि रोक्ने प्रयास गरेका थिए। यस्ता धेरै घटनामा रेफ्रीले खेल नरोकेको टोली दाबी गर्छ।

“ रेफ्रीको प्रदर्शनबारे धेरै भन्न सक्दिनँ। तर, हेर्ने हो भने हामी दुर्भाग्यशाली रह्यौँ। रेफ्रीका धेरै निर्णय अमेरिकाको पक्षमा गए। मैदानमा दुई टोली हुन्छन् र निर्णय दुवै पक्षमा समान हुनुपर्छ। तर, त्यसो भएन,” इरानकुन्डाले खेलपछि भने।

अमेरिका र अस्ट्रेलियाबीचको खेलमा अफसाइडको निर्णयपछि भीएआर समीक्षाका क्रममा रेफ्री फेलिक्स ज्वायेर इसारा गर्दै। तस्बिर : गेट्टी इमेजेस

खेलबाहेक अन्य कुरामा पनि यसपल्ट विवाद उब्जिएका छन्। जर्मनी र कुराकाओबीच ह्युस्टनमा भएको विश्वकप खेलका क्रममा रेफ्री सान इभान्सलाई भेदभावविरोधी अभियन्ताले वर्जित गरेको इसारा गरेको आरोप लगाएका छन्।

खेलका क्रममा टेलिभिजन प्रसारणले भीएआर कक्ष देखाउँदा यो घटना देखिएको थियो। आलोचकको दाबीअनुसार इभान्सले उल्टो ‘ओके’ को संकेत जस्तो देखिने इसारा गरेका थिए। यो पछिल्ला वर्षमा दक्षिणपन्थी अतिवादी र श्वेत राष्ट्रवादी समूहसँग जोडिएको बताइन्छ।

उक्त संकेत एक दशकदेखि अन्तर्राष्ट्रिय रूपमा विवादित छ। केही रिपोर्टअनुसार सन् २०१९ मा न्युजिल्यान्डको क्राइस्टचर्च मस्जिद आक्रमणका दोषी ब्रेन्टन टारान्टले अदालतमा उपस्थित हुँदा यस्तै संकेत देखाएका थिए। केही सञ्चारमाध्यमले पनि यस संकेतलाई अतिवादी समूहहरूले प्रयोग गर्ने घृणात्मक प्रतीकमध्ये एकका रूपमा उल्लेख गरेका छन्।

यस आरोपपछि फिफालाई इभान्सलाई विश्वकपको रेफ्री टोलीबाट हटाउन माग गरिएको छ। तर, पछि फिफाको अनुसन्धानले उनीविरुद्धको आरोप प्रमाणित नभएको निष्कर्ष निकाल्यो।

विश्वकप जस्ता ठूला प्रतियोगितामा रेफ्रीको भूमिका सामान्य खेलभन्दा निकै चुनौतीपूर्ण र दबाबपूर्ण हुने प्रिमियर लिगका पूर्वरेफ्री पिमार्क क्लाटेनबर्ग बताउँछन्। यस्तो खेलमा रेफ्री नियम लागु गर्ने व्यक्ति मात्र हुँदैनन्। खेलको निष्पक्षता, गति र सन्तुलन जोगाउने महत्त्वपूर्ण निर्णायक पनि हुन्छन्। यही कारणले गर्दा मानसिक अवस्था र निर्णय गर्ने तरिका सामान्य खेलभन्दा धेरै फरक हुने उनको बुझाइ छ।

“ठूला खेलमा रेफ्री सेकेन्डमै निर्णय लिनुपर्ने दबाबमा हुन्छन्। पूर्ण रूपमा त्रुटिरहित हुनु लगभग असम्भव हुन्छ,” उनी भन्छन्। यस्ता खेलमा करोडौँ दर्शकको नजर हुन्छ। रंगशालाको माहोल, टेलिभिजन क्यामेरा र सामाजिक सञ्जालको प्रतिक्रिया सबै कुरा रेफ्रीको निर्णयसँग जोडिएको हुन्छ। एउटा सानो गल्तीले पनि खेलको नतिजा बदलिन सक्छ र रेफ्रीको करिअर तथा प्रतिष्ठामा समेत असर पर्न सक्छ। त्यसैले निरन्तर मानसिक तनावमा रहेर निर्णय लिनुपर्छ।

स्कटल्यान्ड र हाइटीको खेल। तस्बिर : रोयटर्स

यसका साथै ठूला खेलमा रेफ्रीले धेरै सावधानी अपनाउने प्रवृत्ति देखाउँछन्। स्पष्ट रूपमा नदेखिएको अवस्थामा तुरुन्तै निर्णय लिन, रातो कार्ड वा पेनाल्टी दिन हिचकिचाउँछन्। धेरैजसो अवस्थामा भीएआरको सहायता लिएर मात्र अन्तिम निर्णयमा पुग्छन्, ताकि गल्तीको सम्भावना कम होस्।

“लगातार साना साना फाउलमा अल्झिँदा खेलको गति बिग्रन सक्छ र खेल हेर्न असहज हुन्छ। त्यसैले कहिलेकाहीँ सानो सम्पर्क वा सामान्य विवादलाई जानाजानी खेल्न दिने निर्णय गरिन्छ। यसले खेललाई निरन्तरता दिन मद्दत गर्छ,” उनी भन्छन्।

यद्यपि, विश्वकपमा अझै ठूला खेल हुन बाँकी नै छन्। यी ठूला खेलमा ठूल्ठूला टोली भिड्ने पक्का छ। यस्ता खेलमा रेफ्रीका निर्णयमा कतिको सुधार हुन्छ, हेर्नै बाँकी छ।