काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

राजनीति 

असहज परिस्थिति रहेको भन्दै दलहरूबीच संवाद र सहकार्यको प्रयास तीव्र

१२ असार २०८३
बायाँबाट क्रमश: नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा संयोजक पुष्पकमल दाहाल।
अ+
अ-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच शुक्रबार विराटनगरमा भेट भयो। दाहाल-नेपाल कोइरालालाई भेट्न उनको निवासमै पुगेका थिए।

नेकपाको कोसी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमको सिलसिलामा विराटनगर गएको बखत दाहाल-नेपालले कोइरालालाई भेटेका थिए। उनीहरूबीचको भेटबारे कोइरालाको सचिवालयले जानकारी दिएको थियो। कोइराला ३१ जेठदेखि विराटनगरमै छन्।

कोइरालासँगको भेटपछि नेकपाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा दाहालले नेकपा (एमाले)सँग तत्कालै सहकार्य अगाडि बढ्ने बताए। उक्त सहकार्य कस्तो हो भनेर उनले खुलाएनन्। उनले वामपन्थी दलसँग मात्रै नभएर लोकतान्त्रिक शक्तिहरूसँग पनि कुरा भइरहेको बताए। यसक्रममा जनता समाजवादी पार्टी (जसपा)सँग पनि निरन्तर संवाद भइरहेको उनले खुलाए।

दाहालले पार्टीहरूसँग सहकार्य र संवादको कुरा गर्नु, त्यसअघि कोइरालालाई भेट्नु संयोग मात्रै होइन। पुराना राजनीतिक शक्तिबीच तत्कालै कार्यगत एकता (अजेन्डागत एकता)को सम्भावना देखिएको नेताहरू बताउँछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनसँगै पुराना राजनीतिक शक्तिहरू एक ठाउँमा आउन लागेका हुन्। खासगरी, रास्वपाको राजनीतिक दस्ताबेजमा संघीयता खारेजीको अजेन्डा आएपछि पुराना दलले सहकार्यको महसुस गरेका छन्।

एमालेका नेता प्रदीप ज्ञवाली नेकपाका संयोजक दाहालले बताएको सहकार्यको अर्थ आफूलाई थाहा नभएको तर लोकतन्त्र नै संकटमा पर्ने अवस्था आएको सन्दर्भमा कम्युनिस्ट पार्टीहरू मात्रै नभएर अन्य शक्तिसँग फराकिलो ढंगले सहकार्य आवश्यक रहेको बताउँछन्। एमाले यसका लागि खुला रहेको उनको भनाइ छ। “हामी कांग्रेससँग संसद्‌मा सहकार्यमै छौँ,” उनी भन्छन्, “चुनावपछिको परिस्थिति असहज छ, लोकतन्त्रमा संकट आइलागेको अवस्थामा सबैसँग न्यूनतम सहकार्य हुन सक्छ। प्रचण्डले कुन अर्थमा सहकार्यको कुरा गर्नुभएको हो, थाहा छैन।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनसँगै पुराना राजनीतिक शक्तिहरू एक ठाउँमा आउन लागेका हुन्। खासगरी, रास्वपाको राजनीतिक दस्ताबेजमा संघीयता खारेजीको अजेन्डा आएपछि पुराना दलले सहकार्यको महसुस गरेका छन्। यसै क्रममा दाहाल-नेपालले कोइरालालाई भेटेको अनुमान छ।

संसद्‌मा रास्वपाको करिब दुईतिहाइ छ। दुईतिहाइको बलमा रास्वपाले संघीयता खारेज गर्न सक्ने संशय छ। प्रधानमन्त्री कार्यालयले कार्यदल नै बनाएर संविधान संशोधनका लागि सुझाव संकलन गरिरहेको छ। संघीयता खारेजी भएसँगै संविधानमा आक्रमण बढ्न सक्ने भएकाले पुराना राजनीतिक दल एक ठाउँमा आउन खोजेका हुन्। संघीयता, लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माण पुराना दलका साझा अजेन्डा थिए।

नेकपाका नेता अग्नि सापकोटा एमालेसँग तत्कालै सहकार्यका लागि संवाद चलिरहेको बताउँछन्। पार्टी एकता तत्काल नभएको अवस्थामा पनि सहकार्य हुने उनको भनाइ छ। तर, कुन खाकामा सहकार्य गर्ने भनेर छलफलकै क्रममा छ। “हाम्रो पार्टीको कार्यसमायोजन समिति र नियमावलीको नीति स्पष्ट छ– कार्यगत एकता, सहकार्य र राष्ट्रिय अजेन्डामा मिलेर अघि बढ्ने,” उनी भन्छन्, “विषयवस्तुमा आधारित भएर कार्यगत एकता हुन सक्छ।”

उनका अनुसार एमालेको विभिन्न तहमा कुराकानी भइरहेको छ। अहिले जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था रहेकाले कार्यगत एकता र सहकार्यको पहल सुरु भएको उनी बताउँछन्। “देशमा अराजकता बढ्दै गयो भने तत्काल सडक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ,” उनी भन्छन्, “त्यसका लागि एमालेको विभिन्न तहमा छलफल भइरहेको छ।”