काठमाडौँ
००:००:००
२३ असार २०८३, मंगलवार

सुरक्षा

सीमा सुरक्षा र तस्करी नियन्त्रणको जिम्मा पाएका सुरक्षा निकायका कमान्डर नै अनुसन्धानको घेरामा तानिएपछि झापाका सीमावर्ती नाकाहरूमा खैलाबैला मच्चिएको छ।

२३ असार २०८३
गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता। तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। झापाको काँकडभिट्टा नाकामा भइरहेको तस्करीमा सुरक्षाकर्मीकै मिलेमतो रहेको आरोप लागेपछि दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ११ जना सुरक्षाकर्मीविरुद्ध उच्चस्तरीय अनुसन्धान सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङको स्थलगत निरीक्षणका क्रममा स्थानीयले तस्करीको ‘लाइन’ बारे सूचना दिएपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरी बल (बीओपी) काँकडभिट्टाका डीएसपी विकास थापा अनुसन्धानको घेरामा तानिएका हुन्।

प्रहरीले उनीहरूसहित ११ जनाको मोबाइल फोन नियन्त्रणमा लिएर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएको छ।

अनुसन्धानको दायरामा पर्नेहरूमा सशस्त्र प्रहरीका ६ र नेपाल प्रहरीका पाँच जना छन्। सुरक्षा निकायले दिएको जानकारीअनुसार तस्करीमा सघाएको र अवैध असुली गरेको आरोपमा ६ जना सादा पोसाकका प्रहरी (घुमुवा) लाई समेत हेडक्वार्टर तानेर छानबिन थालिएको छ।

गृहमन्त्रीसँग स्थानीयको साहस

आइतबार दिउँसो गृहमन्त्री गुरुङ काँकडभिट्टा सीमा र भन्सार कार्यालयको निरीक्षणमा पुगेका बेला अप्रत्याशित दृश्य देखियो। स्थानीय व्यापारी बन्दना मेचेले गृहमन्त्रीकै अगाडि उभिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भइरहेको दाबी गरिन्।

“रात परेपछि काँकडभिट्टाका विभिन्न नाकाबाट तस्करी हुन्छ। यहाँ फलानो र ढिस्कानोको ‘लाइन’ चल्छ भन्ने सुनिन्छ, यो अवस्था बदल्नुपर्‍यो,’’ मेचेले मन्त्रीलाई आइतबार सुनाइन्। स्थानीयको कुरा सुनेपछि मन्त्री गुरुङले थप बुझ्न उनलाई भन्सार कार्यालयभित्र लगेका थिए। त्यहाँ उनले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र भन्सार प्रमुख शिवलाल न्यौपानेलगायत अधिकारीहरूलाई समेत बाहिर निकालेर ती महिलासँग एक्लै ब्रिफिङ लिएका थिए।

सीमा निरीक्षणमा निस्किएका गृहमन्त्री सुधन गुरुङ।

सीमावर्ती नाका काँकडभिट्टामा तस्करी हुने तुरर्केनी, दुर्गा मन्दिर, चर्च र गैरी गाउँ र त्यसमा संलग्न सुरक्षाकर्मीको विवरण मेचेले गृहमन्त्रीलाई दिएपछि मन्त्री गुरुङले तत्कालै कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

सशस्त्रमा ‘असुली आतंक’ को जालो

यसअघि नै सशस्त्र प्रहरी बल मुख्यालयले कोसी प्रदेशमा ‘असुली आतंक’ मच्चाएको आरोपमा तीन जना घुमुवालाई काठमाडौँ तानेर छानबिन गरिरहेको छ। छानबिनमा पर्नेहरूमा सई गणेश खड्का, हवल्दार हरि मगर र जवान पारस यादव छन्। त्यस्तै, वरिष्ठ हवल्दार श्याम चौधरी र सहायक हवल्दार नारायण खनाल पनि छानबिनको दायरामा छन्।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार उनीहरूविरुद्ध तस्कर समूहसँग मिलेमतो गरी आर्थिक लाभ लिएको उजुरी परेको थियो। “विभिन्न गुनासा आएपछि १० असारमा नै उनीहरूलाई काठमाडौँ तानेर आन्तरिक अनुसन्धान सुरु गरिएको हो,” उनले भने। सई खड्काले माथिल्लो तहका अधिकारीको नाम भजाएर तस्करीको सेटिङ मिलाउने गरेको दाबी छ।

कोसी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरले गृहमन्त्रीको निरीक्षणका क्रममा आएका गुनासाहरूलाई गम्भीरतापूर्वक लिएको बताए। “केही गम्भीर गुनासा आएका छन्, हामी थप अनुसन्धान गर्दै छौँ,” उनले भने, “गृहमन्त्रीज्यूले पनि संलग्न देखिएकालाई कारबाही गर्न स्पष्ट निर्देशन दिनुभएको छ।”

जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले पनि घटनाको आन्तरिक छानबिन भइरहेको पुष्टि गरिन्। यद्यपि, मोबाइल नियन्त्रणमा लिइएका भनिएका डीएसपी निशेष चापागाईंले भने आफ्नो मोबाइल खोसिएको कुरा अस्वीकार गरेका छन्।

सीमा सुरक्षा र तस्करी नियन्त्रणको जिम्मा पाएका सुरक्षा निकायका कमान्डर नै अनुसन्धानको घेरामा तानिएपछि झापाका सीमावर्ती नाकाहरूमा खैलाबैला मच्चिएको छ।