काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२७ असार २०८३
अ+
अ-

काठमाडौँ । अन्तरराष्ट्रिय सम्बन्धका विज्ञहरुले देशको रचनात्मक विकासको आधार ज्ञान उत्पादन, अनुसन्धान र बौद्धिक बहस भएकाले सरकारले यस प्रक्रियामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागमा आयोजित चीन र दक्षिण एसियाली ज्ञान उत्पादन विषयक छलफलमा सहभागी विज्ञहरूले ज्ञान उत्पादनले समाज, राज्य र अन्तर्राष्ट्रिय सम्बन्धलाई जिवन्त राख्ने हुदा यसमा लगानी गर्नुपर्ने जोड दिएका हुन्।

त्रिवि अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति केन्द्रीय विभागका प्राध्यापक खड्ग केसीले चीन र भारतले रणनीतिक रुपमा अध्ययन अनुसन्धानमा लगानी गरेर भुराजनीतिलाई फराकिलो बनाउँदै लगेको बताउँदै नेपालले पनि यसतर्फ ध्यान दिनुपर्ने बताएका छन्। उनी भन्छन्, “राष्ट्रिय स्वार्थलाई मध्यनजर गर्दै नेपालले पनि ज्ञान उत्पादनमा जोड दिनुप¥यो,” उनी भन्छन्। उनले दाताहरुको सहयोगमा गरिने अध्ययन अनुसन्धानले राष्ट्रिय हितमा प्रभावकारी भुमिका निभाउन नसक्ने भन्दै सरकार आफैले लगानी गर्नुपर्ने जोड दिएका छन्।

यस्तै दिल्ली विश्वविद्यालयको इस्ट एसिया स्टडीज विभागका प्राध्यापक राजीव रञ्जनले पनि भारतले ज्ञान उत्पादन र वितरणको माध्यमबाट भुराजनीतिक चासोलाई फराकिलो बनाइरहेको बताउँछन्। भन्छन्, “भारतमा सरकारले नै ज्ञान उत्पादनमा लगानी गरेर प्राज्ञ र सरोकारवालालाई प्रोत्साहन गरिरहेको छ, नेपालमा पनि ज्ञान उत्पादन प्रक्रियामा राज्यले प्रर्याप्त लगानी गर्नुपर्छ।”

चीनको अध्ययनको प्रमुख चासो अमेरिकातर्फ रहेपनि भारतमा समेत उत्तिकै सरोकार राखिररहेको प्राध्यापक रञ्जनको भनाइ छ। “प्राचीनकालदेखि नै चीनमा ज्ञान उत्पादनको सुन्दर अभ्यास छ, पहिले बौद्धधर्मी भिक्षुहरु मार्फत भारतबारे जानकारी लिन्थ्यो,” उनी भन्छन्,“अहिले ब्लगर, ग्लभरहरु मार्फत वर्तमान आयामहरु बुझ्ने गरिरहेको छ।”

काठमाडौँ इन्स्टिच्युट अफ रिसर्च एन्ड कन्सल्टेन्सी (केआईआरसी) र त्रिवि अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति केन्द्रीय विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा प्राध्यापक रञ्जन र चीनस्थित सिच्वान युनिर्भसिटीका पिएचडी स्कलर प्रशान्तकुमार बिकले दक्षिण एसिया र चीनको भु–राजनीतिबारे विचार विमर्श गरेका थिए। यसरी नै बौद्धिक बहसमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनरत विद्यार्थी र सरोकारवालालाई विषयगत ज्ञान बढाउन सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको केआईआरसीका अपरेसन डाइरेक्टर याशिर खम्बुले बताएका छन्।

अन्तरराष्ट्रिय सम्बन्ध अन्ययनरत विद्यार्थी सुमि शर्माले धेरै भन्दा धेरै वैचारीक अन्तक्रियाले ज्ञानको दायरा फराकीलो बनाउन र विषय बस्तु बुझन् सहज हुने बताएकी छन्।