काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

राज्य

सरकारकै संरक्षणमा सञ्चारगृहदेखि नेता निवाससम्म गाडी तेर्स्याइएको आरोप

२९ असार २०८३
काठमाडौँका विभिन्न मिडिया हाउस र सडकमा पार्क गरिएका गाडि। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

राजधानीका तीन सञ्चारगृह, एक व्यापारिक प्रतिष्ठान र नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि एकाबिहानैदेखि बाटो छेकिने गरी गाडी राखिएको घटनामा सरकारी संरक्षण रहेको आरोप लागेको छ।

कान्तिपुर पब्लिकेसन्सअगाडि राखिएको गाडी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेपछि आशंका सरकारतिर सोझिएको हो। गणेश नेपाली मृत्यु प्रकरणमा सञ्चारमाध्यमले सरकारबारे प्रश्न उठाइरहेका बेला नियोजित रूपमा गाडी राखिएको हुन सक्ने सञ्चार संस्थाका प्रतिनिधिहरूको आशंका छ।

प्रहरीले पाँचवटै गाडी नियन्त्रणमा लिएर अनुसन्धान थाले पनि गाडी राख्ने व्यक्ति, उद्देश्य र संलग्नता पुष्टि गर्ने प्रमाण भने सार्वजनिक गरेको छैन।

कांग्रेस सभापति गगन थापाको निवासको गेटमा रोकिएको बीएसी ९५७५ नम्बरको गाडी। तस्बिर : नेपाल फोटो लाइब्रेरी

अनलाइनखबर, कान्तिपुर पब्लिकेसन्स, हिमालय टेलिभिजन, भाटभटेनी सुपरमार्केट र थापाको रातोपुलस्थित निवासअगाडि राखिएका गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई भन्छन्, “हामीले पाँच वटा गाडी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीमा पठाएका छौँ।”

सोमबार बिहान सबेरै बाटो अवरुद्ध हुने गरी ती सवारीसाधन राखिएका थिए। गाडी कसले र कुन उद्देश्यले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भट्टराईका अनुसार प्रहरीले सुरुमा ती गाडीबाट सुरक्षा जोखिम भए/नभएको जाँच गरेको थियो। “सुरक्षा चुनौती नरहेको पुष्टि भएपछि सम्बन्धित धनी लिन नआएकाले क्रेनको सहायताले नियन्त्रणमा लिएका हौँ,” उनी भन्छन्।

हिमालय टीभीको कार्यालयअघि राखिएको गाडी।

ती गाडी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पठाइए पनि कस्तो कारबाही गर्ने भन्ने निर्णय भइसकेको छैन। “अहिलेसम्म औपचारिक उजुरी आएको छैन,” भट्टराई भन्छन्, “बाटो छेकिने गरी गाडी राख्नुको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।”

सत्तारूढ दलका नेताले प्रयोग गर्ने गाडी

कान्तिपुर पब्लिकेसन्सको प्रवेशद्वारअगाडि राखिएको बा०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता जयसवालले प्रयोग गर्दै आएको पाइएको छ। प्रहरीका अनुसार जयसवालले उक्त गाडी ज्योति कन्सर्नको नामबाट बुकिङ गरेका थिए। तर, गाडी उनको नाममा नामसारी भइसकेको थिएन।

अनलाइनखबरको प्रवेशद्वारअगाडि राखिएको बा१२च ८५४५ नम्बरको गाडी सुनील पौडेलको नाममा दर्ता रहेको खुलेको छ। तर, गाडी बुझ्न कोही नआएको प्रहरीले जनाएको छ।

 

कान्तिपुर मिडिया ग्रुपको गेटमा रोकिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी।

भाटभटेनी, हिमालय टेलिभिजन र कांग्रेस सभापति थापाको निवासअगाडि राखिएका गाडीका धनी भने पत्ता लागिसकेका छैनन्। त्यसरी भेटिएका गाडी कसका नाममा दर्ता छन् र कसले चलाउँदै आएका थिए भन्ने विवरण यातायात व्यवस्था विभागबाट मगाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एउटा गाडी सत्तारूढ दलका नेताले प्रयोग गर्दै आएको खुले पनि ती नेता स्वयं वा दलको निर्देशनमा गाडी राखिएको हो वा होइन भन्ने प्रमाण भने फेला परेको छैन।

नगर प्रहरी पछि हटेपछि शंकास्पद पार्किङ

यो घटना काठमाडौँ महानगरपालिकाका नगर प्रहरी ट्राफिक तथा पार्किङ व्यवस्थापनबाट पछि हटेका बेला भएको हो।

गणेश नेपाली मृत्यु प्रकरणपछि महानगरका तीन नगर प्रहरी अनुसन्धानमा तानिएका छन्। त्यसपछि ट्राफिक व्यवस्थापनमा नगर प्रहरीको भूमिका र अधिकार क्षेत्रबारे प्रश्न उठेको छ।

ट्राफिक व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरीको हो। ट्राफिक प्रहरीले आवश्यकताअनुसार स्थानीय तह र अन्य निकायसँग समन्वय गरेर काम गर्छ।

अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि रोकिएको ०३३ च ४२७५ नम्बरको हुन्डाई क्रेटा।

काठमाडौँ महानगरपालिकाले नगर प्रहरी ऐन, २०८० मार्फत ट्राफिक प्रहरीको काममा सहयोग गर्ने जिम्मेवारी नगर प्रहरीलाई दिएको थियो। प्रधानमन्त्री वालेन्द्र शाह महानगर प्रमुख रहँदा नगर प्रहरीलाई पार्किङ, फुटपाथ र ट्राफिक व्यवस्थापनसम्बन्धी काममा सक्रिय रूपमा परिचालन गरिएको थियो। “नगर प्रहरीले यसअघि पनि ट्राफिक व्यवस्थापनमा काम नगरेको होइन। पहिले कार्यविधिअनुसार खटिन्थ्यो,” महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, “महानगरले ऐन बनाएपछि नगर प्रहरीलाई यस्ता काममा थप व्यवस्थित रूपमा खटाउन थालिएको हो।”

नगर प्रहरीविरुद्ध अनुसन्धान सुरु भएपछि महानगरले आफ्ना प्रहरीलाई सडकको ट्राफिक व्यवस्थापनमा पठाउन छाडेको छ।

महानगरले आइतबार न्युरोड क्षेत्रको ट्राफिक तथा पार्किङ व्यवस्थापनमा नगर प्रहरी खटाएको थिएन। यसअघि नगर प्रहरी नियमित रूपमा उक्त क्षेत्रमा परिचालित हुन्थे।

गणेश नेपाली मृत्यु प्रकरणमा सञ्चारमाध्यमहरूले सरकारको भूमिकाबारे प्रश्न उठाएका थिए। त्यही कारण सञ्चारमाध्यमलाई दबाब वा त्रासमा पार्ने उद्देश्यले गाडी राखिएको हुन सक्ने आरोप पनि लागेको छ।

नगर प्रहरी नखटिँदा आइतबार न्युरोडको पार्किङ अस्तव्यस्त बनेको थियो। “पासपोर्ट कार्यालयअगाडि भएको घटनापछि नगर प्रहरीको भूमिकाबारे प्रश्न उठेको छ। यसबारे छानबिन समिति पनि गठन भएको छ,” मानन्धर भन्छन्, “अहिलेको परिस्थितिमा त्यस्ता ठाउँमा नगर प्रहरीले एक्लै काम गर्न सक्ने अवस्था नभएकाले जिम्मेवारीमा नगएको हो।”

छानबिन समितिको प्रतिवेदन आएपछि मात्र नगर प्रहरीलाई पुनः जिम्मेवारीमा पठाउने वा नपठाउने निर्णय हुने उनी बताउँछन्। “नगर प्रहरीले आवश्यक परेका बेला जिम्मेवारी निर्वाह गरेको हो। मीरा चौधरी ट्राफिक प्रहरीमा हुँदा पनि नगर प्रहरी फुटपाथ र पार्किङ व्यवस्थापनमा खटिन्थ्यो,” उनी भन्छन्, “स्रोतसाधन कम हुँदा पनि नगर प्रहरी परिचालित थिए।”

जेन-जी आन्दोलनपछि ट्राफिक प्रहरी सडकमा पर्याप्त रूपमा उपस्थित नभएको अवस्थामा पनि नगर प्रहरीले ट्राफिक व्यवस्थापनमा सहयोग गरेको मानन्धरको भनाइ छ। “अहिले दुःखद घटना भएको छ। छानबिन समितिको प्रतिवेदन नआएसम्म यसबारे थप के भन्न सकिन्छ र?” उनी भन्छन्।

संयोग मात्र होइन’

नगर प्रहरी पार्किङ व्यवस्थापनबाट पछि हटेको अवस्थामा एकाबिहानै संवेदनशील स्थानअगाडि गाडी छाडिनु नियोजित कार्य हुन सक्ने आशंका गरिएको छ।

विशेषगरी तीन सञ्चारमाध्यमका कार्यालयअगाडि एकैपटक गाडी राखिएको घटनालाई संयोग मात्र मान्न नसकिने सम्बन्धित सञ्चार संस्थाका प्रतिनिधिहरू बताउँछन्।

गणेश नेपाली मृत्यु प्रकरणमा सञ्चारमाध्यमहरूले सरकारको भूमिकाबारे प्रश्न उठाएका थिए। त्यही कारण सञ्चारमाध्यमलाई दबाब वा त्रासमा पार्ने उद्देश्यले गाडी राखिएको हुन सक्ने आरोप पनि लागेको छ।

तीन सञ्चारमाध्यमअगाडि एकैपटक गाडी राखिनुलाई स्वाभाविक मान्न नसकिने अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत बताउँछन्। “यो नियतवश गरिएको जस्तो देखिन्छ। तीन वटा मिडियामा एकैपटक गाडी राखिएको छ,” उनी भन्छन्, “यो आकस्मिक वा स्वतःस्फूर्त घटना जस्तो लाग्दैन।”

अनलाइनखबरको कार्यालयअगाडि राखिएको गाडी।

गाडी कसले र किन राखेको हो भन्नेबारे विभिन्न अनुमान भए पनि तथ्य पुष्टि गरेर मात्र संस्थागत धारणा सार्वजनिक गरिने उनी बताउँछन्। “राज्यलाई प्रश्न गर्दा पत्रकारिताले मूल्य चुकाउनुपर्ने अवस्था हो कि होइन भन्ने प्रश्न उठेको छ,” बस्नेत भन्छन्, “हामी उपलब्ध तथ्य पुष्टि गरेपछि धारणा सार्वजनिक गर्छौं।”

रास्वपाद्वारा छानबिन माग

एउटा गाडी आफ्नो दलका नेताले प्रयोग गर्ने गरेको खुलेपछि रास्वपाले घटनाको निष्पक्ष छानबिन माग गरेको छ।

पार्टीले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य पत्ता लगाएर संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयसँग माग गरेको हो। ‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता तथा अन्य कुनै पनि कदमको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पार्टीले घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक छानबिन गर्न तथा सञ्चारमाध्यमको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। ‘यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

नेपाल पत्रकार महासंघले पनि सञ्चारमाध्यमका प्रवेशद्वारअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनाको छानबिन गरी दोषीविरुद्ध कारबाही गर्न माग गरेको छ। घटनाले सञ्चारमाध्यममा त्रास सिर्जना गरेको भन्दै महासंघले सञ्चार संस्थाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको हो।

‘सञ्चारमाध्यम र अधिकारको उपभोगमा अवरोध पुर्‍याउने निन्दनीय तथा रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि कानुनी कारबाही गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।