काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
अ+
अ-

काठमाडौँ। नेपालका लागि यूएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

एक वर्षसम्म नेपालका लागि यूएनएफपीएको अन्तरिम प्रतिनिधिका रूपमा कार्य गरिसकेका श्रीलंकाका नागरिक हरिदासले जुलाई २०२६ देखि पूर्ण प्रतिनिधिका रूपमा कार्यभार सम्हालेका हुन्। उनीसँग एसिया र अफ्रिकाका विभिन्न मुलुकमा रणनीतिक नेतृत्व, जनसंख्या कार्यक्रम र मानवीय सहायताका क्षेत्रमा २३ वर्षभन्दा बढी लामो अन्तर्राष्ट्रिय अनुभव छ।

परराष्ट्र मन्त्रालयमा औपचारिक प्रमाणपत्र बुझ्ने क्रममा मंगलबार मन्त्री खनाल र हरिदासबीच नेपाल सरकार र यूएनएफपीएबीचको बलियो साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो। दुवैबीच जनसंख्या तथा विकास, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैंगिक समानता एवं तथ्यांकमा आधारित नीति-निर्माणका क्षेत्रमा रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भएको यूएनएफपीएकी सञ्चार विश्लेषक अदिति अर्यालले जानकारी दिइन्।

अर्यालका अनुसार भेटमा नेपालको बदलिँदो जनसांख्यिक परिदृश्यलाई सम्बोधन गर्न र समावेशी तथा दिगो विकासका लागि जनसांख्यिक तथ्यांक प्रणाली र विश्लेषणलाई सुदृढ बनाउने कुरामा जोड दिइएको थियो।

त्यसक्रममा परराष्ट्रमन्त्री खनालले जनसंख्या तथा विकासका प्राथमिकता अघि बढाउन र स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न नेपालले यूएनएफपीएसँगको लामो साझेदारीलाई उच्च महत्त्व दिने उल्लेख गरे। नेपालले बदलिँदो जनसांख्यिक प्रवृत्तिलाई सम्बोधन गरिरहेको यस अवस्थामा, जनसांख्यिक परिवर्तन र जनसंख्याको गतिशीलतालाई विकास योजनाहरूमा एकीकृत गर्न यूएनएफपीएलगायत साझेदारहरूसँगको रणनीतिक सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

नवनियुक्त प्रतिनिधि हरिदासले नेपालको विकासका प्राथमिकताहरू तथा अन्तर्राष्ट्रिय जनसंख्या तथा विकास सम्मेलनको कार्ययोजनाप्रति यूएनएफपीएको प्रतिबद्धता दोहोर्‍याए। राष्ट्रिय जनसंख्या प्रणालीलाई सुदृढ गर्न सरकार तथा सरोकारवाला साझेदारहरूसँग मिलेर काम गर्ने स्पष्ट पार्दै उनले नेपाल हाल एक महत्त्वपूर्ण जनसांख्यिक मोडमा रहेको र दिगो विकासका लागि परिवर्तनको लाभ उठाउने ठूला अवसरहरू रहेको औँल्याए।

हरिदासले जनसांख्यिक सूचना एवं ज्ञानलाई सुदृढ गर्न, महिला, किशोरी र युवाहरूको अधिकार तथा छनोटको रक्षा गर्न र जनसंख्याको गतिशीलताले समावेशी एवं दिगो विकासमा योगदान पुर्‍याउने कुरा सुनिश्चित गर्न नेपाल सरकारसँगको यूएनएफपीएको साझेदारीलाई अझ प्रगाढ बनाउन आफू उत्सुक रहेकोसमेत उल्लेख गरे।

यूएनएफपीएले सन् १९७१ देखि नेपाल सरकारसँग साझेदारी गर्दै आएको छ। यसले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सुधार ल्याउन, लैंगिक समानताको प्रवर्द्धन गर्न, युवाहरूलाई सशक्त बनाउन, जनसंख्या तथ्यांक प्रणालीलाई सुदृढ गर्न र विकासको मूलप्रवाहमा कोही पनि पछि नपर्ने कुरा सुनिश्चित गर्न राष्ट्रिय प्रयासहरूमा सहयोग पुर्‍याउँदै आएको छ।