काठमाडौँ
००:००:००
३२ असार २०८३, बिहीबार

कर्णाली प्रदेश सभा

जीवनबहादुर शाहीलाई मुख्यमन्त्री प्रस्ताव

३२ असार २०८३
अ+
अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

प्रदेश सभा सचिवालयमा बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। अविश्वासको प्रस्तावमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदहरूले हस्ताक्षर गरेका छन्। अविश्वासको प्रस्तावमा नेकपाका ११ र कांग्रेसका पाँच सांसदले हस्ताक्षर गरेका हुन्।

नेकपाबाट मंगलबहादुर शाही, राजकुमार शर्मा, कृष्णबहादुर जीसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कित लामा, वीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का रोका र रणसिंह परियारले हस्ताक्षर गरेका छन्। कांग्रेसबाट हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्णकुमार बीसीले हस्ताक्षर गरेका हुन्। कांग्रेसका पाँच जनामध्ये अधिकारी र बुढाले बुधबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए।

संविधानको धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १५२ (२) बमोजिम अविश्वासको प्रस्ताव पेस गरिएको नेकपाका प्रमुख सचेतक कृष्ण जीसीले जानकारी दिए।

यस्तै संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री पदका लागि लागि कांग्रेस संसदीय दल नेता जीवनबहादुर शाहीलाई दुई दलले प्रस्ताव गरेका छन्।

कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकारमा रहेका कांग्रेसका चार मन्त्रीले बुधबार संयुक्त रूपमा राजीनामा दिएका थिए। उक्त राजीनामाका विषयमा कांग्रेस संसदीय दलले नयाँलाई पालो दिने योजनामुताबिक भएको बताएको थियो।