काठमाडौँ। सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरेसँगै त्यसअनुसार संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) कार्य सम्पन्न हुन लाग्दा कतिपय पदमा हालको भन्दा कम दरबन्दी आवश्यक देखिएको छ। यसले केही कर्मचारी फाजिलमा पर्न सक्ने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
सरकारले फाजिलमा पर्ने कर्मचारी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिविना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नपठाउने निर्णय गरेको छ।
यस्तै आवश्यक परे फाजिल कर्मचारी व्यवस्थापनपछि मात्र रिक्त पदमा पूर्ति गर्ने वा ओ एन्ड एमबाट स्वीकृत नयाँ दरबन्दीअनुसार मात्रै नियमित रूपमा लोकसेवा आयोगमार्फत पदपूर्ति गरिने व्यवस्था गरिएको छ।
