काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

५ श्रावण २०८३
अ+
अ-

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबिया र नेपाल भिड्दैछन्।

स्पोर्ट्पार्क मार्स्चलकेर्वेर्डमा हुने खेल दिउँसो २ :४५ बजे शुरु हुनेछ। आज हुने खेलमा दुवै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन्।

नेदरल्यान्ड्समा हुने सिरिजमा नेपालले आयोजक नेदरल्यान्ड्ससँग र नामिबियासँग २/२ खेल खेल्नेछ। नेपाललाई शीर्ष चारमा पर्न चार खेल निकै महत्त्वपूर्ण रहेको छ।

हाल नेपाल २८ खेलबाट २४ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा रहेको छ। अमेरिका ३२ खेलबाट ४३, स्कटल्याण्ड ३२ खेलबाट ३८, नेदरल्यान्ड्स २८ खेलबाट ३२, ओमान २८ खेलबाट ३१, क्यानडा २८ खेलबाट २४, नामिबिया २८ खेलबाट २२ र युएई २४ खेलबाट १४ अंक जोड्दै क्रमश: पहिलो, दोस्रो, तेस्रो, चौथो, छैटौँ, सातौँ र आठौँ स्थानमा रहेका छन्।

नेपालले यस सिरिजको सबै चार खेल जितेको खण्डमा चौथो स्थानमा उक्लिनेछ। लिग–२ सिरिज अगाडि इंग्ल्याण्डमा जर्सीसँग दुई अभ्यास खेल खेलेको नेपालले दुवै खेलमा जित निकालेको थियो। त्यसैले नेपाल आज उच्च मनोबलका साथ मैदान उत्रिनेछ।