काठमाडौँ। काठमाडौँमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्।
काठमाडौँ महानगरपालिका-६ बौद्ध गेटनजिकै काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने २७ वर्षीया सालु गुरुङले सोमबार शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्।
करिब २:५० बजे श्रीमान-श्रीमतीबीच विवाद हुँदा आफैंले सञ्चालन गरेको खाजा घरपछाडि गएर गुरुङले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
आगो निभाएर श्रीमानले गुरुङलाई शुष्मा कोइराला मेमोरियल अस्पताल साँखु लगेका थिए। गुरुङको अनुहार, छाती र दुबै हात गरी शरीरको करिब ५० प्रतिशत भाग जलेको भट्टराईले बताए। गुरुङलाई थप उपचारको लागि सोमबार बेलुका कीर्तिपुर अस्पताल रिफर गरिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको भट्टराईले बताए।