पुस्तक
‘दहाड’ संग्रहका पात्रहरू किन यति निरीह, मौन र असहाय देखिन्छन्? के विद्रोही कविको कथामा प्रतिरोधको स्वर यति मन्द हुन सक्छ? यो कसरी सम्भव भयो?
संसारको कुनै पनि गम्भीर साहित्यिक कृतिले कथा मात्रै सुनाउँदैन, त्यसले आफ्नो समय, समाज र मानिसहरूको जीवनभोगाइलाई अभिलेख गर्दछ। नवीन अभिलाषीकृत कथासंग्रह दहाड पढ्दा मलाई ठिक त्यही अनुभूति हुन पुग्यो, कि यसलाई कथाहरूको संग्रहका रूपमा मात्र हेरिनु गलत हुन्छ।
यस संग्रहले पञ्चायती कालखण्डको क्रूर इतिहासको उत्खनन गरेको छ। विशेषतः साढे तीन दशकअघिको नेपाली समाजका सीमान्तीकृत, उपेक्षित र संघर्षशील मानिसहरूको जीवनभोगाइलाई कथाको केन्द्रमा ल्याएर यस संग्रहले साहित्यको सामाजिक दायित्वलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।
दहाडभित्रका प्रत्येक कथाका पात्रहरूको मनोविज्ञान हेर्दा लाग्छ, ती तत्कालीन नेपाली समाजका वास्तविक अनुहार हुन्। जसले आफ्नो जीवन भोगाइका एक एक घटनाक्रमलाई प्रामाणिक रूपमा अभिव्यक्त गर्दछन्। र, कथासंग्रहको सबैभन्दा सबल पक्ष पनि यही नै हो। संग्रहमा १२ वटा कथाहरू छन्। र, सम्पूर्ण कथा पञ्चायती शासनकालमा नेपाली समाजको चित्र कस्तो थियो भन्ने दर्साउन सफल छन्। विशेषगरी कथाका पात्रहरू सीमान्तीकृत समुदाय, भूगोल र संरचनाबाट उठाइएका छन्।
‘हृति’ कथाको म पात्र र उसकी आमा रादी, ‘उछिट्टे’ कथाकी वसन्ती, ‘किनार’ कथाका दु:खराम, ‘चौरासी’ कथाकी वृद्ध आमा शान्तिदेवी, ‘परित्यक्त’ कथाकी सुन्दरी र कमलीहरू समाजको मूलधारबाट बाहिर पारिएका प्रतिनिधि पात्र हुन्। उनीहरूको पीडा व्यक्तिगत मात्र होइन, गरिबी, सामाजिक विभेद, अवसरको असमानता र संरचनागत उपेक्षाबाट निर्माण भएको सामूहिक पीडाका रूपमा उल्लेख भएको छ।
कथा पढ्दै जाँदा मनमा पटक पटक एउटा प्रश्न उठिरहन्छ, यी पात्रहरू किन यति निरीह छन्? त्यो उनीहरूको नियति हो कि यो समाजले निर्माण गरेका संरचनाहरूको उपज? दहाडभित्रका कथाहरूले यिनै प्रश्नसँग पाठकलाई आमनेसामने गराउँछन्। कथाका प्रसंगहरू यति मार्मिक छन् कि पात्रहरूको पीडाले पाठकको हृदय पटक पटक छियाछिया बनाउँछ। पाठकलाई आफ्नै सुदूर अतीततिर लैजान्छ र समाजभित्रको विभेदले पारेका असहज समयतिर लैजान्छ।
‘एक्का’ कथाले सामन्ती सोचको हिंस्रक अनुहार देखाउँछ भने शीर्षकथा दहाडले राजनीतिक परिवर्तनप्रतिको जनविश्वास कसरी पटक पटक निराशामा परिणत भएको छ भन्ने चित्रण गर्छ। व्यवस्था परिवर्तन भए पनि सामान्य मानिसको जीवनमा अपेक्षित परिवर्तन नआएको यथार्थ यस कथाले छर्लंग पार्छ।
तर, दहाडका पात्रहरूलाई करुणाका पात्रहरूका रूपमा बुझ्न हुँदैन। उनीहरूको मौनताभित्र प्रतिरोधको बलियो स्वर लुकेको छ र त्यसलाई लेखकले निकै कलात्मक रूपमा प्रस्तुत गरेका छन्। ‘सिँहुर’ कथाका कैली र प्यारेलाल तथा ‘किनार’ कथाकी मौनीले विद्रोहको चर्को भाषा नबोले पनि आफ्नो अस्तित्व, आत्मसम्मान र जीवन संघर्षमार्फत विद्रोह गरिरहेको देखिन्छ।
‘एक्का’ कथाको इन्दल, ‘ताना’ कथाको गर्जबहादुर गन्धर्वले सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा निकै बलियो प्रतिरोध र बहस गर्छन्। प्राय: सबै कथाहरूको अन्त्य वियोगात्मक छ। तर, उनीहरूको पराजय अन्यायपूर्ण सामाजिक संरचनाप्रतिको असहमति हो भनेर पाठकले बुझ्न गाह्रो छैन।
‘रैयाँ’ कथादेखि ‘चौरासी’ कथासम्म आइपुग्दा मानव क्रूरता र जातीय विभेदका कठोर यथार्थहरू उद्घाटित हुन्छन्।
‘किनार’ कथाका दु:खरामको जीवनआयु नदी जस्तै निरन्तर बगिरहन्छ, तर उसको सुख प्रगति किनारामै अड्किएको देखिन्छ। यस कथाले मानिसको दु:ख मुक्ति र स्वतन्त्रतालाई निकै गहन रूपमा व्यक्त गरेको छ। किनारमा रहेको डुंगा भेलले बगाएर लगेपछि उसको दु:खको अनन्त शृंखला पनि अन्त्य हुन्छ।
‘एक्का’ कथाले सामन्ती सोचको हिंस्रक अनुहार देखाउँछ भने शीर्षकथा दहाडले राजनीतिक परिवर्तनप्रतिको जनविश्वास कसरी पटक पटक निराशामा परिणत भएको छ भन्ने चित्रण गर्छ। व्यवस्था परिवर्तन भए पनि सामान्य मानिसको जीवनमा अपेक्षित परिवर्तन नआएको यथार्थ यस कथाले छर्लंग पार्छ।
दहाड नेपाली समाजको गुप्त इतिहासमा दबिएका आवाजको साहित्यिक अभिलेख हो। यसले किनारामा रहेका मानिसहरूको कथा मात्र भन्दैन, उनीहरूको अस्तित्व, आत्मसम्मान र प्रतिरोधलाई पनि केन्द्रमा ल्याउँछ।
‘ताना’ कथाले गन्धर्व समुदायको सांस्कृतिक अस्तित्व र परम्परागत पेसाको सामाजिक अवमूल्यनलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गर्जेको सारंगी जोगाउने सपना एउटा व्यक्तिको सपना मात्र होइन, एउटा संस्कृतिको अस्तित्व बचाउने संघर्षका रूपमा बुझ्नुपर्छ।
त्यसैगरी ‘आफ्रे’ कथाले श्रम र सीपलाई सम्मान नगर्ने सामाजिक संरचनाबारे गम्भीर प्रश्न उठाएको छ। ‘दमाहा’ कथाले बसाइँ, जातीय विभेद र गरिबीको त्रासदीलाई जीवन्त रूपमा प्रस्तुत गर्दै नेपाली समाजका गहिरा सामाजिक घाउहरूलाई उजागर गरेको छ।
नवीन अभिलाषीलाई म मूलतः एक आक्रामक कविका रूपमा चिन्दछु। त्यसैले दहाड पढ्दै गर्दा मनमा बारम्बार एउटा प्रश्न उठिरह्यो, किन उनका कथाका पात्रहरू यति निरीह, यति मौन र यति असहाय देखिन्छन्? के विद्रोही कविको कथामा प्रतिरोधको स्वर यति मन्द हुन सक्छ? यो कसरी सम्भव भयो?
तर, पुस्तक पठनकै क्रममा गणेश नेपालीको आत्मदाहको दुःखद समाचार आयो। त्यस घटनाले मेरा सबै तर्कहरू एकाएक धूलिसात् बनाइदिएको छ। त्यसपछि महसुस भयो, नवीनका पात्रहरू कमजोर होइनन्, उनीहरू त्यस्तो सामाजिक संरचनाका प्रतिनिधि पात्र हुन्, जहाँ प्रतिरोध गर्ने सबै ढोका क्रमशः बन्द हुँदै जान्छन्। उनीहरूको मौनता कायरताभन्दा व्यवस्था र परिस्थितिले थोपरेको विवशताको सबैभन्दा पीडादायी अभिव्यक्ति हो।
दहाडमा समावेश कथाहरू पढिसकेपछि पनि तिनको प्रभाव लामो समय रहिरहन्छ। वसन्ती किन झुन्डिन बाध्य भइन्? कमलीको मृत्युको रहस्य के हो? देवीलाल कहाँ हराए? यस्ता प्रश्नहरूले पाठकलाई कथा समाप्त भएपछि पनि पछ्याइरहन्छन्। कतै वसन्ती, कमली र दु:खरामहरूकै नयाँ संस्करण त होइनन् गणेश नेपालीहरू? यही प्रश्नले पाठकको चेतनालाई झकझक्याउँछ। समाज र राज्यका संरचनाबारे आत्मपरीक्षणको प्रश्न उठाउँछ।
कथानकले बोकेको चेतना-पक्षका कारण दहाड समकालीन नेपाली कथा साहित्यमा गम्भीर पठन, विमर्श र आत्मपरीक्षणको माग गर्ने महत्त्वपूर्ण कृतिका रूपमा स्थापित भएको छ।
दहाड कथासंग्रहको अर्को महत्त्वपूर्ण पक्ष यसको भाषिक सौन्दर्य हो। कवि-संवेदनाले भरिएको कथाकारको भाषा सुललित र प्रभावकारी छ। यहाँ भाषिक सौन्दर्य कथा भन्ने माध्यम मात्र नभएर अनुभूतिलाई गहिरो बनाउने कलात्मक शक्ति बनेको आएको छ। भिमे र कमलीको गीतिवार्ता मनै हुरुक्क बनाउने खालको छ। अर्थपूर्ण विम्ब, काव्यात्मक अभिव्यक्ति र आञ्चलिकताको स्वादले कथाहरूलाई अझ जीवन्त बनाएका छन् भने कथाको विश्वसनीयता पनि बढाएका छन्।
यस कथासंग्रहमा शीर्षकले संकेत गरे जस्तो सधैँ ठूलो आवाज वा प्रत्यक्ष विद्रोह नभेटिन सक्छ। मौन पीडा, दबिएका आवाज र सहनशील जीवनका कथाहरू बढी भेटिन्छन्। तर, यी पात्रहरूको मौनताले पाठकको हृदयभित्र एउटा गहिरो दहाड जन्माउँछ। कथा पढिसकेपछि उठ्ने प्रश्नहरूले हामीलाई आफ्नै सामाजिक जिम्मेवारीतर्फ फर्काउन पुग्छ।
समग्रमा दहाड नेपाली समाजको गुप्त इतिहासमा दबिएका आवाजको साहित्यिक अभिलेख हो। यसले किनारामा रहेका मानिसहरूको कथा मात्र भन्दैन, उनीहरूको अस्तित्व, आत्मसम्मान र प्रतिरोधलाई पनि केन्द्रमा ल्याउँछ। समाजको अन्तरात्मालाई झकझक्याउने पात्रबाट आजका मानिसहरूलाई नैतिक कठघरामा उभ्याउँछ। अब इतिहास शक्तिशालीहरूको मात्र होइन, किनारामा उभिएका मानिसहरूको संघर्ष र सपनाहरू पनि इतिहासकै हिस्सा हुन् भन्ने यी कथाहरूले बताउँछन्।
नवीन अभिलाषीले कथावाचनमा परम्परागत मार्गलाई नै पछ्याएका छन्। कथाशिल्पमा नवीन प्रयोगको अपेक्षा गर्ने पाठकलाई केही अपुग भएको महसुस हुन सक्छ तर विचार, संवेदना र सामाजिक चेतनाले त्यस कमीलाई धेरै हदसम्म पूर्ति गर्दछ। कथानकले बोकेको चेतना-पक्षका कारण दहाड समकालीन नेपाली कथा साहित्यमा गम्भीर पठन, विमर्श र आत्मपरीक्षणको माग गर्ने महत्त्वपूर्ण कृतिका रूपमा स्थापित भएको छ।