काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

५ श्रावण २०८३
फाइल फोटो
अ+
अ-

भद्रपुर। झापामा हालसम्म ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार ४ साउनसम्म जिल्लामा कुल ७७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार गत वर्षको यही अवधिको तुलनामा यस वर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा धान रोपाइँ भएको छ। सुरुमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि किसान धमाधम रोपाइँमा जुटेका छन्।

“सुरुमा वर्षा नहुँदा रोपाइँ केही ढिलो भएको थियो। असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि अहिले जिल्लाभरि तीव्र रूपमा रोपाइँ भइरहेको छ। गत वर्षको तुलनामा यस वर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ‚” विष्टले बताए।

उनका अनुसार हाल जिल्लाको गौरीगन्ज क्षेत्रमा रोपाइँ तीव्र गतिमा भइरहेको छ। साउनको अन्त्यसम्म जिल्लाका अधिकांश खेतमा धान रोपाइँ सम्पन्न हुनेछ। झापामा प्रत्येक वर्ष करिब ७५ हजार ४५९ हेक्टरमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।