काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

विपद्

ढल निकास अतिक्रमण, फोहोरको अवरोध, टुकुचाको उच्च जलस्तर र पुरानो संयुक्त ढल प्रणाली मुख्य कारण

७ श्रावण २०८३
भारी वर्षाका कारण जलमग्न राजधानीको माइतीघर मण्डल क्षेत्र। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

ढल निकास अतिक्रमण, फोहोरको अवरोध र पुरानो ढल प्रणालीका कारण केहीबेरको वर्षामै माइतीघर क्षेत्र डुबानमा पर्ने गरेको प्राविधिक अध्ययनले देखाएको छ।

३२ असार र ५ साउनमा छोटो समयको वर्षाले पनि माइतीघर क्षेत्रमा सवारी आवागमन ठप्प हुने गरी पानी जमेको थियो। त्यसपछि डुबानको कारण पहिचान गर्न गठित प्राविधिक समितिले ६ साउनमा स्थलगत अध्ययन गरेको हो।

समितिको प्रतिवेदनअनुसार माइतीघर र थापाथली क्षेत्रमा व्यक्तिगत तथा संस्थागत संरचनाले ढल निकास छोपेका छन्। थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय तथ्यांक कार्यालय परिसरका संरचनाले समेत ढल निकास ढाकिएको प्रतिवेदनमा उल्लेख छ।

थापाथली इन्जिनियरिङ क्याम्पसले ढल निकास छोपेर बनाएको कम्पाउन्ड। तस्बिर : प्रतिवेदनबाट

ढल छोपिँदा त्यसको अवस्था अनुगमन, मर्मत र नियमित सफाइ गर्न कठिन भएको समितिको निष्कर्ष छ। “थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय तथ्यांक कार्यालय परिसरमा ढल निकास पुरेर कम्पाउन्ड बनाइएको भेट्यौँ,” समितिका संयोजक तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी भन्छन्।

यसअघि माइतीघर चोकसँगै जोडिएको क्षेत्र सडकभन्दा होचो र खाली थियो। त्यसले वर्षाको पानी केही समय सञ्चय गरेर प्राकृतिक जलाशयको काम गर्थ्यो।

खाली जमिनमा पानी जम्मा भएपछि बिस्तारै ढलमार्फत टुकुचातर्फ निकास हुन्थ्यो। त्यसैले माइतीघरको मुख्य ढलमा एकैपटक ठूलो दबाब पर्दैनथ्यो। तर, खाली क्षेत्र संरचनाले ढाकिएपछि वर्षाको पानी सञ्चय हुने ठाउँ हराएको छ। ढलान र पक्की संरचना बढ्दा पानी जमिनमा सोसिन नपाई एकैपटक होचो क्षेत्रमा पुग्ने गरेको अध्ययनले देखाएको छ।

फोहोरले रोकिएको बहाव

ढलभित्र प्लास्टिक, लत्ताकपडा, बोतल र अन्य ठोस फोहोर जम्मा हुँदा पानीको बहाव रोकिई मध्यम वर्षामै ढलबाट पानी उल्टिएर सडकमा आउने गरेको समितिले जनाएको छ। “ढलभित्र प्लास्टिक, लत्ताकपडा, बोतल र अन्य ठोस फोहोर जम्मा भएको छ,” केसी भन्छन्, “यसले बहाव अवरुद्ध हुँदा मध्यम वर्षामा पनि पानी ‘ब्याकफ्लो’ भएर सडकमा जम्छ।”

टुकुचा खोलाको पानीको सतह र ढल निकास हुने अन्तिम बिन्दुको उचाइबीच धेरै अन्तर छैन। लगातार वर्षा हुँदा टुकुचाको जलस्तर बढेर ढलबाट आउने पानीको निकास नै रोकिने गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, ढल आसपास र सतहमुनि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी तथा अन्य सेवाप्रदायकले तार, पाइप र संरचना राख्दा पनि ढलको बहावमा अवरोध पुगेको अध्ययनले देखाएको छ। निकायहरूबीच समन्वय नगरी सडक खन्ने र पुर्ने काम हुँदा ढल प्रणालीमा क्षति पुगेको समितिको निष्कर्ष छ।

काठमाडौँमा घर तथा भवनबाट निस्कने ढल र वर्षाको भेल एउटै पाइपबाट बग्ने गरेको छ। पुरानो र सीमित क्षमताको पाइपले एकैपटक ठूलो मात्रामा आएको पानी थेग्न नसक्दा डुबान हुने गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महत बताउँछिन्।

“भएका ढल निकास पुराना छन्। पहिलेभन्दा तीव्र वर्षा हुने क्रम बढेको छ र जताततै ढलानका संरचना बनेका छन्,” उनी भन्छिन्, “वर्षाको पानी जमिनमा सोसिन नपाई होचो भूभागमा पुग्छ। एउटै पाइपबाट ढल र भेलपानी बगाउने प्रणालीले त्यो मात्रा थेग्न सक्दैन।”

ढलको क्षमता बढाउनुका साथै ढल र वर्षाको पानी छुट्टाछुट्टै व्यवस्थापन गर्ने प्रणाली आवश्यक रहेको उनको भनाइ छ।

तत्कालका ६ उपाय

प्राविधिक समितिले डुबान कम गर्न तत्काल कार्यान्वयन गर्नुपर्ने ६ वटा उपाय सिफारिस गरेको छ। ढल निकासमाथि बनेका व्यक्तिगत तथा संस्थागत संरचना हटाएर ढल बाहिरबाट देखिने गरी खुला राख्नुपर्ने समितिको सुझाव छ। ढलभित्र जम्मा भएका प्लास्टिक, लत्ताकपडा, बोतल र ठोस फोहोर तत्काल हटाएर नियमित सफाइ गर्नुपर्ने उल्लेख छ।

माइतीघरलगायत मुख्य सडकमा पुरिएका वा छोपिएका म्यानहोल र ढलका बिन्दु खुलाएर सतहमा देखिने गरी उठाउनुपर्ने सुझाव दिइएको छ। फोहोर ढलमा पस्न नदिन ‘ग्रिट चेम्बर’ वा जाली राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

समितिले टुकुचाको पिँध सफा गर्न र नदी किनार फराकिलो बनाएर पानी बग्ने क्षेत्रफल बढाउन पनि सिफारिस गरेको छ।

सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरीबीच प्रभावकारी समन्वय गर्नुपर्ने सुझाव छ।

जल तथा मौसम विज्ञान विभागको वर्षा पूर्वानुमान र सम्भावित डुबानको अवस्था हेरेर सवारी आवागमन व्यवस्थापन गर्नुपर्ने पनि समितिले जनाएको छ।

दीर्घकालीन चार समाधान

समितिले दीर्घकालीन समाधानका लागि चार वटा उपाय अघि सारेको छ। काठमाडौँ महानगरपालिका, सडक डिभिजन र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सम्पूर्ण ढल सञ्जालको भौगोलिक अवस्थिति र नक्सा तयार गर्नुपर्ने सुझाव दिइएको छ।

विगतमा वर्षाको पानी थाम्ने खाली जमिन हराएकाले त्यसको विकल्पमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गामुनि पानी सञ्चय गर्ने भूमिगत ट्यांकी निर्माण गर्नुपर्ने समितिको प्रस्ताव छ।

टुकुचाको जलस्तर बढ्दा खोलाको पानी ढलभित्र उल्टो नछिरोस् भनेर निकास बिन्दुमा उपयुक्त प्रविधि जडान गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, काठमाडौँ उपत्यकाको जलाधार क्षेत्र अध्ययन गरेर वर्षाको बदलिँदो प्रवृत्ति र सहरीकरणअनुसार ढलको क्षमता पुनः डिजाइन गर्नुपर्ने समितिको सुझाव छ।

भारी वर्षाका कारण जलमग्न काठमाडौँ महानगरपालिका-१० को सहभागिता मार्ग। तस्बिर : नेपाल फोटो लाइब्रेरी

केसीको संयोजकत्वमा गठित समितिमा काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक डिभिजनका इन्जिनियर पुरुषोत्तम भण्डारी र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्ज्वल श्रेष्ठ सदस्य छन्।

माइतीघरको डुबानले काठमाडौँ उपत्यकाको व्यापक ढल निकास समस्यालाई प्रतिनिधित्व गर्ने केसी बताउँछन्। “हामीले सबै सरोकारवाला निकायलाई सुझाव पेस गरेका छौँ,” उनी भन्छन्, “सिफारिसअनुसार काम भए उपत्यकाको डुबान धेरै हदसम्म कम गर्न सकिन्छ।”

काठमाडौँ उपत्यकाको ढल निकास व्यवस्थापनबारे ४ साउनमा बसेको विपद् प्राधिकरणको बैठकले कार्ययोजनासमेत स्वीकृत गरेको छ।

तर, तत्काल सफाइ र म्यानहोल खोल्ने कामसँगै अतिक्रमित ढल खुलाउने, पानी सञ्चय गर्ने संरचना बनाउने र पुरानो ढल प्रणाली पुनः डिजाइन नगरे माइतीघरमा वर्षैपिच्छे दोहोरिने डुबान रोक्न कठिन हुने अध्ययनको निष्कर्ष छ।