काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

काठमाडौँ। बाल साहित्यसम्बन्धी सातवटा पुस्तक एकसाथ सार्वजनिक गरिएका छन्।

हामी दाजुभाइ, ब्रिटिस काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आज (आइतबार) संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमालगायतले बाल कथा संग्रह सार्वजनिक गरे।

त्यस अवसरमा शान्ति सापकोटाको ‘मितिनी’, सन्जोग ठकुरीको ‘ममीघर’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, सुशीला तामाङको ‘आइतीको बिहे’, अस्मिता बादीको ‘हैतमाको हिम्मत’, बिना थिङको ‘नामको कथा’ र संगीता उराँवको ‘सुर्जीको उज्यालो’ गरी सातवटा कथा संग्रह सार्वजनिक गरिएका थिए।

कार्यक्रममा माथेमाले लामा वाक्यका पुस्तक पनि बालबालिकालाई पढाएर बौद्धिक क्षमता विकासमा सहयोग गर्नुपर्ने बताए। जसले पढ्छ, उसको ज्ञानको क्षितिज फराकिलो हुने भएकाले त्यसतर्फ बालबालिकालाई अग्रसर गराउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बाल साहित्यकार प्रमोद प्रधानले हिमाल, तराई र पश्चिमी नेपालको कथा बाल साहित्यमा कम लेखिएको बताए। कार्यक्रममा प्राध्यापक तारानिधि भट्टराई, केन्द्रका अध्यक्ष अनन्त वाग्ले, स्रष्टा गंगा कर्माचार्य पौडेल, कलाकार अनामिका गौतम, सामाजिक अभियानकर्मी गौरी नेपाली, ब्रिटिस काउन्सिलका युक्ता खड्का आचार्य, विद्यालय तहका बालिकाद्वय सरला आचार्य र प्रिया थापालगायतले बाल साहित्यमा कथा विधाको अवस्थाबारे प्रकाश पारेका थिए।