काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

ब्लग

दमामको यात्रामा एकैसाथ सात वटा सूर्य चम्किएजसरी रापले सेकिँदा सोचेँ- यस्तो चर्को गर्मी, सुक्खा भूमि, फरक भाषा, संस्कृति र खानपिन भएको ठाउँमा हाम्रा नेपाली भाइहरूले कसरी काम गर्दा हुन्!

१२ श्रावण २०८३
अ+
अ-

गत १६ असारमा साउदी अरब सरकारले विभिन्न कारागारमा सजाय काटिरहेका ३३ जना नेपाली नागरिकलाई क्षमादान दिएको खबर सुनियो। साउदी अरबले प्रत्येक वर्ष विशेष गरी रमजान पर्वको अवसरमा कैदीहरूलाई शाही क्षमादान दिने गर्छ।

यस प्रसंगले सन् २००५ मा साउदी अरबको भ्रमण गरेको याद आयो। सन् १९९८ ताका घरेलु श्रममा विदेश गएकी सिन्धुपाल्चोककी कानी शेर्पाको मृत्यु भएपछि महिलालाई घरेलु श्रममा खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएको थियो। त्यस्तो बन्देजका बीच नेपाली महिलाहरू भारत वा अन्य बाटो भएर जाने गरेका थिए। त्यसरी जानेहरू अलपत्र परेर सहयोगका लागि साउदी अरबस्थित नेपाली दूतावासमा पुग्नेको संख्या बढ्दै गएको थियो।

उनीहरूका लागि बासको व्यवस्था गर्नदेखि खाना, कपडा, उपचार खर्च र फर्किने टिकट काट्न समस्या भएको, कतिपय गर्भवती भएको, कतिपयको मानसिक स्वास्थ्य ठीक नभएको भनी दूतावासले श्रम मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएको थियो। छलफलपछि त्यस विषयलाई सम्बोधन गर्न सरकारी टोली साउदी अरब गएको थियो। वैदेशिक रोजगार ऐन बनाउने मस्यौदा समितिमा सदस्य भएका नाताले त्यस टोलीमा मेरो पनि सहभागिता रह्यो। श्रमिकको अवस्था बुझ्न त्यस भ्रमणमा जाँदा मैले केही कुरा अनुभव गर्न र सिक्न पाएँ।

मेरो पहिलो सिकाइ जाने बेला भिसा लिने क्रममै भयो। साउदी अरबको दूतावास नेपालमा नभएकाले भारतबाट भिसा लिनुपरेको थियो। भारतबाट भिसा हान्नुपर्ने भएकाले अतिरिक्त रकम भारत गइरहेको रहेछ।

भावुक हुँदै एक जनाले भने, ‘नेपाल फर्केर के गर्नु र? काम छैन। जुलुस र हुलदंगामा कति हिँड्ने? परिवार पाल्नैपर्‍यो। ऋण तिर्नैपर्‍यो। नेपालमा सरकारले रोजगारी कहिले देला, तपाईं नै भन्नु न दिदी?’

दोहामा ट्रान्जिट परेकाले केही घण्टा बिताउने क्रममा खाजा खान रेस्टुराँमा पस्यौँ। त्यहाँ काम गर्ने तीनचार जना नेपाली भाइहरू भेटिए। मायालु व्यवहार पायौँ।

एउटा भाइले सोधे, ‘अहिले नेपाल कस्तो छ दिदी? उस्तै छ कि केही राम्रो भएको छ?’

मैले मुस्कुराउँदै भनेँ, ‘तपाईंहरू सबै युवा विदेश आउनुभएको छ, अनि देश कसरी राम्रो हुन्छ र भाइ?’

भावुक हुँदै एकले भने, ‘नेपाल फर्केर के गर्नु र? काम छैन। जुलुस र हुलदंगामा कति हिँड्ने? परिवार पाल्नैपर्‍यो। ऋण तिर्नैपर्‍यो। नेपालमा सरकारले रोजगारी कहिले देला, तपाईं नै भन्नु न दिदी?’

जवाफ र प्रतिप्रश्न सुनेर मेरो मुख बन्द भयो। २० वर्षपछि पनि ती भाइको प्रश्न उस्तै तिखो र सान्दर्भिक छ।

हाम्रो टोली साउदी अरबको राजधानी सहर रियाद पुगेपछि दूतावासले नेपाली श्रमिकहरूसँग भेटघाट गरायो। श्रमिकका गुनासा र प्रश्नका चाङ नै थिए– भनेको जस्तो काम पाइएन, श्रमिकहरूको हरेक मृत्युलाई सुतिरहेको अवस्थामा मृत्यु भन्ने व्याख्या गरियो, विदेशका मुख्य सहरमा नेपाल सरकारले कन्सुलेट अफिस किन नखोलेको, नेपाल एयरलाइन्सले सिधा हवाई उडान किन नचलाएको, विदेशमा सडक दुर्घटनामा नेपाली युवाहरू मरिरहँदा यसबारे सरकारले युवाहरूलाई किन नबुझाई पठाएको, आदि-इत्यादि। एक अधबैँसेले पिरोलिएर भने, ‘यस्तो घाममा काम गर्दा हामी सुकुटी भइसक्यौँ, सरकारले खै वास्ता गरेको?’

विदेश भासिइरहने वा भासिन बाध्य पार्ने अवस्थाले घरपरिवार, समाज र राष्ट्रलाई दूरगामी असर के पर्ला, यस परिस्थितिले देशलाई किन नदुखेको होला भन्नेमा म सोचमग्न भएँ।

यी प्रश्न र गुनासाले हामीलाई गलाए।

मैले अधबैँसेको खिन्नतालाई समातेर भनेँ, ‘यहाँ यत्तिका समस्या रहेछन्, तैपनि यहाँ आउने नेपालीको संख्या किन नघटेको? दोहोर्‍याई तेहेर्‍याई आएर तपाईंहरू किन सुकुटी बन्न तयार हुनुहुन्छ?’

उनीहरूको प्रतिक्रिया थियो, ‘यहाँ समस्या त छ, राम्रो कुरा चाहिँ कमाएको पैसा बचाउन सकिन्छ। डिस्को जाने, रक्सी खाने, आदि कुलतमा पर्ने सम्भावना यहाँ कम छ। अर्कातिर, आम्दानीमा कर तिर्नु पर्दैन। कतिले त यता आएर राम्रो फड्को मारेका छन्। साधारण मजदुर भएर आई अनलाइन कोर्स गरेर इन्जिनियर भएकाहरू पनि छन्। कोही पत्रकारिता गरिरहेका छन्। यहाँ आउनेले देशको महत्त्व बुझ्छन्।’

मैले फेरि सोधेँ, ‘तपाईंहरूमध्ये यहाँ कोही १० वर्ष, कोही १२ वर्षदेखि काम गर्नेहरू पनि हुनुहुन्छ। किन घर फर्कंदै फेरि फेरि यहाँ आइरहनुभएको? कहिलेसम्म विदेश आइरहने?’

एक जनाले भने, ‘अब त घर गएर बस्दा परिवारको दिनरातको कचकचले झर्को लाग्ने भएछ। परिवारलाई पैसाले कहिल्यै पुग्दैन। घर जाँदा गाउँमा साथीभाइ नै भेटिँदैनन्। भेटिए पनि गफ मिल्दैन। त्यसैले घर पुगे पनि फर्केर दोहोर्‍याई तेहेर्‍याई पराइ भूमिमै आइराखिएको छ।’

उनले झट्ट सुन्दा सामान्य लाग्ने तर गम्भीर कुरा गरे। देशले यस विषयमा त मन्थन गरेकै छैन। दोहोर्‍याई तेहेर्‍याई मात्र होइन, दसौँ पल्ट घर फर्केर फेरि विदेशको बाटो ताक्ने पाइलालाई कसरी सम्बोधन गर्ने होला? जीवनको महत्त्वपूर्ण समय यसरी नै विनायोजना बित्यो भने हाम्रा भाइहरू यता न उताको हुने देखेँ। विदेश भासिइरहने वा भासिन बाध्य पार्ने यस अवस्थाले घरपरिवार, समाज र राष्ट्रलाई दूरगामी असर के पर्ला, यस परिस्थितिले देशलाई किन नदुखेको होला भन्नेमा सोचमग्न भएँ। घरमा युवाहरू टिक्नै नसक्ने गरी स्थापित भएको परिस्थितिलाई चिर्न हामीले सिन्कासमेत भाँचेका छैनौँ भन्ने सोचेर खिन्न भएँ।

जति दिन म साउदी अरब बसेँ, मन-मस्तिष्कमा राष्ट्रवाद र व्यवहारवादबीच के ठिक, के बेठिक भन्ने सोचाइको संघर्ष चलिरह्यो। गरिब राष्ट्रको नियति सधैँ नागरिकलाई विदेशी भूमिमा जोतिन पठाउनु नै हो त भन्ने लागिरह्यो।

ती युवाको गुनासोले गम्भीर बनेको माहोललाई सामान्य बनाउने गरी मैले रमाइलो पारामा भनेँ, ‘घरमा तपाईंहरूको भूमिका भिजिटिङ प्रोफेसरको जस्तो मात्र हो त? महिनामा एकपल्ट तलब पठाएर अभिभावक, श्रीमान्, छोरा र नागरिक हुनुको कर्तव्य पूरा हुन्छ त?’

तर, उनले मुखभरिको जवाफ दिए, ‘यस विषयमा त सरकारले पो सोच्नुपर्छ त, आफ्ना नागरिकलाई देशभित्रै कसरी रोजगारी दिएर राख्ने, कसरी शान्तिपूर्वक बाँच्ने वातावरण बनाउने भनेर। हामीले पसिना र ज्यान दिएर काम गरेको प्रतिफल देशलाई नै मिलिरहेको छ। हामीले पठाएको रेमिन्टेन्सले देशको अर्थतन्त्र धानेको छ।’

अर्काले थपे, ‘हामी जस्ता लाखौँलाई सरकारले रोजगारीको व्यवस्था गर्नै नपर्ने। खुरुखुरु अर्को देश पठायो, कति हाइसन्चो!’

म निरुत्तर भएँ।

यसको झन्डै दुई दशकपछि गत वर्षको जेन-जी आन्दोलनमा नेपालका युवाहरूले तिनै प्रश्न गरे- हामीले कर नेपालमा तिर्ने, रोजगारी विदेशमा खोज्नुपर्ने?, हाम्रा पिठ्युँमा सधैँ साउदी, कतार र यूएईका कागजपत्र?, तिम्रा बाबा चिल्ला गाडीमा, हाम्रा बाबा खाडीमा?

अर्थात् युवाहरूका सरोकारका विषय उही छन्। बाध्यता उस्तै छ।

भेटघाटको सिलसिलामा रियादबाट हामी दमाम लाग्यौँ। रमजान भएकाले दिउँसो पानी पनि खान नपाइँदो रहेछ। मोटरभित्र पानी खाएको देखिए पनि प्रहरीले कारबाही गर्दो रहेछ।

जति दिन म साउदी अरब बसेँ, मन-मस्तिष्कमा राष्ट्रवाद र व्यवहारवादबीच के ठिक, के बेठिक भन्ने सोचाइको संघर्ष चलिरह्यो। गरिब राष्ट्रको नियति सधैँ नागरिकलाई विदेशी भूमिमा जोतिन पठाउनु नै हो त भन्ने लागिरह्यो।

भेटवार्ताका क्रममा साउदीका तत्कालीन श्रममन्त्री घाजी बिन अल अब्दुल रहमान गोसाइबीसँग नेपाली टोलीले भेट्ने कार्यक्रम थियो। हामीले आफ्ना सरोकारका कुरा मन्त्रीसमक्ष राख्यौँ। उनले नेपालले घरेलु श्रममा आउन महिलालाई प्रतिबन्ध लगाए पनि असुरक्षित तवरले आउनेहरू झनै समस्यामा पर्नेबारे ध्यानाकर्षण गरे।

मैले नेपालमा साउदी सरकारको दूतावास खुले हाम्रा श्रमिकलाई सजिलो हुने बताएँ। उनले नेपालले दुई लाख घरेलु श्रमिक पठाएमा दूतावास खोलिदिने बताए। हामीले नेपाली श्रमिकहरूले बताएका समस्या र अप्ठेराबारे पनि मन्त्रीलाई गुनासो गर्‍यौँ। उनले धेरैजसो कामदारले नेपालबाट पर्याप्त प्रशिक्षण नलिई आउने भएकाले समस्या हुने सुनाउँदै नेपालले गर्नुपर्ने सुधारको फेहरिस्त प्रस्तुत गरे।

मन्त्रीको ज्ञानको तह देखेर श्रम जस्तो संवेदनशील विषयमा साउदीले लायकको व्यक्तिलाई जिम्मेवारी दिएको भनेर पछि हामीबीचमै चर्चा गर्‍यौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र मानव संसाधन विषयमा बेलायतमा विद्यावारिधि गरेका उनी दूरदर्शी नीति निर्माताका रूपमा परिचित रहेछन्।

अगाडि गुडिरहेको ठूलो ट्रकमा नेपाली अक्षर लेखिएको देखेँ- ‘फेरि भेटौँला’। त्यहाँ अधिकांश ट्रक र लरीका चालक नेपाली हुँदा रहेछन्। ट्रकमा नेपाली लिपि देख्दा एकसाथ आश्चर्य र खुसी लाग्यो।

भेटघाटको सिलसिलामा रियादबाट हामी दमाम लाग्यौँ। रमजान भएकाले दिउँसो पानी पनि खान नपाइँदो रहेछ। मोटरभित्र पानी खाएको देखिए पनि प्रहरीले कारबाही गर्दो रहेछ। दिनभरि भोकै पर्नुहोला भन्दै धन्न एक नेपाली भाइले बिहानै भरपेट खाना खुवाएर पठाएका थिए। त्यो खानाले दिनभरि धान्यो।

दमाम जाँदै गर्दा एकैसाथ सात वटा सूर्य चम्किएको जसरी उखुम थियो। यस्तो चर्को गर्मी, सुक्खा भूमि, फरक भाषा, संस्कृति, खानपिन भएको हरेक हिसाबले प्रतिकूल ठाउँमा हाम्रा नेपाली भाइहरूले कसरी काम गर्दा हुन् भन्ने लाग्यो। मन भारी भयो। यस्तो कष्टमा काम गरेर देशको अर्थतन्त्रको इन्जिन बनिरहेका श्रमिकको योगदान सम्झेर आँखा नै रसाए।

यत्तिकैमा अगाडि गुडिरहेको ठूलो ट्रकमा नेपाली अक्षर लेखिएको देखेँ- ‘फेरि भेटौँला’। त्यहाँ अधिकांश ट्रक र लरीका चालक नेपाली हुँदा रहेछन्। ट्रकमा नेपाली लिपि देख्दा एकसाथ आश्चर्य र खुसी लाग्यो।

त्यसपछि एकपछि अर्को ट्रक र लरी हेर्न थाल्यौँ। अरू ट्रकमा पनि नेपाली भाषामा लेखिएका शब्द र पंक्ति देखिए: ‘जय नेपाल’, ‘नमस्ते’, ‘बिस्तारै आउनुहोस्’, ‘तिमीलाई कसैले पर्खिबसेको छ’, ‘सम्झना जुनीभरिलाई’, ‘नेपाली टोपी नबिर्सौं’ आदि।

नेपाल-साउदीबीचको सम्बन्ध अब निर्माण क्षेत्रका श्रमिक पठाउनेमा मात्र सीमित रहनु होइन। यस सम्बन्धलाई श्रमिकको सुरक्षा, सीप विकास, सामाजिक सुरक्षा र आर्थिक साझेदारीमा जोड्ने श्रम कूटनीतिमा रूपान्तरण गर्ने समय आएको छ।

ट्रकमा कतै खुकुरी, कतै लालीगुराँस, कतै हिमाल, कतै डाँफे त कतै फहराइरहेका नेपाली झन्डाको तस्बिर अंकित देखिए। साउदीको सडकमा गुड्दै गर्दा मलाई एकाएक आफ्नो देशको हिमाली काखमा पुगे झैँ शीतल महसुस भयो। मन गर्वले ढक्क फुल्यो। साउदीका सडकभरि चालक भाइहरूले नेपाल बोकेर हिँडेको देख्दा सलाम ठोकूँ जस्तो भयो। रोजगारीका लागि बिदेसिएका नेपालीले राष्ट्र र राष्ट्रियता बोकेर हिँडेको त्यो दृश्य अविस्मरणीय भएर मभित्र बसेको छ।

सन् २००५ मा देखेको साउदी र अहिले २० वर्षपछि धेरै फरक भइसकेको छ। साउदीले ‘भिजन २०३०’ अन्तर्गत तेलमा मात्र निर्भर अर्थतन्त्रबाट पर्यटन, प्रविधि, सेवा र पूर्वाधारमा ठूलो लगानी गरेर आर्थिक क्षेत्रको दायरा फराकिलो बनाइरहेको छ। पर्यटनका मेगा परियोजनाले हजारौँ विदेशी श्रमिकको माग सिर्जना गरेका छन्। यसले नेपाली श्रमिकका लागि निर्माण मात्र होइन, प्राविधिक, आतिथ्य, स्वास्थ्य सेवा, सूचना-प्रविधिलगायत क्षेत्रमा पनि अवसर विस्तार गरिरहेको छ।

नेपाल-साउदीबीचको सम्बन्ध अब निर्माण क्षेत्रका श्रमिक पठाउनेमा मात्र सीमित रहनु होइन। यस सम्बन्धलाई श्रमिकको सुरक्षा, सीप विकास, सामाजिक सुरक्षा र आर्थिक साझेदारीमा जोड्ने श्रम कूटनीतिमा रूपान्तरण गर्ने समय आएको छ। आज साउदीको श्रम बजार मात्र परिवर्तन भएको छैन, नेपाली श्रमिकको भूमिका पनि परिवर्तन हुँदै छ।

तर, एउटा प्रश्न छँदै छ– नेपालले विदेशी भूमिमा श्रमरत आफ्ना नागरिकको योगदानलाई केवल रेमिटेन्सको अंकमा सीमित राख्ने कि उनीहरूको सीप, अनुभव र विश्वव्यापी सञ्जाललाई राष्ट्रनिर्माणको पुँजीका रूपमा उपयोग गर्ने हो?

साढे दुई दशकयता घरेलु महिला श्रमिकका सन्दर्भमा सरकारको दृष्टिकोण फेरिन सकेको छैन। घरेलु श्रममा जान महिलालाई प्रतिबन्ध लगाइँदा सरकारको सामान्य सेवा-सुविधाबाट समेत उनीहरू वञ्चित छन्। वैदेशिक रोजगारीसम्बन्धी आगामी समयको महत्त्वपूर्ण बहस यिनै विषयमा केन्द्रित हुनुपर्छ।