काठमाडौँ। ललितपुरको पाटनस्थित गुइत टोलमा पुनर्स्थापित दुई ऐतिहासिक सांस्कृतिक सम्पदा स्थल गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन गरिएको छ। संरचनाको सांसद जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा गरे।
कार्यक्रममा नेपाल सरकारअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारी, स्थानीय प्रतिनिधि तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूको उपस्थिति थियो।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत करिब १२ करोड रुपैयाँको लागतमा यी सम्पदा पुनर्निर्माण गरिएका हुन्। परियोजना नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) मार्फत कार्यान्वयन गरिएको हो भने डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेसनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेजले प्रदान गरेको थियो।
कार्यक्रममा सांसद खरेलले स्थानीय समुदायको सक्रियताको प्रशंसा गर्दै यस्ता प्राचीन सम्पदाको संरक्षण अपरिहार्य रहेको बताए। नगर प्रमुख महर्जनले पनि सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा भारत सरकारले पुर्याएको योगदानको सराहना गरे।

राजदूत श्रीवास्तवले नेपाल-भारतबीचको गहिरो सांस्कृतिक सम्बन्ध उल्लेख गर्दै पुनर्निर्मित संरचनाहरू दुई देशबीचको मित्रता र साझा सम्पदाको प्रतीक भएको बताए।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत नेपालका विभिन्न आठ जिल्लामा ३० वटा सांस्कृतिक सम्पदास्थलको संरक्षणमा सहयोग गरिसकेको छ। यसबाहेक गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लामा ८५ शैक्षिक संस्था तथा ११ जिल्लामा १३३ स्वास्थ्य संरचनाको पुनर्निर्माणमा सहयोग गरेको छ।