काठमाडौँ। एसिया कप टी–२० क्रिकेटको सुपर ४ को अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ।
पहिलो ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा २०२ रन बनाएको थियो। रनको लक्ष्य पछ्याएको श्रीलंकाले समेत समान पाँच विकेटको क्षतिमा २०२ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो।
भारतका लागि अभिषेक शर्माले अर्धशतक बनाए। ३१ बल खेलेका उनले आठ चौका र दुई छक्काको मद्दतमा ६१ रन बनाएका हुन्। उसका लागि तिलक वर्माले नटआउट ४९ रन बनाए।
श्रीलंकाका लागि ओपनर पथुम निस्सान्काले शतक प्रहार गर्दा कुसल परेराले अर्धशतक बनाए । पथुमले ५८ बलको सामना गर्दा ६ छक्का र सात चौकाको मद्दतमा १०७ रन बनाउँदा परेराले ३२ बलमा ५८ रन जोडे।
सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाउँदै दुई रन मात्र बनाउन सक्यो। मात्र तीन रनको लक्ष्य पाएको भारतका लागि सुपर ओभरको पहिलो बलमै कप्तान सूर्यकुमार यादवले ३ रन जोडेपछि जित निकालेको हो।
अब आइतबार हुने एसिया कपको फाइनलमा भारत र पाकिस्तान आमनेसामने हुनेछन्, जसलाई ‘उत्साहजनक भिडन्त’का रूपमा हेरिएको छ।