काठमाडौँ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ।
आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षा गर्दै विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो।
अर्थमन्त्री रामेश्वर खनालले आईएमएफको कार्यकारी बोर्डले इसीएफको छैठौ समीक्षा स्वीकृत गरेको जानकारी दिएका छन्।
नेपालले विस्तारित कर्जा सुविधा (इसीएफ) अन्तर्गतका विभिन्न चरणका कार्यक्रम कार्यान्वयन गरिरहेको थियो।
इसीएफ न्यून–आय भएका मुलुकहरूलाई उपलब्ध गराउने आर्थिक सहयोग कार्यक्रमको एउटा प्रकार हो। यस अन्तर्गत लामो अवधि र न्यून ब्याजदरका ऋणहरू दिइन्छन् जसले मुलुकको अर्थतन्त्रलाई स्थिर पार्न, सुधारलाई सहयोग गर्न र ऋणलाई दिगो राख्दै आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न मद्दत गर्छ। यो न्यून आम्दानी भएका देशलाई दिने सहयोग कार्यक्रम हो।
इसीएफको छैठौ समीक्षा आइएमएफको बोर्डबाट स्वीकृत हुनु भनेको नेपालले आर्थिक सुधारमा राम्रो प्रगति गरेको तथा आर्थिक समस्या समाधान र सुधार गर्न आर्थिक स्थिरता कायम राख्न पर्याप्त प्रगति गरेको भन्ने अर्थ लाग्छ।
कुनै मुलुकले आइएमएफको इसीएफ जस्तो कार्यक्रममा सहभागी हुन हस्ताक्षर गरेपछि विभिन्न किस्तामा सहयोग उपलब्ध गराउँछ। नेपालले छैठौ किस्ता अन्तर्गत ४२.७ मिलियन अमेरिकी डलर अर्थात करीब पाँच अर्ब ८५ करोड रुपैयाँ पाउने क्रममा छ।
आइएमएफले प्रत्येक समीक्षामा सम्बन्धित मुलुकले नीतिगत सुधार, प्रक्षेपित लक्ष्य प्राप्ति र प्रतिबद्धताहरू पूरा गरिरहेको छ कि छैन भन्ने जाँच गर्दछ। नेपालले छैठौँ समीक्षा पूरा गरेको भन्नुको अर्थ नेपालले यस चरणका लागि तय गरिएका शर्त र मापदण्डहरू पूरा गरेको भन्ने हुन्छ।
इसीएफ स्वीकृतिसँगै अन्तर्राष्ट्रिय लगानीकर्ता, दाता निकाय र क्रेडिट रेटिङ एजेन्सीहरूलाई नेपाल सुधारको बाटोमा छ भन्ने सन्देश दिन्छ, जसले विश्वास बढाउन र थप आर्थिक सहयोग प्राप्त गर्न मद्दत गर्छ।
यसले नेपालको राजस्व अनुशासन, मौद्रिक नीति, कर प्रणाली, सार्वजनिक खर्च व्यवस्थापन,वित्तीय क्षेत्रको स्थिरता लगायत संरचनागत सुधारहरू भइरहेक भन्ने बुझिन्छ।