काठमाडौँ। बङ्गालको खाडीमा उत्पन्न भएको न्युन चापीय मौसम प्रणालीको कारण मधेश प्रदेशमा अत्याधिक वर्षा हुन थालेको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार पछिल्लो ६ घण्टामा वीरगन्जमा सबैभन्दा बढी ५९ मिलिमिटर वर्षा भएको छ। बिहान साढे ९ बजेसम्म बाराको कलैयामा ५२ मिलिमिटर र रौतहटको गौरमा ५० मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी बाराको निजगढमा ४४ मिलिमिटर वर्षा भएको छ। मौसम विद् बिनोद पोखरेलका अनुसार यो प्रारम्भीक मात्रै भएको र शनिबार दिनभर र राति पनि यस्तै गरि वर्षा हुने बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले शनिबार र आइतबार कोशीदेखि लुम्बिनीसम्म ठूलो वर्षा हुने भन्दै सचेत रहन चेतावनी जारी गरेको छ। अत्याधिक वर्षाको कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।