काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। शनिबार बिहानैदेखि सुरू भएको अविरल वर्षासँगै मौसमी प्रतिकूलताका कारण आन्तरिकतर्फ सबै उडान बन्द गरिएको छ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेका अनुसार मध्यान्हदेखि आन्तरिक उडान बन्द गरिएको हो।

“अर्को सूचना प्रकाशित नभएसम्म आन्तरिक उडान सबै बन्द गरिएको छ,” पाण्डेले भने, “अन्तर्राष्ट्रिय उडानसमेत रद्ध भइरहेका छन्, उडान हुने अवस्था छैन।”

शनिबार आन्तरिकतर्फ १५ वटा उडान रद्ध गरिएको छ। काठमाडौंबाट विराटनगर, भैरहवा, नेपालगञ्ज, जनकपुर, पोखरा र भद्रपुर तय गरिएका बुद्ध एयरका ९ वटा उडान रद्ध गरिएको पाण्डेले बताए।
विराटनगर, भैरहवा र पोखराका लागि तय गरिएका एतीका चार वटा उडान रद्ध गरिएको छ। धनगढी र नेपालगञ्ज तय गरिएका श्री एयरका दुई उडान रद्ध गरिएको छ।

काठमाडौंबाट विराटनगर गएको श्रीको एउटा जहाज विराटनगर विमानस्थलमा रोकिएको छ। विराटनगरबाट काठमाडौं उडेको यतीको जहाज पोखरा विमास्थलमा डाइभर्ट गरिएको छ।

दिउँसोदेखि अन्तर्राष्ट्रिय उडानहरूसमेत डाइभर्ट र रद्ध गरिएका छन्। पाण्डेका अनुसार शनिबार अपरान्हदेखि रातिसम्म तय गरिएका तीन वटा अन्तर्राष्ट्रिय उडान रद्ध गरिएको छ। दिल्लीबाट काठमाडौं आउने एयर इन्डियाका तीन वटा उडान रद्ध गरिएको हो।

मुम्बईबाट काठमाडौं उठेको इन्डिगो एयरको उडान लखनउतर्फ डाइभर्ट गरिएको छ। जापानको नारिताबाट काठमाडौं उडेको नेपाल वायुसेवा निगमको उडान दिल्ली डाइभर्ट गरिएको पाण्डेले बताए।
यस्तै, कुनमिङबाट उडेको चाइना इस्टर्नको उडान ढाका, आबुधाबीबाट काठमाडौं उडेको एयर अरेबियाको उड्न वाराणसी, दिल्लीबाट काठमाडौं उडेको इन्डिगो एयर दिल्ली, दोहाबाट उडेको कतार एयर दिल्लीतर्फ डाइभर्ट गरिएको छ।

कम्तीमा दुई दर्जन अन्तर्राष्ट्रिय उडानहरू मौसमी प्रतिकूलताका कारण अन्योलग्रस्त रहेको पाण्डेले बताए।